site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
एनआरएनए अमेरिकाको चुनावमा यसकारण मेरो अध्यक्षमा उम्मेदवारी

राजनीतिकरणको विवादहरू एनआरएन अभियानको सुरुवाती दिनमा कहीँ पनि सुनिँदैनथ्यो । विवादहरू निश्चित तहमा हुन्थ्यो, सर्वसाधारणलाई थाहा हुँदैनथ्यो । जहाँ पनि सुरुको 'हनिमुन पिरियड'मा एउटा उत्साह हुन्छ, सबैले एकअर्काप्रति भाइचाराको भाव राख्दै मिलेर काम गर्छन् ।

जब संस्था ठूलो हुँदै जान्छ, अनेक किसिमका व्यक्तिहरू संस्थामा आउन थाल्छन् । त्यसमा आफ्नो 'भेस्टेड इन्ट्रेस्ड' भएका मान्छेहरू पनि आएका हुन सक्छन् । उनीहरूमा संस्थाप्रतिको माया कम, आफ्नो दुनो सोझ्याउने ध्येय बढी हुन्छ । अर्को कुरा संस्थामा धेरै मान्छे भइसकेपछि नेतृत्वमा जानेहरूको अस्वस्थ होडबाजी पनि चल्छ । खुट्टा तान्ने प्रवृत्तिको सिर्जना हुन्छ ।

अहिले यस्ता समस्याहरूबाट एनआरएन एकदम ग्रसित भएको देखिन्छ । जस्तो कि आईसीसीमा पनि कलिङ काठमाडौं भन्दै साथीहरू काठमाडौं पुगे । त्यहाँ गएर दुईवटा एनआरएन बने । विवादित भयो । विवाद चरम उत्कर्षमा पुग्यो, जुनभन्दा तल जाने ठाउँ नै छैन ।

एउटा निश्चित समय आउँछ, जतिबेला हामी सबैले गल्ती गर्‍यौँ भनेर महसुस गरेपछि त्यसबाट सही बाटोमा जाने चरण सुरु हुने हो । अहिलेको चरण भनेको त्यही देखिन्छ, कि चरम बिग्रेको अवश्थाबाट सुधारोन्मुख अवश्थामा जाने मैले आभाष गरेको छु । पछिल्लोपटक जुन विवाद भयो, त्यो भन्दा यसपटक धेरै सुधारको संकेतहरू देखिँदै जान्छन् भन्ने अनुभव गरेको छु ।

जसरी नेपालमा दुईवटा एनआरएन संस्थाहरू खुले रे भन्ने कुरा आयो र पछि फेरि ९५ प्रतिशत मिलिसके रे अलिकति सानोतिनो समस्याले मात्र रोकिएको छ भन्ने सुनेको छु । सबैजना एकैठाउँमा आएर अगाडि बढ्ने हो, हामी यसरी गएर काम छैन र कसैको पनि हितमा छैन भन्ने महसुस भइसकेको छ । राजनीतिक रूपले प्रभावित भएर अगाडि नबढौँ है भन्ने चेतनाको विकास भएको देख्छु ।

दोस्रो कुरा राजनीतिक शक्तिहरू पाटीको प्रकृति नै त्यही हो कि विभिन्न संघसंस्थामा आफ्नो वर्चस्व तथा प्रभाव छ भन्ने देखाउन खोज्ने । तर, महत्त्वपूर्ण कुरा भनेको चाहिँ हामी त्यहाँ जाने मान्छेहरूले निर्णय गर्दा कसैबाट प्रभावित नभई गर्नुपर्छ । समाज सबैखाले मानिसहरू मिलेर बनेको हुनाले हामीले सबैको कुरा भने सुन्नुपर्ने हुन्छ ।

अहिलेसम्म मैले विभिन्न संस्थाहरूसँग मिलेर काम गर्दा जहिले पनि बीचमा बसेर काम गर्छु । यो वा त्यो गुटमा सम्बन्धित भएर मैले कहिल्यै पनि काम गरिनँ । भोलिका दिनमा पनि यो क्रमलाई जारी राख्ने छु । त्यो भयो भने निमिट्यान्नै पार्न नसके पनि राजनीतिक प्रभावलाई कम गर्न सकिन्छ ।

हामीले हेर्‍यौँ भने नेपाली समाजमा शतप्रतिशत स्वतन्त्र मान्छे पाउन पनि गाह्रै हुने रहेछ । कहीँ न कहीँ कोही न कोही सम्बन्धित भइराख्ने रहेछन् । मेरो आग्रह के छ भने एनआरएनमा आइसकेपछि विगतमा के गरिन्थ्यो त्यो छोडिदिऊँ, केवल एनआरएनको राजनीति गरौँ । बाहिरको राजनीतिक प्रभावभित्र नल्याऔँ । एनआरएनको उद्देश्य के हो त्यो पूरा गर्नपट्टि लागौँ ।

दोस्रो कुरा मैले के पनि भन्ने गरेको छु भने एनआरएन अभियानमा सक्रिय रूपमा लाग्दा प्रशस्त दौडधुप गर्नुपर्ने, रिसोर्सेज पनि खर्च गर्नुपर्ने र समय पनि दिनुपर्ने भएकाले घरसल्लाह गरेर मात्र लागौँ भन्ने गरेको छु । एनआरएन अभियान एउटा सामाजिक उत्थानको अभियान हो । तर, यो गर्दागर्दै आफ्नो परिवारलाई नबिगारौँ भनेर पनि भन्न सुरु गरेका छौँ ।

आफ्नो पक्षमा समर्थन जुटाउन पनि राजनीतिक कलर दिने चलन छ । जस्तो कि म यो नेता वा ऊ नेताको नजिक छु भन्ने देखाउनका लागि । पहिलेको पृष्ठभूमि जे भए पनि यता आइसकेपछि भ्रातृ संगठनको राजनीति यता नछिराउनुस् भनेर मैले सबैलाई भन्ने गरेको छु ।

एनआरएनमा यत्रो वर्ष काम गर्दा मैले कहिले पनि कुनै राजनीतिक गन्ध मिसाइनँ । हुन त मेरो पनि आफ्नो राजनीतिक पृष्ठभूमि थियो । तर, मैले एनआरएनमा गरेका काम कारबाही र निर्णयहरू कहिल्यै पनि राजनीतिबाट प्रेरित भएन ।

नयाँ सदस्यहरू र पुराना सदस्यहरू गरिकन अहिले एनआरएनमा लगभग १५ हजार सदस्य छन् । अमेरिकामा साढे तीन लाखको हाराहारीमा नेपालीहरू छन् । मेम्बरसिप ड्राइभमा सदस्य बनेर के पाइन्छ भनेर मलाई साधेका छन् । सदस्य नबने के हुन्छ र बने के हुन्छ भन्ने प्रश्न प्राय धेरैजसोबाट आयो । सदस्य बने पनि वा नबने पनि हामी सबैजना एनआरएन हौँ, नेपाल सरकारले गरेको परिभाषा अनुसार ।

अहिले भन्ने नै हो भने सदस्य बन्दा वा नबन्दा हाम्रो संस्थाले दिने सेवामा केही फरक हुँदैन । मैले जहिले पनि जोड दिने गरेको विषय भनको सदस्यतामा भ्यालू क्रियट गनुपर्‍यो । केही कार्यक्रमहरू ल्याउँदा यस्तो कार्यक्रमहरू ल्याऔँ, जहाँ सदस्य हुने बित्तिकै सदस्यलाई सित्तैमा होस् र अरूलाई न्यूनतम शुल्क होस् । जसले गर्दा मानिसलाई सदस्य भएकोमा गर्व होस् ।

अमेरिकामा धेरै बुबाआमा भिजिटरको रूपमा ६ महिना आउनुहुन्छ, त्यसो गर्दा के हुन्छ भने अत्यावश्यकीय औषधिहरू उतैबाट पोको पारेर ल्याउनुहुन्छ । कहिलेकाहीँ सकिन्छ, त्यतिबेला डाक्टरको सिफारिस चाहिन सक्छ, ल्याबको सुविधा पनि चाहिन सक्छ, तत्कालै गर्न सकिने स्थिति पनि नहुन सक्छ ।

एनआरएनले यहीँ कार्यरत डाक्टर वा नर्सको समन्वयमा टेलिहेल्थको अवधारणा ल्याउन सक्छ । यसमा सदस्यको परिवार हो भने सित्तैमा गरिदिने बनाऔँ र गैरसदस्यको परिवार हो भने पनि न्यूनतम ५ डलर तिरेर सेवा लिने अनि सदस्य पनि बन्ने एउटा कुनै खालको कार्यरूप तयार गर्न सक्छौँ । यसबाट दुईवटा कुरा हुन्छ, एउटा समाजलाई सेवा हुने भयो र अर्कोतिर सदस्यको भ्यालू क्रियट भयो ।

धेरै कुराहरू गर्न सकिन्छ । मसँग थुप्रै विचारहरू छन् । जहाँसम्म विज्ञहरूलाई पनि समावेश गर्ने भन्ने छ, धेरैजसो साथीहरू आउन नै चाहँदैनन् । व्यक्तिगत रूपमा मैले साथीहरूसँग पनि कुरा गर्छु । एनआरएन भन्नासाथ 'ओहो ! भैगयो', 'धेरै राजनीति छ त्यहाँ' भनिहाल्छन् । राजनीति बढी भएको हो भनेर भन्ने मान्छेहरूलाई थप जिज्ञासु बनाउनका लागि मैले 'होइन राजनीति कम भएको हो' भनेर भनिदिएँ । किनभने मैले त राजनीति कम भएको देखेँ ।

सन २००३ देखि सुरु भएको संस्थामा एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारा थियो । यदि तेत्रो नेतासम्म पहुँच रहेछ भने विगत २० वर्षमा पनि त्यही नागरिकताको निरन्तरता त गर्न सकेनन् त । भनेपछि राजनीति बुझेनछन् कि वा राजनीति गर्न सकेनछन् कि भन्ने लागेको हो मलाई । होइन भने सर्वसाधारणले देख्दा चाहिँ नेपालमा जाने, नेताहरूलाई भेट्ने, फोटो खिच्ने, जय नेपाल दाइ भन्ने फेसबुकमा टाँस्ने त्यही मात्र देखेकोलाई राजनीति भनेका हुन् कि ।

नेताहरूसँग पहुँच छ भने त किन एनआरएनको हक हितको निम्ति काम गर्न सकेनन् ? त्यसकारण उनीहरू राजनीतिक पहुँच हुनसक्ने मान्छे होइनन् । सही राजनीति गर्ने मान्छेले एनआरएनको हाम्रो विषयवस्तुमा उनीहरूलाई बुझाउन सक्नुपर्थ्यो । नीतिमा कहाँ परिवर्तन गर्नुपर्ने हो, त्यहाँ सल्लाह दिनसक्नुपर्थ्यो । कुन प्रक्रियाबाट परिवर्तन हुन्छ, त्यो मेकानिज्म बुझ्नुपर्‍यो । ती सबै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

हाम्रा ठुला नेताहरू उपेन्द्र महतोदेखि शेष घले र जिबा लामिछाने सबैका नेपालमा ठुल्ठुला व्यापार छन् । कसैको बैंकिंङ, कसैको टेलिकम, कसैका ठुला होटेल छन् । व्यक्तिगत लगानी गर्न त उहाँहरूले सक्नुभएको छ नि होइन र ?

अहिलेसम्म आम एनआरएनका मुद्दा समावेश हुन सकेका छैनन् । एनआरएनहरूले एक हजार वा दुई हजार डलरसम्मको पनि लगानी गर्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्‍यो । ठुलाबडाहरूले आफ्नो नेटवर्क प्रयोग गरेर व्यवसाय चाहिँ फस्टाउन सक्नुभएको छ । तर, आम एनआरएनका लागि काम भएको देखिएको छैन । त्यसकारणले यो धनीहरूको मात्र प्लेटफर्म हो भन्न मिल्छ ।  

यस्तो भएपछि बुद्धिजीवीहरू कसरी आउने ? पहिले 'नलेज कन्फरेन्स'मार्फत त्यो सुरु नभएको पनि होइन । उक्त अवधारणा विस्तारै ओझेलमा पर्‍यो । यस्ता कन्फरेन्सहरूले विभिन्न विचारहरू आउँछन् र ती विचारलाई कार्यमा रूपान्तरण गर्नुपर्छ ।

एनआरएनहरूले नेपालमा यो भएन त्यो भएन भन्छन् र आफ्नो संस्थाको चुनाव पनि राम्रोसँग सम्पन्न गर्न सक्दैनन्, घण्टौँ लाइन बस्नुपर्ने । राम्रो व्यवहार आफैँ नै प्रदर्शन गर्न सक्दैनन् भने अरूबाट के अपेक्षा गर्ने ? यसमा सुधार हुनु जरुरी छ ।

प्लेटफर्म आफैँमा चाहिँ खराब होइन । विदेशमा बस्ने विज्ञ साथीहरूलाई पनि विभिन्न टास्कफोर्स कमिटीमार्फत समावेश गरेर विभिन्न क्षेत्रहरूमा संलग्न गराउन सकिन्छ ।   सबैभन्दा उत्तम उपाय त्यही हुने छ र मेरो जोड त्यसैमा रहने छ ।

लगानीको वातावरण

पहिलो कुरो त हामीसँग जे छ त्यसको पनि ज्ञान रहेन छ । एक दुइटा उदाहरण दिन्छु, धेरै साथीहरूले भन्छन् उनीहरूसँग एनआरएनए कार्ड छ । तर नेपालमा जग्गा पास गर्न जाँदा मसँग एनआरएनए कार्ड छ भन्दाखेरी कर्मचारीले बुझ्दैन । हामीलाई थाहा छैन भन्छन् रे । अनि बाध्य भएर नेपाली नागरिकता पेस गर्नुपरेको अवश्था पनि छ । भनेपछि सिस्टमले त्यहाँ हुँदाहुँदै पनि कानुनी प्रावधानलाई कार्यान्वयन नगरेर गलत बाटो प्रयोग गर्नका निम्ति प्रोत्साहित गरिरहेको हुन्छ । नेपालको प्रशासन संयन्त्रलाई हामीले सिकाउन सकेका छैनौँ कि जहाँ भन्नुपर्ने हो त्यहाँ भन्न सकेका छैनौँ कि । यी समस्यालाई हामीले कसरी सम्बोधन गर्ने भन्ने एउटा कुरा छ ।

मैले दुई वर्ष अगाडि नेपाली ग्रिनकार्डको व्यवस्था गरौँ भनेको थिएँ । किनभने गैरआवासीय नागरिकता, २०६४ को कानुनअन्तर्गत हो । २०७२ सालको संविधानले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेकका सबै अधिकार दिएको छ ।

तर, २०६४ अन्तर्गत बन्ने एनआरएनए कार्डमा बन्देजहरू छन् । संविधान अरू कानुनभन्दा माथि भएकाले २०६४ को कानुनमा संशोधन गरेर संविधानमा भएका अधिकारलाई पनि राखेर एनआरएनए कार्डको कार्यान्वयन गर्नुपर्छ । एनआरएनए कार्ड पनि नभनौँ भन्छु म त । किनभने यसले सबैलाई कन्फ्युजन गरेको छ । हिमालयन कार्ड वा नेपाली ग्रिनकार्ड अन्य नाम दिन सकिन्छ । त्यसो भएको खण्डमा सबैलाई सजिलो हुन्छ ।

गैरआवासीय नेपाली नागरिकता नियमावली आइसकेपछि मन्त्रालयबाट लिन सकिन्छ भनिएको छ । तर यसको प्रक्रिया झन्झटिलो छ । नेपालमा जाने, मन्त्रालय जाने, पुरानो नागरिकता बुझाउने, पुरानो नागरिकता रद्द भएको प्रमाणपत्र आदि छन् । ती सारा कुरा गरेर लिने के हो त भन्दा राजनीतिकबाहेकका अधिकारको नागरिकता लिन हो । एनआरएनए कार्डमा पनि ठ्याक्कै त्यही हो । २०६४ सालको कानुनलाई संशोधन गरेर दिए भइहाल्यो । हामी किन अफ्ठ्यारो बाटो खोज्छौँ ।

म निर्वाचित भएँ भने गैरआवासीय नेपाली नागरिकतालाई शंशोधन गर्न लबिङ गर्छु । गैरआवासीय नेपाली नागरिकता भनेको सार्क राष्ट्रबाहेकको जसले भारत नेपाल सम्बन्धको कुरालाई छुँदैन । त्यसले गर्दा विवादका विषय छँदै छैनन् । नयाँ अधिकार दिनैपर्दैन । संविधानले जे अधिकार दिएको छ त्यसलाई कार्यान्वयन गर्ने र मान्छन् भने नाम पनि परिवर्तन गरिदिने ।

व्यापक प्रचारप्रसार गरेर कर्मचारीतन्त्रलाई जानकारी हुन जरुरी छ । जग्गा पासगर्दाखेरी चाहिने कागजपत्रमा लिस्टमा चाहिँ एनआरएनए कार्ड पनि राखिनुपर्‍यो । यसो भएको खण्डमा कामहरू गर्न सहज हुन्छ । अर्को कुरा डलर त्यहाँ आम्दानी गरिसकेपछि ल्याउने सम्बन्धि कानुन केही पनि छैनन्, अहिलेसम्म । त्यो कानुन कसरी बनाउने हो त्यो सम्बन्धि कामहरू होला । गैरआवासीय नेपाली नागरिकता पक्का गर्ने, एनआरएनए कार्डलाई नयाँ नाम दिने र यसको अधिकारक्षेत्रको बारेमा कर्मचारी तन्त्रमा चेतना ल्याउनुपर्छ । यी कुरा समानान्तर रूपमा गर्नुपर्ने कुराहरू हुन् ।

नेपालबाट एफ वान स्टाटसमा आएका विद्यार्थीहरू व्यवहारमा एनआरएन भए पनि कानुनमा उनीहरू एनआरएन मानिँदैन । मै पहिलेदेखि नै उनीहरूलाई एनआरएन संगठनको सदस्य बन्न पाउनुपर्छ भन्ने माग गर्दै आइरहेको छु । त्यति मात्र होइन भुटानी नेपाली दाजुभाइलाई पनि एनआरएन संगठनमा ल्याउनुपर्छ । उनीहरूलाई छुटाउन मिल्दैन भन्ने मेरो धारणा हो । विद्याथीहरूलाई र भुटानी नेपालीहरूलाई नेटवर्कमा ल्यायो भने हाम्रो बल बढ्ने नै हो ।

मैले चुनाव जिते भने चुनावमा धेरै पैसा खर्च नगर्ने मान्छे पनि चुनाव जित्न सक्छन् भन्ने सन्देश जान्छ । यहाँ आउन त ठुलै व्यापारी हुनुपर्छ, महिनामा लाखौँ लाख डलर कमाइ हुने मान्छे मात्र आउन सक्छ भन्ने सोचमा गइरहेको छ यो संगठन । यही सोचका कारणले पनि हो धेरै मानिसहरू एनआरएनएको सदस्य बन्न आइरहेका छैनन् ।

अमेरिका रिसोर्सेज भएको देश हो । त्यसबाट एनआरएनए संगठनको माध्यमबाट हामीले कसरी फन्डिङ जुटाउन सक्छौँ भन्ने क्षेत्रमा काम गर्ने छु । म धेरै पैसा खर्च गर्न सक्ने मान्छे पनि होइन । सामान्य जागिरे हुँ ।

एनआरएनए चुनावका क्रममा विभिन्न स्थानमा जानुपर्ने भएकाले यो सामान्य हिसाबले पनि खर्चिलो छ । त्यसकारण चुनावको अभियानमा आउनुभन्दा अगाडि घरसल्लाह गरेर मात्र आउनुस भन्न चाहन्छु ।

(डा. बन्जाडेसँग दिनेश कार्कीले गरेको कुराकानी आधारमा तयार पारिएको ।)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro