
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको माथिल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टीभित्र गुट–उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृत्तिको विकास भएको बताए ।
थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा कांग्रेस भए पनि पार्टीप्रति जनताको कुनै भरोसा नभएको पनि बताए । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धति नै फेरबदल गर्नुपर्ने थापाको भनाइ छ ।
महामन्त्री थापाले सुशासन र पारदर्शिता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सिर्जना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।