site stats
बाह्रखरी :: Baahrakhari
देश
भोजपुरमा कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध
फाइल तस्बिर ।

भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५, बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
 
ठेकेदार कम्पनीले लापरबाही ढंगले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् ।

सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर–५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताए ।

“सडक कालोपत्रको काममा लापरबाही गरिएको छ”, उनले भने, “कामलाई गुणस्तरीय ढंगले गर्न भन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्रा हालेको अवस्था छ ।”

Himalayan Bank
Dabur nepal
Agni Group

सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरीकनै कालोपत्र थालिएको उनले बताए । कालोपत्र गर्नुअघि बिछ्याएको बेससमेत गुणस्तरहीन रहेको उनको भनाइ छ ।

“राज्यको पैसाको दुरुपयोग भएको छ । निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम अघि बढाएको देखिन्छ”, उनले भने, “निर्माण क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्र थालिएको छ । बिछ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ । यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौँ ।”

Global bank

स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासनले उक्त सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जीनियरसहित सडक अनुगमनमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । अनुगमनका क्रममा स्थानीयवासीले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उनले बताए ।

“काम गुणस्तरहीन भएको स्थानीयवासीको गुनासोपछि मैले दुईपटक अनुगमन गरेँ”, उनले भने, “अनुगमन गर्दा स्थानीयवासी भनेझैँ सडकमा राम्रो कम भएको देखिएन । राज्यको रकम सही ढंगले सदुपयोग हुनुपर्छ । स्थानीय नागरिकले उठाएको सवाल उचित छ । सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।”

अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोसित भएको जनाइएको छ । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ । 

निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायत मर्मत नगरी कालोपत्र हालेको देखिएको छ । कामलाई गुणस्तर तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इन्जिनियरहरूले बताएका छन् । सवबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इन्जिनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भनेजस्तो गुणस्तरहीन काम नभएको इन्जिनियर आरएन सुवेदीले बताए ।

“आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ”, उनले भने, “हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौँ । यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौँ ।”

सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत नेपाल सरकारको भ्याटसहित ९ करोड ७२ लाख १७ हजार ५३४ लागतमा कालोपत्र थालिएको हो । रौताहा–रामसागर विल्डर्स जेभी काठमाडौंले २०७८ भदौमा सम्पन्न गर्ने गरी काम जिम्मा लिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय