
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले अहिलेको अर्थतन्त्र र नागरिकको अवस्थाले अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै असफल भएको देखिएको बताएका छन् । अर्थनीति र मौद्रिक नीतिले नागरिक र अर्थतन्त्रका समस्याको समाधान दिन नसकेको भन्दै उनले अहिलेको नीति नै असफल भएको बताए ।
मिटर ब्याजीको फन्दामा परेर ६ महिनाको बच्चासहित १३ दिन हिँडेर काठमाडौं आइपुगेकी एकएकजना महिलाको उदाहरण दिएर उनले अर्थनीतिमा प्रश्न उठाएका हुन् ।
“हामी काठमाडौंमा १३ मिनेट जाम भयो भने हामी उफ... कस्तो जाम भनेर निराशा व्यक्त गर्छौं । तर, के परिकल्पना गर्न सकिन्छ, एकजना महिला ६ महिनाको बच्चा बोकेर सिराहादेखि १३ दिन हिँडेर काठमाडौं पुग्छ । श्रीमान विदेश जाँदा लिएको एकलाख ऋण एक हप्तामा ५० हजार बुझाइसकेको छ । अझै दश लाख बाँकी छ भन्छ, धम्की आउँछ,” सांसद झाले भने, “त्यहाँ स्थानीय प्रशासनले त्यसलाई चासो दिँदैन । स्थानीय नजप्रतिनिधि त्यसलाई नकार्छन् । त्यसमा अल्झिन चाहँदिन भन्छ । यहाँ सदनमा रहेका केही साथीहरूका आफन्त पनि संलग्न भएको हुँदा हाम्रो जनप्रतिनिधिले साहुकारको संरक्षण गर्छ ।”
उनले राज्य खास कसका लागि हो भनेर प्रश्न पनि गरे ।
“राज्य त कमजोरका लागि बनेको हो नि, सबलका लागि त राज्य चाहिएकै थिएन,” झाले भने, “तर, किन हामी कमजोरको संरक्षण गर्नुको सट्टा साहुहरूको संरक्षण गर्छौं ?”

उनले नागरिकलाई वित्तीय पहुँच पुग्न नसकेको भन्दै वित्तीय साक्षरताका लागि पनि काम नभएको बताए ।
“एक्सेस टू फाइनान्स भनेको पालिकामा केवल बैकको ब्रान्च हुनु मात्र होइन । नागरिकले आवश्यक परेका बेला आर्थिक पहुँच पुग्छ भन्ने हो,” झाले भने, “लघुवित्तले वाणिज्य बैंकको शाखाको उपशाखाको रूपमा काम गरिरहेको छ । त्यसले निर्धन र आवश्यक परेकाहरूलाई सहयोग गरिरहेको छैन ।”
उनले राज्यका तर्फबाट पनि जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर चासोसमेत नराखेको बताए ।
“राज्यका तर्फबाट यस्तो अवस्थामा कसरी समस्या समाधान गर्न सकिन्छ र कसरी सुझबुझका साथ काम गर्न सकिन्छ भनेर आवश्यक वित्तीय साक्षरता पनि भएको देखिएन,” झाले भने, “ निरक्षर छ कोही, आवश्यक शिक्षा छैन भन्दैमा के त्यस्तै छोडिदिने हो र हाम्रो काम ? कि उनीहरूलाई हामीले राज्य त उनीहरूकै लागि हो नि भनेर हामीले सघाउने हो ?”
सांसद झाले नीति भएको कुरालाई नियमित गर्ने मात्र नभएर आउनसक्ने समस्याको पनि सम्बोधन गर्ने हुनुपर्ने भन्दै अहिले अर्थमन्त्रालय र राष्ट्र बैंक असफल भएको सुनाए ।
“नीति त सम्भावनाको परिकल्पना हो नि ! नीति सम्भावनोका परिकल्पना हो भने यस्तो समस्या आउँछ भनेर केन्द्रीय बैंकलगायत अर्थमन्त्रालयले किन नीति बनाएन, किन छाडा छोडिएको छ यो सबैलाई ?,” प्रश्न गर्दै झाले भने, “हामी कुरिरहेका छौँ कि फेरि पनि कोही छिमेकीको आँपको रुखमा गएर झुन्डिओस् ?”
उनले यस्तो कुरेको होइन भने नीतिका साझेदार निकायले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै ध्यानाकर्षण गराए । उनले त्यति भनेर साहुकारको संरक्षण नगर्न नाम नलिइकन सांसदहरूलाई चेतावनी दिए ।
“र, म यहाँ भएका साथीहरूलाई चेतावनीसहित अनुरोध पनि गर्न चाहन्छु, कृपया ती साहुकारहरूको संरक्षण नगर्नुस् ।”