काठमाडौं । महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याज पीडितहरू संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् ।
उनीहरू मिटरब्याजमा ऋण दिने साहुको ज्यादती सहन नसकेर काठमाडौंमा संघीय सरकारको ध्यानाकर्षण गराउन आएका हुन् ।
ऋण लिँदा घरजग्गा सबै पास गर्न लगाउने र त्यो घरजग्गा साहुले फिर्ता नदिने गरेको पीडितको गुनासो छ ।
सिरहाबाट काठमाडौंसम्म हिँड्दै आएका सूर्यनारायण मुखियाले रामसेवक यादवबाट ३५ लाख रुपैयाँ ऋण लिएको सुनाउँछन् ।
उनले लिएको ऋणभन्दा चार गुणा बढी पैसा तिर्दा पनि साहुले उसको जग्गा फिर्ता नदिएको उनको गुनासो छ ।
“मैले विभिन्न समयमा घर बनाउन र बिरामी परेर उपचार गर्न ऋण लिएको थिएँ । तर, त्यो ऋण मैले चुक्ता गरेको छु । मैले मेरो जग्गा फिर्ता पाएको छैन,” उनले भने, “जग्गा साहुले अर्कैलाई बेचिसकेको छ । तमसुक र मेरो लालपुर्जा उसँग नै छ । फिर्ता माग्दा धम्क्याउँछ । जिल्ला प्रशासन कार्यालयले पनि हाम्रो कुरा सुन्दैन । मैले पैसा तिरेको भौचर पनि साथमा नै छ ।”
सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न भन्दै समिति पनि गठन गरेको थियो । त्यो समितिले मिटरब्याजसम्बन्धी निवेदन दिन पनि भनेको थियो ।
तर, पावर र पहुँचको भरमा यस्ता मिटरब्याजीहरू कारबाहीमा नपरेको हुँदा आफूहरु हिँडेर आउन बाध्य भएको उनीहरुको प्रतिक्रिया छ ।
सोमबार खुला आकाशमुनि रात बिताएका उनीहरु बिहानै बालुवाटारतर्फ अघि बढे ।
अझै पनि शक्तिको आडमा ऋणीलाई तर्साइरहेको बताउँछन् । कति पीडित त बालबच्चा बोकेर काठमाडौंमा आएका छन् ।
उनीहरूको माग छ, मिटरब्याजीलाई कारबाही, तमसुकसम्बन्धी व्यवस्था खारेज, झुटामुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा र मिटरब्याजीको सम्पत्ति छानविन ।
यदी आफूहरूका यी माग सम्बोधन नभए काठमाडौं छोडेर नजाने उनीहरूको प्रतिबद्धता छ ।
गृह मन्त्रालयको एक प्रतिवेदनले पनि मिटरब्याजीहरूले झुटा कागज बनाएर पीडितलाई फसाउने गरेको निष्कर्ष निकालेको छ ।
घटना–१
सूर्यनारायण मुखिया– सिरहा, बेलबजार नगरपालिका, १२
मैले रामसेवक यादवबाट पटक–पटक गरेर घर बनाउन र बिरामी उपचार गर्न ३५ लाख रुपैयाँ लिएको थिएँ । उहाँले जग्गा पनि पास गर्नु भएको छ । तीन/चार वटा तमासुक पनि गरेको थिएँ ।
अहिलेसम्म मैले डेढ करोड रुपैयाँ पैसा पनि दिइसकेको छु । मैले खेतीपाती गरेर नै यो पैसा दिएको हुँ । यसको सबै लिखत पनि छ । बैंकको भौचर पनि छ ।
तर, जग्गा फिर्ता माग्दा मेरो घरमा एसपी डीएसपी बस्छ, मेरो ज्वाइँ मन्त्री हो भन्नुहुन्छ । उहाँको ज्वाइँ राजकिशोर यादव हो ।
उहाँले मलाई कानुनको केही मतलब छैन भन्नुहुन्छ । प्रधानमन्त्री मेरो खल्तीमा छ भन्नुहुन्छ । हिसाब गर्नुहुन्न । जग्गा फिर्ता माग्दा ज्यानमार्ने धम्की दिनुहुन्छ । तँ जहाँ जान्छस् जा मलाई मतलब छैन भन्नुहुन्छ । जग्गा मलाई फिर्ता गर्नुहुन्न । यो सबै लिखत छ ।
मैले दिएको पैसामा पनि लिखतमा सिग्नेचर गराएको छु । जग्गा मसँग छैन । ११ धुर बजारको जग्गा रामसेवककै नाममा छ ।
अर्काेलाई मेरो जग्गा उसैले बेचिसक्नुभयो । ३५ लाखको डेढ करोड तिर्दा पनि मेरो जग्गा फिर्ता हुँदैन । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि हाम्रो वास्ता हुँदैन ।
घटना– २
पलासददेवी महरा– सिरहाको मिर्चाैयाँ, कटारी चोक
गाई पालनका लागि एकवर्ष अगाडि सात लाख रूपैयाँ ऋण लिएको हो । एक वर्षमा १२ लाख रुपैयाँ दिँदा पनि लिएन । १५ लाख रुपैयाँ तिर्नुपर्छ भन्छन् । हाम्रो त्यो पैसाले श्रीमान् र मेरो भाई मिलेर अर्काे व्यापार ग¥यौँ । व्यापार राम्रो भएन ।
हाम्रो जमिन ऋण दिनुभन्दा पहिले नै साहुले पास गरेको रहेछ । हाम्रो १२/१३ धुर जग्गा इन्दल तेलीले लिएको छ । उसँग नै हामीले सात लाख रुपैयाँ ऋण लिएको हो । पैसा दिएन भने जमिन अर्काेलाई बेचिदिन्छु भन्छ । अहिले हामीसँग माटोको घर मात्र छ । मेरा चार छोराछोरी छन् । तीन छोरा एक छोरी छन् ।
घटना–३
राजीवकुमार यादव– सप्तरी बोदेबरसाईन नगरपालिका
गाईपालनका लागि राजेन्द्रप्रसाद तेजीबाट १३ लाख रुपैयाँ ऋण लिएको हो ।
तीन जनाको नाममा २६ लाखको कागज गराएको थियो । मैले सबै पैसा चुक्ता गर्दा पनि अहिलेसम्म मेरो जग्गा फिर्ता गरेको छैन ।
फेरि डेढ लाख तिर भन्दै जग्गा फिर्ता गर्न आलटाल गरिरहेको छ ।
हामीले पहिले नै जग्गा पास गरिदिएका हुन्छौं । उसले हाम्रो जग्गा फिर्ता गर्दै गर्दैन । हामी न्याय माग्न कहाँ जाने ?
मिटरब्याज भनेको के हो ?
गृह मन्त्रालयका पूर्वसहसचिव तथा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका प्रमुख डा. भीष्म भुसालका अनुसार कानुनी रूपले अस्वीकार्य दरभन्दा धेरै बढी ब्याज तिर्ने गरी ऋण लिनु नै मिटर ब्याज हो । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्–
मिटरब्याजी भनेर कस्तो कारोबारलाई बुझ्ने ?
अधिकांश गरिब तथा निरक्षर व्यक्तिहरूले पैसाको गर्जो टार्नका लागि चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरूसँग कानुनी रूपले अस्वीकार्य/प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरी ऋण लिने गरेको र त्यसो गर्दा ऋणदाताले एउटा कागजमा कानुनी रूपले स्वीकार्य दर राखी व्यवहारमा उच्च दरको ब्याज लिई कागज नच्याति रकम असूल गरिरहेको वा तमसूकमा उल्लिखित अंकमा पछि आफैँ अंक थप गरी ऋणीले लिएको वास्तविक ऋणभन्दा कैयौं गुणा बढी रकम दाबी गर्ने गरेको वा ऋण लिएको मितिभन्दा धेरैवर्ष अघिकै मिति राखी तमसूक बनाइ अनधिकृत ब्याज असूलेको वा ऋण दिँदा एउटा थैली कायम गरी त्यसको निश्चित प्रतिशत रकम कट्टा गरी बाँकी रकम ऋणीलाई दिई पूरै रकमको उच्च दरले ब्याज सहित असूल गर्ने गरेको वा कानुनी रूपले आफू तल नपर्ने गरी ऋण लिनेको जग्गा दृष्टिबन्धक राख्ने, छिनुवा पास लिने, खाली चेकमा सही गराई राख्ने गरेको र चेक बाउन्स लगायतका मुद्दामा फसाउने धम्की दिएर गैरकानुनी रूपले ऋणको धेरै गुणा रकम असुल्ने गरेको लगायतका क्रियाकलाप गरेको पीडितहरूको गुनासो रहेको छ । यी लगायत शोषणका विभिन्न माध्यम अपनाइ ऋणीसँग उच्च दरमा ब्याजसहित सावाँ असुल्ने र सो क्रममा ऋणीको जायजेथा आफ्नो कब्जामा लिने र ऋणको दुष्चक्रमा फँसाई आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई समाजले मिटरब्याजीको संज्ञा दिने गरेको छ । यसको अतिरिक्त कतिपय निर्माण व्यवसायीहरू क्यासिनोको लत लागेकाहरू र लागुऔषधको दूव्यसनमा परेकाहरूलाई पनि मिटरब्याजीहरूले मिटरब्याजको पासोमा पारेको पाइन्छ ।
उनी नै प्रमुख भएको कार्यदलले तयार पारेको प्रतिवेदनले पनि मिटर ब्याज एक आर्थिक अपराध भएको निष्कर्ष निकालेको थियो ।
उक्त प्रतिवेदन कार्यदलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई गत भदौ २७ गते बुझाएको थियो । त्यस प्रतिवेदनमा मिटरब्याज न्यूनीकरण गर्ने उपाय पनि दिइएको थियो ।