site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
७० को दशकमा न्यायालय : बिग्रिएको लय फर्किन सकेन  

काठमाडौं । वि.स. २०७० देखि ०८० को दशक न्यायालयका लागि सुखद् बन्न सकेन । 

न्यायपालिकाका प्रमुख सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएर कायममुकायमको नेतृत्वमा सुरुभएको दशक अन्त्य हुँदा पनि न्यायपालिका कायममुकायमकै नेतृत्त्वमा समापन भएको छ । 

हरिकृष्ण कार्की सात महिनादेखि कायममुकायम भएर सर्वोच्चको नेतृत्व सम्हालिरहेका छन् ।  यसबीचमा प्रधानन्यायाधीशहरू विवादित हुँदा सिंगो न्यायालय विवादको घेरामा पर्‍यो । 

दशकको सुरुवात विसं ०७० मा खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुन गएपछि रामकुमार प्रसाद साहको कामु नेतृत्वमा सुरु भएको न्यायपालिका ०८० साल सुरु हुँदा हरिकृष्ण कार्कीको कामु नेतृत्वमै छ । 

२०७९ साल न्यायालयको ६७ वर्षे इतिहासमा पहिलो यस्तो वर्ष हो जुनको नेतृत्व कायममुकाय प्रधानन्यायाधीशको भरमा सकियो । 

Global Ime bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपश्चात उनी ०७८ फागुन १ बाट निलम्बनमा परेका थिए । 

राणा निलम्बनमा रहेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायालयको नेतृत्व सम्हाले । 

गत असोज ९ गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका हुन् । उनको अवकाशसँगै न्यायपालिकाको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमकै रुपमा लिएका छन् । 

हालसम्म निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग टुंगिएको भने छैन ।  उनले निलम्बनबाटै उमेरहदका कारण अवकाश लिइसकेका छन् । 

नेतृत्वविहीन रहेको न्यायपालिकामा प्रधानन्यायाधीश नियुक्ति गर्न चौतर्फी दबाब आइरहेको छ । 

प्रधानन्यायाधीश नियुक्त गर्नका लागि गठन हुने संवैधानिक परिषद्सम्बन्धी कानुन नै अस्तव्यस्त छ । ०७९ साल नेतृत्वविहीनको न्यायालय रह्यो भने ०७० को दशकमा न्यायपालिकाका प्रमुखहरु विवादै विवादले घेरिए । 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को नेतृत्व लिएपछि न्यायालयको लय बिग्रिएको टिप्पणीकार बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको परिषद्ले उनलाई वरीयताको आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

उनी २०६८ साल वैशाख २३ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । उनी आफ्नो प्रधानन्यायाधीशको कार्यकाल नसकिँदै मन्त्रिपरिषद्को नेतृत्त्व तहसम्म पुगे ।

सो कार्य संविधान विपरीत रहेको र कार्य बदर गर्न माग गर्दै दुई कानुन व्यवसायी अधिवक्ताद्वय डा. चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सो रिटमा २०७२ सालको नेपालको संविधानको धारा १३७ बमोजिमको संवैधानिक इजलासले फैसला गर्‍यो । 

फैसलामा बहुमत न्यायाधीशहरूले रेग्मीलाई मन्त्रिपरिषद्को नेतृत्त्व दिने कार्यलाई संविधान बमोजिम नै रहेको ठहर गरे । 

तर, तत्कालीन प्रधानन्यायाधीश कल्याणप्रसाद श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीले फरक राय राखेका थिए । 

दुई न्यायाधीशले प्रधानन्यायाधीश रहेका रेग्मीले कार्यपालिका प्रमुख दुवै हैसियत एकै साथ गर्नु लोकतन्त्रको बर्खिलाप हुने बताएका थिए ।  

रेग्मीको कार्यकाल ०७१ असोज २३ गते सकिनुअघि नै न्यायाधीश दामोदरप्रसाद शर्माले न्यायपालिकाको नेतृत्व सम्हाले । शर्मा करिब एक वर्ष कायममुकायमका रूपमा रहेपछि ६ महिना प्रधानन्यायाधीश बनेका थिए । उनको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशका रूपमा रामकुमारप्रसाद साह नियुक्त भएका थिए ।

साहको कार्यकालमै धेरै विवाद नबाहिरिए पनि अवकाश प्राप्त गरेको सात वर्षपछि उनी विवादमा मुछिए ।

साहको छोरी रेणुका साहलाई योग्यता नपुगी उच्च अदालतको न्यायाधीश नियुक्त भएको विषय एकपटक उनी नियुक्त हुनासाथ र दोस्रो पटक कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले न्याय परिषद्को नेतृत्व सम्हाल्दा आयो । कार्कीको नेतृत्वमा रहेको परिषद्ले रेणुको पद खारेज गरिदियो । 

सो पद खारेजीविरुद्ध रेणुले सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेकी छन् ।  रिटमा अन्तिम पटक रेणुलाई परिषद्ले सिफारिस गर्दा उठाइएको फाइल झिकाउने आदेश भएको छ । 

यसअघि २०७५ मै नियुक्ति सिफारिस हुँदा परेको रिटमा भने उनी उच्चको न्यायाधीश हुन योग्य रहेको भन्दै फैसला भएको थियो । 

उनी एकै दिन पनि कानुन व्यवसायमा नगई पूर्वप्रधानन्यायाधीशको छोरी भएकै आधारमा न्यायाधीशमा नियुक्त भएको उनीमाथि आरोप छ । 

साहले २०७२ असार २२ गते उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि, सर्वोच्च प्रधानन्यायाधीशमा कल्याणप्रसाद श्रेष्ठ नियुक्त भएका थिए । श्रेष्ठकै कार्यकालमा नेपालको संविधान जारी भएको थियो । 

न्यायालयमा रहँदा खासै विवाद नरहे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विपक्षमा उभिएर राजनीति गर्न खोजेको भन्दै उनलाई विवादमा तान्ने प्रयास गरियो ।

चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन रहेको संसद् विघटनसम्बन्धी विवादमा अदालतले असंवैधानिक कदमलाई सर्वोच्चले बचाउ गर्नुपर्ने रायसहित विज्ञप्ति जारी गरेका थिए । 

न्यायालयबाट श्रेष्ठले २०७३ असार २६ मा उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि न्यायालयले पहिलो पटक महिला प्रधानन्यायाधीश पाएको थियो । 

करिब ११ महिना सुशीला कार्की प्रधानन्यायाधीश बनेकी थिइन् । 

कार्कीले आफ्नो कार्यकाल पूरा नगर्दै उनीविरुद्ध कार्यपालिकाको निर्णय प्रक्रियामा हस्तक्षेप गरेको र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत काम गरेको आरोप लगाउँदै तत्कालीन सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । 

उनीविरुद्धको महाभियोगको मुख्य कारण डीआईजी नवराज सिलवालको मुद्दा थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेका थिए ।  

सिलवालले कार्यसम्पादन मूल्यांकनमा पछाडि रहेका चन्दलाई महानिरीक्षक बनाएको भन्दै सरकारको सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

सो रिटमा कार्कीको नेतृत्वमा पाँच न्यायाधीशको इजलासले परमादेश जारी गर्दै सिलवाललाई महानिरीक्षक बनाउन आदेश दिएको थियो । 

अन्य कारणसहित उनीविरुद्ध महाभियोग दायर गर्ने यो मुद्दा एक प्रमुख कारण रहेको थियो । 

महाभियोग प्रस्ताव दर्ता भएको चौथो दिनमा सो प्रस्तावविरुद्ध कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता दायर गरेका थिए । सो रिटमा प्रारम्भिक सुनुवाइका लागि पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकियो । 

जबराले अन्तरिम आदेश जारी गर्दै कार्कीविरुद्धको महाभियोग तत्काल कार्यान्वयन नगर्न आदेश दिएका थिए । 

कार्की महाभियोग प्रस्तावपछि न्यायालय फर्किइनन् र उनले अनिवार्य अवकाश लिइन् ।  विवादित बन्दै गएको न्यायपालिकाका नेतृत्व त्यसपछि पनि विवादै–विवादमा रह्यो । 

कार्कीविरुद्धको महाभियोग दर्ता भएलगत्तै वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायपालिकाको नेतृत्व लिए । 

कार्कीको अवकाशपछि उनी सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भए । पराजुली आफ्नो जन्ममितिका कारण विवादमा तानिए । 

पराजुलीसँग दुईवटा नागरिकता रहेको र ती दुवैमा भिन्ना–भिन्नै जन्ममिति रहेको पाइएको थियो । उनी एक जन्ममितिअनुसार केही महिनालाई मात्र प्रधानन्यायाधीस बन्ने थिए भने अर्कोअनुसार सात महिना । 

उनलाई स्वार्थका कारण आफ्नो जन्ममिति घटाएको आरोप लगाइएको थियो । उनले सर्वोच्चको प्रधानन्यायाधीशको रुपमा सात महिना कार्यकाल सम्हालेर अनिवार्य अवकाश लिए । 

सो पश्चातको प्रधानन्यायाधीश बन्ने वरीयताक्रममा रहेका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा नियुक्ति गर्न अस्वीकार गरेपछि जोशीले राजीनामा दिए । 

वरिष्ठतम् न्यायाधीशलाई संसदीय समितिले सर्वोच्चको नेतृत्व दिन अस्वीकार गरेको यो नेपालको इतिहासमा पहिलो घटना थियो । 

जोशीलाई समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि ओमप्रकाश मिश्र प्रधाननयायाधीशमा नियुक्ति भएका थिए । मिश्रले चार महिनाको कार्यकाल पश्चात उमेरहदका कारण अनिवार्य अवकाश लिए । 

मिश्रको अवकाशपछि प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा नियुक्त भएका थिए । उनको कार्यकाल पहिलो न्यायाधीश हरिप्रसाद प्रधानपछिकै लामो कार्यकाल मानिएको थियो । तर, करिब डेढ वर्षको कार्यकाल रहँदा रहँदै जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । 

उनीविरुद्ध न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार बिचौलियालाई स्थान दिएको, संवैधानिक नियुक्तिलगायतमा भागबण्डा खोजेकोसहित २१ आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता भएको थियो । 

प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि उनीविरुद्धको महाभियोग प्रस्तावमा कुनै सुनुवाइ भएन । तत्कालीन संसद्को कार्यकाल सकिने समयमा उनीविरुद्धको महाभियोगमा छानबिन गरियो । 

छानबिनपछि जबराको बयान लिई उनीविरुद्ध महाभियोग लगाउनुपर्ने प्रस्ताव महाभियोग छानबिन समितिले निर्णय गर्‍यो । 

जबराको महाभियोग प्रस्तावमा टुंगो नलाग्दै संसद्को कार्यकाल सकियो । 

संघीय संसद्को कार्यकाल सकिएसँगै उनले आफूविरुद्धको महाभियोग फुकाउन निवेदन दिए र संसद् सचिवालयका महासचिवले उनको महाभियोग फुकुवा भएको जानकारी गराउँदै सर्वोच्च प्रशासनलाई पत्र बुझाएका थिए । 

सो पत्र प्राप्त भएकै दिन सर्वोच्चको फुलकोर्टले सो पत्र कार्यान्वयन नगर्ने भन्दै विज्ञप्ति निकायो । 

र, अर्को तर्फबाट सर्वोच्च अदालतका बार एसोसियसनको तर्फबाट महासचिवको पत्र संविधानविपरीत रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गरे । 

रिटमा सुनुवाइमा संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो । 

सोलगत्तै जबरा उमेरहदका कारण अनिवार्य अवकाश लिइसकेका छन् । 

उनीविरुद्धको महाभियोग दर्ता भएपछि न्यायालयको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले सम्हाले । 

उनको अवकाशपछि न्यायालयको नेतृत्व फेरि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu