site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
फुतफुते झरना ।

बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सो हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार गरिएको ‘मौरिज हर्जोग पदमार्ग’मा फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायत आधा दर्जन बढी मनमोहक झरना छन् ।

यहाँ पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई सबैभन्दा बढी आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक प्रदीप पुनले बताए ।

“सबै झरना पहाडबाटै बग्ने हुन् । तर, यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ । झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ,” पुनले भने ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट झर्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटक तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए ।

यो झरनाकै अगाडि अन्नपूर्ण हिमशृंखलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफाफाँटमा अन्नपूर्ण हिमशृंखलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ ।

अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँच झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए ।

पदमार्गअन्तर्गत भुसकेटमेलानजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृंखलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ ।

झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुंगे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उनले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोट्टिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro