
काठमाडौं । भारतीय जाली नोटका कारोबारी युनुस अन्सारी जेलमुक्त नहुँदै पुनः थुनामा पुगेका छन् । ६ वर्ष जेल बसेर छुट्न नपाउँदै अन्सारी पुनः अर्को कसुरमा पक्राउ परेका हुन् ।
०७६ जेठ मा अन्सारीसहित ६ जना सात करोड ७६ हजार भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । कतारबाट काठमाडौं आउँदै गरेका तीनजना पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्दिन, ४९ वर्षीय मोहम्मद अख्तर र ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए ।
उनीहरू कराँचीबाट कतार हुँदै नेपाल आएका थिए । उनीहरूलाई ‘रिसिभ’ गर्न अन्सारी त्रिभुन विमानस्थल पुगेका थिए । सोही बेला अन्सारी पक्राउ परेका थिए । उनीसँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरका एक युवा पक्राउ परेका थिए ।
सोही कुसरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ६ वर्ष कैद सजाय तोकेको थियो । तर, शनिबार उक्त सजाय भुक्तान गरेर छुटेलगत्तैै अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकवेर खापुङले जानकारी दिए । यसअघि पनि अन्सारी पटक–पटक भारतीय जाली नोटसहित पक्राउ पर्दै आएका थिए ।
अन्सारीलाई भारतीय नागरिक मनमितसिंह भाटियाले केन्द्रीय कारागारभित्रै गोली हानेर हत्याको प्रयास गरेका थिए । तर, उनी जोगिए । अन्सारीमाथि गोली प्रहार गर्ने भाटिया हाल नेपालगन्ज कारागारभित्र छन् ।
भारतीय जालीनोटको कारोबार गर्नेहरू अज्ञात समूहबाट मारिँदै आएका छन् । अन्सारी छुटेर बाहिर बस्दासमेत सुरक्षा थे्रेट उच्च हुने प्रहरी अधिकारी बताउँछन् । पछिल्लो समय भने अन्सारी जेलभित्र सुरक्षित हुने देखिएपछि थुनाबाहिीर बस्न आफैँ पनि चाहँदैनन् ।