
काठमाडौं । बेलारुसमा अलपत्र परेका ९ नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काइएको छ ।
रोजगारीको सिलसिलामा ९ नेपाली महिलालाई शुक्रबार नेपाल फर्काइएको हो । वैदेशिक रोजगारको सिलसिलामा बेलारुस पुगेका सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती तिलुङ, रमिता राई, सुष्मा तामाङ, मीना गुरुङ, मार्था सोताङ राईलाई नेपाल फर्काइएको हो ।
नेपाल सरकार, रुसमा रहेको नेपाली राजदूतावास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको सहयोगमा नेपाल फर्काइएको हो ।
नेपाल फर्काइएपछि त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनीहरूलाई आफ्ना अभिवाककको जिम्मा लगाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उनीहरूलाई बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन् । उनले विदेशमा पुर्याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ललाइफकाइ बेलारुस पु¥याइ अलपत्र पारिएका महिलाहरुलाई स्वदेश फर्काइएको बताउँदै यस्ता खालका समस्या आगामी दिन आउन नदिन सरकारको ध्यानाकर्षणसमेत गराइन् । महिलाहरू एक महिना अघि बेलारुस पुगेका थिए ।
बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको अनुसारको पारिश्रमिक नदिएको र पीडा दिने गरेको स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बताइन् । उनले नेपालबाट जाँदा एजेण्टहरूले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।
"नेपालबाट लैजाँदा गार्मेट काम भनेर लगिएको थियो तर उता टेलरमा काम लगाए," उनले भनिन्, "आठ घण्टाको ६८५ यूएस डलर दिने भनेका थिए । १२ घण्टाको ७५ डलरमात्र दिए ।"
उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपाल फर्काइएको हो । नेपाल फर्काउन कृतु भण्डारी र उनीहरूको समूहले टिकटक लाइभमा पहल गरेका थिए ।