
काठमाडौं । धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा लगानीकर्ता गुरु न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
धितोपत्र बोर्डले भित्री कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको यो पहिलोपटक हो ।
बुधबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको हो । न्यौपानेमाथि २०७७ साल चैतदेखि २०७८ साल साउनसम्म रिडी पावरको अध्यक्ष भएको बेला भित्री कारोबार गरेको आरोप लागेको छ ।
बोर्डको गरेको अनुसन्धानको क्रममा न्यौपानेले अध्यक्ष भएको बेला आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गरेको देखिएको थियो ।
धितोपत्र बोर्डले न्यौपानेलाई १० वर्षसम्म सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक लगाउने तथा ७५ हजार जरिबाना तिराउने निर्णय गरेको थियो । बोर्डले ‘इन्साइडर ट्रेडिङ’ फौजदारी अभियोग भएको हुँदा सो अनुसार मुद्दा चलाउने निर्णय गरेर प्रक्रिया अगाडि बढेको जनाएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले ‘इन्साइडर ट्रेडिङ’मा पहिलोपटक फौजदारी मुद्दाको अभियोग अगाडि बढाइएको जानकारी दिए ।
“एकवर्षसम्म जेल सजाय माग राखेर सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ,” श्रेष्ठले भने, “इन्साइडर ट्रेडिङका अन्य केसहरूमाथि समेत अनुसन्धान जारी छ ।”
बोर्डले पछिल्लो समय ज्ञानेन्द्रलाल प्रधानले गरेको ‘इन्साइडर ट्रेडिङ’माथि छानबिन गरेको छ ।
धितोपत्र बोर्डको ऐनमा सूचीकृत कम्पनीको सञ्चालक समितिमा रहेका व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा सेयर किनबेच गर्न नहुँने व्यवस्था छ ।
तर, न्यौपाने र प्रधानले श्रीमतीसँग ‘डिभोर्स’नै गरेर परिवारको नाममा सेयर किनबेच गरेको बोर्डको अनुसन्धानले भेटाएको थियो ।