
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को आठ महिनामा करिब २,२०० विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्यांकानुसार गएको साउनदेखि फागुनसम्म कार, जीप र भ्यान गरी दुई हजार १९८ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
यी गाडीको कुल मूल्य ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ रहेको छ । यसबाट सरकारले एक अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा एक हजार ३५७ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा १०३ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
पछिल्ला तीन वर्षको स्थिति तुलना गर्दा नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सबैभन्दा बढी १०० किलोवाटसम्मका पाँच अर्ब ९० करोड रुपैयाँबराबरका दुई हजार १३९ विद्युतीय गाडी भित्रिएका छन् ।
यस्तै, १०० देखि २०० किलोवाटसम्मका करिब २२ करोड रुपैयाँबराबरका ५२ र चार करोड रुपैयाँबराबरका २०० देखि ३०० किलोवाटसम्मका सात विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
सबैभन्दा बढी १०० किलोवाट क्षमताका विद्युतीय गाडी भारतबाट एक हजार ५७१, चीनबाट ३३३, दक्षिण कोरियाबाट २३२ र इन्डोनेसियाबाट तीनवटा भित्रिएका छन् ।
१०० देखि २०० किलोवाट क्षमताका चीनबाट ३०, कोरियाबाट २० र संयुक्त राज्य अमेरिकाबाट दुई विद्युतीय गाडी भित्रिएका छन् ।
२०० देखि ३०० किलोवाट क्षमताका चीनबाट पाँच र अमेरिकाबाट दुई विद्युतीय गाडी नेपाल भित्रिएका भन्सार विभागले जनाएको छ ।