
काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा सहभागिता र वैशाख १० को उपनिर्वाचनको विषयमा छलफल भएको छ ।
बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले गत पुस १० यताको राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरे । उनले सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको जानकारी गराए ।
खड्काले कांग्रेसले सात मन्त्रालय पाउने पक्काजस्तै भएको पनि जानकारी गराए । उनले सत्तारुढ दलहरु सात मन्त्रालय दिनका लागि तयार भएको तर कांग्रेसको दाबी आठ मन्त्रालयमा रहेको बताए ।
यस्तै, रमेश लेखकले संसदीय गतिविधिको विषयमा बैठकमा ‘ब्रिफ’ गरे ।

आजको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । जसको तयारीका लागि संसदीय बोर्डको बैठक बोलाउने तयारी छ ।
उपनिर्वाचनमा उमेदवारको विषयमा छलफल गर्न सोमबार (१३ गते) संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको तर औपचारिक निर्णय भने भइनसकेको एक पदाधिकारीले जानकारी दिए ।