site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल 

लुम्बिनी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्न नयाँ योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने बताए । 

बिहीबार बुटवल र पाल्पामा पर्ने लुम्बिनी केबलकार उद्घाटन समारोहमा सहभागी हुन बुटवल आएका उनले भने, “नेपालसँग पर्यटनको अधिक सम्भावना छ । उत्तर प्रदेशमा मात्र २४ करोडभन्दा बढी जनसंख्या छ, नेपालको सम्भावनाका हर क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्ने हो भने विदेशी पर्यटक खोज्न नेपाल धेरै टाढा जानै पर्दैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बुटवलमा बनेको लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण हुने बताए ।  भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र यहाँ बन्ने केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधार उनीहरुका लागि पनि आवश्यक गन्तव्य बन्दै जाने उनको धारणा थियो ।  

उत्तरप्रदेशबाट लोकसभाका सदस्य रहेका पालले उत्तर प्रदेशका जनता केबलकार चढ्न हिमाञ्चल प्रदेश पुग्नुनपर्ने अवस्था रहेको भन्दै अब लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए ।  

उनले नेपाल र भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिकदेखि जनता जनताबीचको सम्बन्ध प्रगाढ रही आएको पनि बताए । उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतको भ्रमण गरेबाट पनि दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्न सकेको बताए ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भनी सार्वजनिक गरेको प्रतिबद्धता ऐतिहासिक रहेको र यसले आगामी दिनमा भारत र नेपालको ऊर्जा क्षेत्रमा आपसी लाभ प्राप्त हुँदै जाने उनले बताए ।  

लुम्बिनी प्रदेशका तराईका पाँच जिल्लाले भारतको उत्तर प्रदेश सीमासँग जोडिएको छ । नेपाल–भारत सीमा जोडिएका जिल्लामा मुख्य सीमानाका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा जमुनाहा ठूला नाका र नवलपरासीको ठुटीबारी, रुपन्देहीकै कक्रहवा, दाङको कोइलाबासलगायतका छोटी भन्सार नाकाबाट दैनिकजसो भारतीय पर्यटक नेपाल आवतजावत गर्ने गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्