उपचुनावको परिणामबाट हतासिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको बैठकमा ‘ठूला दलप्रति जनताले चासो नदेखाएको’ भन्ने अभिव्यक्ति दिए । चुनाव परिणामकै मूल्याङ्कन गर्दे प्रधानमन्त्री पुष्पकमल दाहालले ‘पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्त्वहरू सल्बलाउन थालेका’ व्याख्या गरे ।
पुराना दलका ठूला भनाउँदा सबैजसो नेताको अभिव्यक्तिमा कसैले पार्टी सच्चीनु पर्ने, जनआन्दोलनको उपलब्धि जोखिममा परेको, उल्ट्याउन खोजिएको’ भन्ने नै छ । यसबाट उनीहरू हतास मानसिकतामा अल्झिन पुगेको त देखिन्छन् नै कुनै पनि कोणबाट आत्मसमीक्षा गरेको भने देखिँदैन । यो उनीहरूको सामन्ती सोच र प्रवृत्तिको अभिव्यक्ति हो ।
सबैको कथनको सार पनि एउटै छ । ती नेता आफ्नो मूल्याङ्कन गर्न र दशकौंदेखिको आफ्नो नेतृत्वको कमजोरी, अक्षमता स्वीकार गर्न तयार छैनन् । सधैँ सामन्ती सत्ताको अन्त्य गरेको बखान गर्ने उनीहरूकै चरित्र सामन्ती भइसकेको हेक्का पनि तिनले राखेका छैनन् । सायद, उनीहरुको विनाहको थालनीको कारण नै यही आत्मकेन्द्रित मानसिकता हुनेछ ।
अर्को डरलाग्दो कुरा शेरबहादुर देउवाले दिएको गैरजिम्मेवार अभिव्यक्तिको कुनै संसद्ले प्रतिवाद गर्न नसक्नु हो । संसदीय दलको बैठकमा उपस्थित महामन्त्रीद्वयले समेत यो कुण्ठित अभिव्यक्तिको प्रतिवाद गर्नसकेको देखिएन ।
कुनै दल विशेषप्रति जनतामा वितृष्णा हुँदैन । नेपालको सबैभन्दा पुरानो र आज पनि व्यापक जनविश्वास रहेको नेपाली कांग्रेसप्रति जनतामा वितृष्णा छजस्तो लाग्दैन । बरु, कांग्रेसको आमूल परिवर्तन होस् भन्ने चाहना देखिन्छ । यो परिवर्तनको आवश्यकताको सन्देश त उपचुनावमा मात्र होइन गत मंसिरको निर्वाचनमै जनताले दिइसकेका थिए ।
पार्टी नेतृत्वले भने जनताको त्यो चाहनालाई आत्मासात गर्ने र त्यसलाई व्यवहारमा उतार्ने कुनै चेष्टा नै गरेन । बरु उही गुटवाद, फरियावाद र धनवादको औजार उदाइरह्यो । यसकै फलस्वरूप उपचुनावमा जनताले तर्सने गरी देउवालाई झापट दिएका हुन् ।
यसकारण यो उपचुनावमा ठूला पार्टीप्रति विश्वास नगरेको भन्ने अभिव्यक्ति पनि देउवाको बेइमानी नै हो । साथै, दशकौंदेखि यही पार्टीमा समर्पित कार्यकर्ताको समेत अपमान हो । नेपाली कांग्रेसकै पनि अपमान हो ।
पार्टी एक गतिशील संगठन हो । जहाँ ५-१० वर्षमा नेतृत्व परिवर्तन हुन्छ । विचारको मन्थन हुन्छ । नयाँ र युवा कार्यकर्ता नेतृत्वमा पुग्छन् । यहि प्रक्रियाले पार्टीलाई ऊर्जा दिन्छ, नयाँपन दिन्छ, नयाँ दृष्टि दिन्छ । देश विकासको नेतृत्व प्रदान गर्छ । अनि जनताले यही नेतृत्वलाई विश्वास, भरोसा र सम्मान गर्छन् ।
सभापति देउवाले छातीमा हात राखेर आफैँलाई सोधुन् - पार्टी गतिशील हुने प्रक्रिया र क्रयाकलाप उनले नै रोकेका हैनन् र ?
नेपाली कांग्रेसमा दाइभाउजु, गुटउपगुट, नतावाद, धनवादलाई मलजल देउवाबाट भएको होइन ? हजारौं कार्यकर्तालाई तिनको जबानी, लगानी र विचारलाई शिथिल तुल्याउन देउवा नै लागेका होइनन् ?
लोकतान्त्रिक मुलुकहरू बेलायत, अमेरिकालगायतका मुलुकमा सयौं वर्षदेखि तिनै पार्टीहरू जीवन्त छन् । गतिशील र लोकप्रिय छन् । किनभने ती पार्टीमा नेतृत्व गतिशील हुन्छ ।
नेपाली कांग्रेसलाई नेपालको मूलधारको लोकतान्त्रिक शक्तिको रूपमा जीवन्त राख्ने हो भने नयाँ र युवा नेतृत्वको लागि ठाउँ छाड्ने आँट देउवाले गर्नुपर्छ । आफ्नो नेतृत्व असफल भएको सकारेर जनसाधारणसँग माफी माग्नुपर्छ ।
जनता र पार्टीलाई दोष दिने होइन आफ्नै निर्मम समीक्षा नेतृत्वले गर्नुपर्छ । नेपाली कांग्रेसको रूपान्तरणका बाटामा तगारो बन्नु हुँदैन । नत्र कुनै न कुनै अर्को लोकतान्त्रिक शक्ति जन्मनेछ ।