
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताएका छन् । आइतबार (जेठ ११) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकका विषयमा झुक्याउन नहुनेमा जोड दिएका हुन् ।
उनले शिक्षकको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउनेजस्तै भएको टिप्पणी गरे । शिक्षकको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएकाले सच्याउनुपर्ने उनले उल्लेख गरे ।
“बढुवा कसरी हुन्छ ? समय तोकेको मिति, शिक्षक आयोगबाट प्रवेश गर्ने मिति फटाफट भयो भने अपवादबाहेक चन्द्रमामा घडेरी किनेजस्तै हुन्छ,” उनले भने, “हुनै नसक्ने कुरा हामीले राखेर बुद्धिजीवीहरूलाई झुक्याउनु हुँदैन भन्ने हो ।”
निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधानानुसार शैक्षिक गुठीमा लैजानुपर्ने उनले बताए । संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेकाले सोहीअनुरूप निजीलाई निश्चित समय दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
समस्या हल गर्ने गरी सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल