site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
त्रासद भविष्य र हरेक मानिसको दायित्व

भर्खर प्रकाशित ‘नुन–तेल विगततिर पदयात्रा’ हात परेदेखि छोड्न मन लागेको होइन । जीवन क्षेत्रीद्वारा लिखित ‘विगततिर’ भने पनि लेखकको चिन्ता भविष्यप्रति झन् धेरै देखिन्छ ।

विगतका घटनालाई साक्षी बनाउँदै हामी कतातिर उन्मुख हुँदै छौँ भन्ने चिन्ता छ, किताबभरि । भनिन्छ, जलवायु परिवर्तनका कारकतत्त्वहरू उत्पादनमा औद्योगिक देशहरूको ठूलै दायित्व छ । हामीजस्ता अर्धविकसित देशका मानिसले चाहेरै पनि गर्न सकिने ठाउँ कम छ ।

यो भनाइ केही हदसम्म सत्य त हुँदै हो । त्यसका अलावा हरेक देशका सानाठूला नागरिकको दायित्व पनि कम छैन भन्ने कुरा उनले औँल्याएका छन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

पृथ्वीको बढ्दो तापक्रम, पिउने पानीको अभाव, सास लिन गाह्रो र दूषित हावाले निम्त्याउने रोगहरू, अनेकन् रसायन र विषादीको प्रयोगबाट खस्केको कृषि प्रणालीले जमिन र हाम्रो स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावका बारेमा अनेकन् उदाहरणसहित प्रस्ट्याएका छन्, पुस्तक लेखकले ।

प्रकृतिलाई जित्न सक्छौँ भन्ने भ्रममा बसेको मानिसका क्रियाकलापले निम्त्याएका अनेकन् दुर्घटना र आउँदा दिनमा झेल्नुपर्ने विपत्तिको फेहरिस्त हो, यो किताब । किताबमा कविता, जीवनयापनका लागि सुख खोज्दै तय गरिएका बसाइँसराइका कथा, नियात्राका शैलीमा लेखिएका हरेक अध्यायमा परिवर्तनले ल्याएका गुन–बैगुनको चर्चा छ ।

Global bank

विशेष गरी जलवायु परिवर्तनबारे गैरजिम्मेवार मानिसका व्यवहार उजागर गर्ने नियत भए पनि महिला, दलित र सिमान्तकृतका दयनीय हालत देख्न पाइन्छ, बेला–बेलामा ।

गैरआख्यान भईकन पनि यात्रा गर्दाका अनुभव र अनुभूतिका आधारमा व्याख्या गरिएकाले पढ्न सजिलो र सरल छ । अझ कतिपय ठाउँमा त साहित्यिक कृतिको जस्तो मिठास दिन्छ ।

जन्मस्थान बागलुङदेखि बुटवलसम्मको पाँचदिने यात्रालाई मियो बनाएर लेखिएको ‘नुन–तेल विगततिर पदयात्रा’मा उनले आफ्ना बाबुबाजेले नुन–तेलको जोहो कसरी गर्थे भन्ने कुरा बडो मार्मिक तरिकाले उजागर गरेका छन् ।

कुरो विगतको मात्रै छैन, चिन्ता भविष्यको छ । मानिसले जानाजानी गरेको प्राकृतिक दोहनमा लेखक पिरोलिएका छन् । विकासको नाममा देखिएका विनाशले उनको मन उद्वेलित बनेको छ । डोजरले बाटो खन्दा बुरुरु खसेका ढुंगामाटो उनलाई मार हानिसकेपछि ज्यान जानुअगाडि छटपटाइरहेको पशुजस्तै लाग्छ भने भरखर लडेका सल्लाका रुखहरू देख्दा असमयमै मारिएका युवाको शरीरजस्तो लाग्छ ।

उसो त किताबमा प्रकृतिबाहेक सामाजिक जीवनका अनेक पहलु पनि उस्तै आकर्षक रूपमा वर्णन गरिएका छन् । हरेक घटना आफ्नो भोगाइसँग गाँसेर ल्याइएको हुँदा यी यथार्थपरक लाग्छन् ।

उदाहरणका लागि, उनले महिलाका कुरा अनेक प्रसंगमा उठाएका छन् । कतै विधवा र एकल महिलाका दुःखका शृंखला पस्केका छन् । कतै आमा, हजुरआमाका दिन, दैनिकी र अभावग्रस्त जिन्दगीका अनेक पक्ष उधिनेका छन् ।

तीमध्ये केही प्रसंग यहाँ अलिक विस्तारमा विवेचना गर्नु उचित लाग्दै छ । पहिलोमा उनको आफ्नै पारिवारको शैक्षिक प्रसंग छ । आफूलगायत तीन दाजुभाइले उच्च शिक्षा हासिल गर्न पाएको र दिदी यसबाट वञ्चित बनेका कुरामा उनले दुःख पोखेका छन् ।

उनी भन्छन्, ‘बाबुआमाले सन्तानको शिक्षालाई प्राथमिकता दिएका कारण र सन्तानले पनि अपेक्षाकृत राम्रो पढेका कारण गाउँमा धेरैले हाम्रो परिवारलाई उति बेला नमुना परिवार भन्थे । तर, त्यो नमुनामा एउटा कालो धब्बा लागेको थियो । ...हामीले पढ्दै गर्दा गाउँमा स्कुल सकिँदा नसकिँदै छोरीको बिहे गरिदिने चलन थियो । तर, धेरैजसो परिवारमा छोरा र छोरीले पनि उतिसाह्रो प्रगति नगर्दा छोरा र छोरीको शैक्षिक पेसागत दक्षतामा उति ठूलो खाडल पर्दैनथ्यो । बुबाआमालाई अहिले पनि लाग्छ, अरू धेरै गाउँलेले एसएलसी नपुग्दै बिहे गरिदिने समयमा हामीले त एसएलसी दिने बेलासम्म पर्खेर मात्रै बिहे गरिदियौँ । तर, दिदीलाई लाग्छ, उच्च शिक्षाबाट वञ्चित गरेर मेरो छिटो बिहे गरिदिएका कारण म पछि परेँ ।’ (पृष्ठ – १४७)

वास्तवमा अहिले पनि थोरै प्रतिशत सहरियाबाहेक जीवन क्षेत्रीले आफ्नो अनुभूतिमा बताएभन्दा खासै फरक छैन, छोराछोरीलाई शिक्षा दिने बाबुआमाको व्यवहार ।

बाबुआमाको सोचाइ हुन्छ– पहिलेकाले छोरी पढाउँदैनथे, हामीले केही भने पनि पढायौँ । कि त अरूका छोरीभन्दा हाम्रा छोरीले पढ्न पाए भनिन्छ, कि त आफ्नो विगतसँग दाँजेर हामी (छोरीले)ले पढ्न पाएका थिएनौँ, हामीले पढायौँ भन्ने गर्छन् अक्सर आमाहरू ।

तर, छोरा र छोरीको तुलना पनि गरिँदैन । अनि, बराबर अवसर दिनुपर्छ भन्ने अनुभूत पनि गरिँदैन । आफ्ना सन्तान सबैलाई बराबर शिक्षाको अवसर नदिँदा उनीहरूको उपलब्धिमा देखिने खाडलको हेक्का थोरैले मात्र गरेका होलान् ।

यसबाट लैंगिक असमानताको निरन्तरता पुस्तौँसम्म तन्किइरहेको छ भने शिक्षाको असमान लगानीले उत्पादन पनि फरक नै हुन्छ । एकातिर व्यक्ति (छोरी) त असक्षम बनेर बाँच्न बाध्य हुन्छन् नै, त्यसका साथै परिवार, समाज र सिंगो देशले पनि आधा जनशक्तिको योगदान गुमाएको हुन्छ भन्ने कुरा अझै पनि धेरै बाबुआमालाई बुझाउन नसक्नु विडम्बनाकै विषय बन्दै गइरहेको छ ।

जीवन क्षेत्रीलाई दिदीलगायत सम्पूर्ण महिलाको शैक्षिक अवस्थाप्रति हमदर्दी छ । आफूलगायत तीन दाजुभाइ खेतै बेचेर पनि पढ्न पाउने । एउटी दिदी यसबाट वञ्चित भएको सम्झेर आफू पनि यस दोषको भागीदार भएको महसुस गरी पश्चात्ताप गर्छन्, उनी ।

दोस्रो (पृष्ठ – १५७)मा एउटा विवाहमा गन्धर्व किशोरीमाथि भएको सामूहिक बलात्कारको प्रसंग विस्तारमा वर्णन गरेका छन् । दलित किशोरीहरू मात्र सामूहिक बलात्कारमा पर्थे भन्ने उनको भनाइचाहिँ पूर्ण सत्य मान्न सकिन्न । बलात्कार जुनै वर्ग र जुनै जातका किशोरी÷महिलाले भोग्दै आएको कटु यथार्थ हो ।

तथ्यांकले भन्छ– हरेक पाँच महिलामध्ये तीनजनाले जीवनको कुनै न कुनै समयमा बलात्कार अथवा त्यस्तै यौनजन्य हिंसा भोगेकै हुन्छन् ।

यसो हुनुमा पनि समाजमा छोराप्रतिको एकतर्फी लगाव र लगानी जिम्मेवार छ । जुन समाजमा छोरा पाउन मरिहत्ते गरिन्छ, अनि छोरीलाई बोझका रूपमा लिइन्छ, जुन समाजले छोरालाई शिक्षा आर्जनद्वारा सक्षम बनाउँछ, अनि छोरीलाई असक्ष बनाइराख्छ, जुन समाजले छोरालाई मात्र सम्पत्ति पोसेर बलवान् बनाउँछ, अनि छोरीलाई परावलम्बी बनाउँदा भेदभावको अनुभूत गर्दैन, त्यहाँ मनोवैज्ञानिक रूपमा नै छोरा उन्मत्त र छोरी हीनभावले ग्रस्त हुन्छन् नै । छोराहरूमा हामीले जे गरे पनि हुन्छ भन्ने भावना र छोरीको प्रतिकार गर्ने असमर्थताले एकथरीलाई बलियो र अर्कोलाई निर्धो बनाइरहेछ ।

यस्तो असमान अवस्थामा हिंसाले प्रश्रय पाइरहेकै हुन्छ । त्यसैले त यौनजन्य हिंसा आफ्नै नजिकका नातेदार र छिमेकीद्वारा धेरै हुने गर्दछ । गन्धर्व किशोरीको सामूहिक बलात्कारको कुरा कहीँ उजुरी पनि नपरेको जुन प्रसंगको बयान गरेका छन्, यही हामीले युगौँ भोग्दै आएको (कु) संस्कार र (कु) संस्कृतिको उपज हो, यो यथार्थ दलितमा मात्र सीमित छैन । तर, केचाहिँ मान्न सकिन्छ भने यो अत्याचार दलितमा धेरै छ । समग्र समाजमा महिला दोस्रो दर्जाका प्राणी मानिन्छन् भने दलित महिलाको अवस्था झनै दयनीय देखिन्छ ।

तेस्रो, एउटी किशोरीले नजिकैको गाउँ जाने बाटो बताउन नसक्दा लेखक किशोरीको विद्यमान बौद्धिक अवस्थाको विश्लेषण गर्दै सही निष्कर्षमा पुग्छन् । भन्छन्, ‘मलाई सुरुमा लाग्यो– गाउँको सहरमोह बढेसँगै केटाकेटीले छिमेकी गाउँको नाम जान्न पनि छाडेछन् । तर, गम खाँदै जाँदा लाग्छ– छिमेकी गाउँको नाम थाहा नहुनु ती किशोरी सीमित संसारमा बाँच्नुको परिणाम पनि त हुनसक्छ । ती किशोरीको भौगोलिक ज्ञान हाम्रो समग्र समाज र शिक्षा प्रणालीको असफलताको एउटा मानक हो ।’

चौथो, बाबुबराजुले नुन–तेल बोकेर हिँड्ने गरेको बाटोबाट आफू एक्लै हिँड्दा पनि डराउनुपर्ने रहेनछ भन्ने अनुभूत गर्दैगर्दा लेखक महिलालाई सम्झन्छन् । उनी भन्छन्, ‘म पुरुष नभएर महिला हुन्थेँ भने कुरा अर्कै हुनसक्थ्यो । त्यो अवस्थामा मैले अहिले अपराधीका रूपमा कल्पना गर्नै नसक्ने मानिसहरू ती भूमिकामा प्रकट हुनसक्थे ।’

निश्चय नै हो, कुनै पनि महिला हप्तौँ घर छोडेर एक्लै हिँड्ने कुरा असम्भवजस्तै हुन्छ । खान–बस्नको ठेगान नभएको, बासको सुरक्षित व्यवस्था नभएको यात्रामा जाने कसैले हिम्मत गर्दैनन् । गरिहालेछन् भने पनि हतोत्साह गर्ने धेरै हुन्छन् । परिवारका सदस्यले स्वीकृति दिँदैनन् ।

स्वीकृति नदिनाका कारण पनि प्रस्टै छन् । किनकि, एक्ली किशोरी घरबाट निस्केदेखि हिंस्रकहरू अघिपछि लाग्छन् । गिज्याउन,े जिस्क्याउनेदेखि लिएर बलात्कारजस्ता जघन्य हिंसा पनि लगभग सामना गर्नुपर्ने नै हुन्छ ।

त्यस्तो जोखिम किन मोल्ने ? त्यसैले त देशदेशावर डुल्ने, अवलोकन गर्ने र संसार र संस्कृतिबाट सिक्नेबुझ्ने प्रक्रियाबाट पनि ठगिएका छन्, महिला ।

पर्यावरण संरक्षण र जलवायु परिवर्तनले महिलालाई झन् असर गरेको छ भन्ने उदाहरणसहित लैंगिक विभेद, दलित विभेद, धार्मिक अन्धता पनि यसका कारकतत्व हुन् भन्ने लेखकको ठम्याइ छ ।

जनावरको सट्टा वनस्पतिजन्य खानाको फाइदा, जंगल जोगाउने प्रयत्न, खाना खेर नफाल्ने बानी, नदी सफा राख्ने प्रयासजस्ता स–साना काम मात्र गरियो भने पनि वातावरण जोगाउने र कार्बन उत्सर्जन कम गर्ने अभियानमा ठूलो मद्दत हुने कुरा सबैका लागि अत्यन्त मननीय लाग्छ ।

यस्ता कार्य हरेकले गर्न सक्छन् र हरेकको विवेकसम्मत कार्यले पर्यावरणको संरक्षणमा केही हदमा भने पनि योगदान पुग्न सक्छ भन्ने उनको जिकिर छ ।

किताबमा साढे चार अर्ब वर्षअघिको आकाशगंगा (मिल्किवे)को बनावट, हामी बस्ने पृथ्वीको सिर्जनादेखि भविष्यको चिन्तासम्म समेटिएको छ । विज्ञानको विद्यार्थीले प्रमाण र तथ्यसहित सरल भाषामा सबैले बुझ्ने तरिकाले जुन शिक्षाप्रद कुरा पस्केका छन्, त्यो सबैले पढ्न आवश्यक छ ।

सबैभन्दा बढ्ता त सामान्य तरिकाले जिउन सकिने ठाउँमा तडकभडकलाई प्राथमिकता दिने, अनावश्यक फजुल खर्च गर्ने युवा, आधुनिकताको नाममा प्राकृतिकभन्दा अप्राकृतिक जीवनशैली पछ्याउन लालायित आजको समाजका हरेकलाई झकझक्याएको छ यस पुस्तकले ।    


 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय