site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सामसुम त नहोला नि नक्कली शरणार्थी काण्ड !

नक्कली शरणार्थी काण्ड यसै सामसुम होला कि टुंगोमा पुग्ला ? शरणार्थी काण्डको लहरो तान्दा पहरोसम्म पुग्ला कि कथाका चोर बाँदरजस्तै ठूला नेता ‘तैँ चुप मै चुप’ होलान् ? अहिले सामाजिक सञ्जालदेखि चिया पसलहरूसम्म पनि यिनै वा यस्तै ‘भाइरल’ भएको छ ।

हुन पनि नेपालमा पञ्चायत कालदेखि नै भ्रष्टाचारका ठूला काण्डमा कारबाही भए वा गरिएको त देखाइन्छ तर भ्रष्टहरूले सजाय पाएको उदाहरण भने बिरलै भेटिन्छ । एकाध देखिएका कारबाही पनि ‘बडा द्यौता जल्छन् अलिकति त हाम्रा उदयमा’ भने झैँ राजनीतिक प्रतिशोधको दृष्टान्तजस्ता छन् । समान अवस्थामा कसैलाई सजाय र कसैलाई उन्मुक्ति हुनुलाई ‘न्याय’ भन्न त पक्कै सकिँदैन । जेहोस्, नक्कली शरणार्थी काण्डले देशको ‘तरमारा’ वृत्तमा खलबली भने देखिनेगरी नै मच्चिएको छ ।    

राजनीतिक प्रतिशोध हो र ?

एउटा समूह विशेषगरी नेकपा (एमाले)का नेता कार्यकर्ताले यस प्रकरणलाई ‘प्रतिशोधको राजनीति’ भन्न थालेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी प्रहरीसँग सम्पर्कविहीन भएर लुकेपछि अध्यक्ष खड्गप्रसाद ओलीको छटपटी पनि बढी नै देखिएको छ । उनले तीनचार दिनका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुईपटक भेटिसके । दुवै भेट मूलतः शरणार्थी काण्डमा सुरु भएको प्रहरी कारबाहीकै सेरोफेरोमा रहेको जानकारी प्रधानमन्त्री दाहालले सार्वजनिकरूपमै दिएका छन् ।

ओलीको छटपटीलाई एउटा पार्टी अध्यक्षको स्वाभाविक चिन्ताका रूपमा पनि लिन सकिएला । अहिले शरणार्थी काण्डमा मुछिएका टोपबहादुर रायमाझी र रामबहादुर थापाले सङ्कटमा बेलामा आफ्ना नेता दाहाललाई त्यागेर ओलीलाई साथ दिएका थिए । उनीहरूलाई सङ्कट पर्दा साथ दिनु र संरक्षण गर्नु ओलीको कर्तव्य पनि हो । त्यसमाथि अहिले प्रधानमन्त्री तिनै दाहाल छन् । 

परन्तु, ओलीको छटपटी अध्यक्षले लिएको चासोमात्र हो भनेर पत्याउने ठाउँ भने थोरै छ । बरू, शरणार्थी काण्डको लहरो तान्दा पहरो थर्कने भयले ओली बढी छटपटाएका हुन् भन्ने तर्क बढी पत्यारलाग्दो छ । अहिलेसम्म प्रहरीलाई उद्धृत गरी सार्वजनिक भएका सूचना हेर्दा नक्कली शरणार्थी काण्डमा रायमाझी र थापाका छोराहरूको संलग्नता पुष्टि हुन्छ । थापाका सल्लाहकार त पक्राउ नै परिसकेका छन् । थापा गृहमन्त्री रहँदा प्रधानमन्त्री ओली नै थिए । यसैले प्रत्यक्ष संलग्न छैनन् भने पनि यस काण्डमा नैतिक जिम्मेवारी त ओलीले पनि लिनुपर्छ । 

ओली र दाहालको लगातार भेटले अर्को शङ्का पनि उब्जाएको छ - काण्डमा पूर्वमाओवादी नेताहरू संलग्न देखिएकाले कतै प्रधानमन्त्री दाहाल पनि कुनै न कुनैरूपमा जोडिएका छन् र उनलाई धम्क्याउन ओलीले पटकपटक भेटेका त हैनन् ? तिनै रायमाझी, थापाहरूसहित एमालेसित पार्टी एकीकरण गरेका दाहाल ओलीसँग एउटै पार्टीमा सहअध्यक्ष थिए । दुई टाउका एउटा पेट भएको भारण्ड चराको पौराणिक कथा दोहोरिएको त छैन ? 

प्रहरीमाथि विश्वास गर्न पाइयोस् !

संसारका धेरै देशमा प्रहरीले कारबाही थालेपछि नागरिकहरू ढुक्क हुन्छन् । प्रहरीमाथि विश्वास गर्छन् । नेपाल प्रहरी भने योग्य भएर पनि भरपर्दो हुनसकेको छैन । अरू बेलाजस्तै नक्कली शरणार्थी काण्डमा पनि नेपाल प्रहरीले काम थाल्यो अब अपराधी उम्किन पाउँदैनन् भनेर विश्वास गर्नेको सङ्ख्या थोरै छ । बरु, अझै पनि कारबाही सामसुम हुन्छ भनेर ठान्नेहरू नै धेरै देखिन्छन् ।

रायमाझी भाग्नुमा पनि कतै न कतै कुनै न कुनै प्रहरीकै साथ र सहयोग हुनुपर्छ । नत्र निगरानीमा रहेका व्यक्ति एकाएक कसरी लोप हुनसक्छन् ? कि त एमाले नेता शेरबहादुर तामाङले आरोप लगाएजस्तो रायमाझीलाई हिरासतमा लिएर पनि प्रहरीले लुकाएको हुनुपर्छ नभए लुक्न र भाग्न सघाएको हुनुपर्छ । रायमाझी उम्केको विषयले प्रहरीको विश्वसनीयता भने घटाएको छ । 

नक्कली शरणार्थी प्रकरणमा पटक्कै सम्झौता नगरी दोषी सबैलाई कठघरामा उम्याउन सक्यो भने नेपाल प्रहरीको साख ह्वात्तै बढ्नेछ । राजनीतिक हस्तक्षेप सामु नझुक्ने हो भने नेपाल प्रहरीले यस काण्डलाई टुंगो लगाउन सक्छ भन्ने विश्वासमा तुसारो नपरोस् ।

नत्र किन लुके त तोपबहादुर रायमाझी ?

अभियोग लाग्दैमा कोही कसुरदार ठहरिँदैन । कसुरदार मिडिया वा प्रहरीले ठहर गर्ने पनि होइन । सञ्चार माध्यमले समाचारसम्म दिने हो । प्रहरीले भेटिएका प्रमाणसहित न्यायालयमा प्रस्तुत गर्ने हो । एमाले सचिव टोपबहादुर रायमाझीले भने भागेर आफैलाई शङ्काको घेरामा उभ्याए । सबैले भन्छन् - दोषी नभए त भाग्नु नपर्ने हो !

परिबन्द होस् प्रपञ्चबाट अहिले रायमाझी, थापालगायत व्यक्तिहरू नक्कली शरणार्थी काण्डमा मुछिएका छन् । पुष्कर शमशेरको कथा ‘परिबन्द’मा अभियुक्त रणेलाई सम्झाउँदै विचारी भन्छन् - मै भन्छु सबैले भन्छन् ‘दोषी नभएको भए किन भागेको त ?’

गलैँचा काण्डको नजिर !

पञ्चायतको उत्कर्षतिर दैनिक प्रशासनमा पनि दरबारका भारदारहरूको हस्तक्षेप अति नै भइसकेको थियो । कसैले भारदारको स्वार्थमा बाधा दियो भने राजनीतिक, प्रशासनिक, न्यायिक सबैतिरबाट तह लगाउने प्रयत्न हुन्थ्यो । सायद यही क्रममा गलैँचा निर्यातमा अधिक बीजकीकरण गरेर देशलाई नोक्सानीमा पारेको अभियोगमा पूर्वप्रधानमन्त्रीलगायत अर्थ र उद्योगमन्त्रीहरूसमेत माथि मुद्दा चलाइयो ।

तीमध्ये पिताम्बरध्वज खातीको मात्रै प्रत्यक्ष संलग्नता थियो कि भन्ने चर्चा उतिबेलै सुनिन्थ्यो । तर, काण्डमा त कुलशेखर शर्मा, नरकान्त अधिकारी, कल्याणविक्रम अधिकारीजस्ता स्वच्छ छविका कर्मचारीलाई समेत मुछियो । यिनीहरूले भ्रष्टाचार गरेको त कसैले पत्याएन तर यिनीहरू प्रमुख रहेका बेलामा वा मातहतमा अधिकबीजकीकरण भएको थियो । त्यसैले सबै नैतिकरूपमा जिम्मेवार थिए र तिनीहरूमाथि मुद्दा चलाइएको थियो । पछि सबैले सफाइ पाए ।

नक्कली शरणार्थी काण्डमा पनि यो सुरु भएयताका सबै गृहमन्त्री र गृह सचिव शङ्काको घेरामै हुन्छन् । कुनै न कुनैरूपमा निर्णयमा सही गर्नेहरू सबैमाथि मुद्दा चलाउनै पर्छ । साथै, त्यस अवधिका प्रधानमन्त्रीहरूको सह नपाईकन त्यति ठूलो घोटाला गर्ने आँट कसैले गर्ला भन्ने पत्याउन मुस्किल हुन्छ । 

छानेर कारबाही गर्ने अख्तियार शैली यस काण्डमा नअपनाइयोस् । अख्तियारमा नियुक्त पूर्वकर्मचारीमध्ये कतिपयकै त्यो काण्डमा  संलग्नता हुनसक्छ । यसैले एकपटक प्रत्यक्षपरोक्ष संलग्न सबैमाथि छानबिनसम्म त हुनै पर्छ । प्रमाण नभेटिए त मुद्दा नचल्ला नि । त्यस अवधिका मन्त्री र सचिवहरू कोही पनि शङ्काको घेराबाहिर देखिँदैनन् ।  

के प्रहरीले लहरो तान्ने आँट गर्ला ?

सरकार फेर्ने हल्ला

शरणार्थी काण्ड चर्किन थालेसँगै फेरि एकपटक सरकार फेरिने हल्ला पनि चलेको छ । एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न भनेको समाचार चुहाइएको छ । समाचार ‘नरो वा कुञ्जरो वा’ शैलीमा आएकाले शङ्का गर्ने ठाउँ पनि छ । सामान्य अवस्थामा बहुमत जुटाएर सरकार बनाउन वा गिराउन खोज्नु स्वाभाविक अभ्यास नै हुन्थ्यो संसदीय पद्धतिमा । तर, अहिले सरकार फेरियो वा फेर्न खोजियो भने शरणार्थी काण्ड सामसुम पार्ने नियत हो भन्ने बुझिनेछ । यसैले शरणार्थी काण्डमा रास्वपा वा एमालेको पनि कसी लागेको छ । 

त्यसो त रवि लामिछाने र ओली दुवैले नक्कली शरणार्थी काण्डका बारेमा आफूलाई जानकारी भएको बताएका छन् । उनीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचारअनुसार त आफूले कारबाही अगाडि बढाएको दाबी पनि गरेका छन् । रविले सायद त्यसमा शंकाको सुविधा पनि पाउलान् । कारण धेरै दिन गृहमन्त्री हुन पाएनन् । 

परन्तु, केपीको दाबी भने अलि हजम भएन । काण्डको जानकारी त पक्कै थियो होला तर कारबाही गर्न भनेको दाबी चाहिँ विश्वसनीय देखिएन । अहिले त उनी प्रहरी कारबाही तुहाउन कस्सिएर लागेको देखिएको छ । पहिले कारबाही गराउन कसरी लागे होलान् र ? 

कतै प्रहरी मनोबल गिराउनलाई सरकार फेर्ने हल्ला चलाइएको त होइन ?

र अन्त्यमा 

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो ‘न्युज लेटर’मा उल्लेख भएअनुसार युरोपेली युनियनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी प्रतिबन्धको अधिकार क्षेत्र कायम गर्ने प्रस्ताव तयार गर्दैछ । प्रस्तावित संहिता कार्यान्वयन भएमा गम्भीर भ्रष्टाचारमा संलग्न व्यक्ति जुनसुकै मुलुकको नागरिक भए पनि प्रतिबन्धको अधिकार क्षेत्रभित्र पर्नेछ । चोरिएका सम्पदा सम्बन्धित मुलुकमा फर्काउने निर्णयजस्तै यो प्रतिबन्धको प्रस्ताव पनि स्वागत योग्य भएको ट्रान्सपरेन्सीको ठहर छ । 

ल है कतै शरणार्थी काण्ड सामसुम पार्न खोज्दा ठूला नेतामाथि युरोपले प्रतिबन्ध नलगाओस् ! बाल सैन्य, कालो धन, दण्डहीनतामा त यसै मुलुक अप्ठेरोमा परेकै छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro