
काठमाडौं । ‘कल्पतरु’ साहित्यिक द्वैमासिक पत्रिकाले पत्रिकाको १००औँ अंक सार्वजनिक गर्दै शताङ्क समारोह सम्पन्न गरेको छ ।
सोही अवसरमा प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’को मुक्तकसंग्रह ‘उन्मुक्त ज्योत्सना’ सार्वजनिक गरियो ।
‘कल्पतरु’ पत्रिकाद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कन्चन पुडासैनीले विभिन्न स्रष्टाहरूलाई ‘कल्पतरु वर्ष स्रष्टा पुरस्कार– २०७९’ बाट सम्मानित गरे ।
पत्रिकाले लेखकहरू भोजराज रेग्मी ‘मुखाले’, जेबी खत्री, टीकाराम रेग्मी, नवीन पौड्याल, मधुवन पौडेल, मुरारि सिग्देल, रुपक श्रेष्ठ, ऋषि बस्ताकोटीलाई सम्मानित गरेको हो ।
कार्यक्रममा अग्रज साहित्यिक पत्रकार तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष रोचक घिमिरेले वर्तमान समयमा नेपाल सरकारलाई साहित्यिक पत्रिका तथा साहित्यिक चेतनाको आवश्यकता नरहेको तिनका नीतिले प्रष्ट पारेको बताए ।
घिमिरेले भने, “पछिल्लो समय विज्ञापन बोर्डले साहित्यिक पत्रिकाहरूलाई विज्ञापन दिन नसकिने जनाएको छ । यसले सरकार अन्धकारको बाटोमा जान चाहेको हामी साहित्यिक पत्रकारहरूलाई अनुभूत भइरहेको छ । सरकारको यस कार्यको हामी घोर भत्सर्ना गर्दछौँ ।”
साहित्यकार गोविन्द घिमिरे वेदमणिले सरकारको साहित्यिक पत्रिकाप्रतिको दृष्टिकोण नै खराब रहेको बताए ।
सो अवसरमा नवराज पुडासैनी, कपिल अज्ञात, विनोद नेपाल, गोकुल अधिकारी, मुकुन्द अर्याललगायतले बोलेका थिए ।