site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
न्युयोर्कको सडकलाई तेन्जिङ नामकरण

वासिङटन डीसी । अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।

उक्त सडकलाई नामकरणका लागि ६ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, “सिटीको अनुमति पाएपछि हामीले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु खुसीको विषय हो ।”

सोमबार आयोजित कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले भने, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीका लागि पनि गर्वको विषय हो ।”

कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्युयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे । उनले भने, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” रासस

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्