site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

नेपाल प्रहरीले नारा लगाउनेको मुखै थुन्ने ‘सुरक्षा’अभ्यास सुरु गरेको हो कि रु काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित एउटा कार्यक्रममा भएको होहल्ला नियन्त्रण गर्न मंगलवार प्रहरीले नारा लगाउनेको मुखै थुनिदियो ।

प्रधानमन्त्री उपस्थितमात्र होइन कुनै पनि सार्वजनिक कार्यक्रम बिथोलिने गरी नारावाजी गर्नु उचित होइन । तर, विशिष्ठ व्यक्तिको सुरक्षाका नाममा नागरिकको मुख थुन्नु भने अभद्र व्यवहार हो ।

विडम्बना, नेपाल प्रहरीले मुख थुनिनेमाथि नै अभद्र व्यवहारको मुद्दा चलाएर प्रहरीले हिरासतमा राखेको छ । प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्नुलाई थुनामै राख्नुपर्ने कसुर ठहर गर्न खोजिएको त होइन नि ?  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री उपस्थित कार्यक्रममा नारावाजी हुँदा सुरक्षाकर्मी बढी सतर्क हुनु अस्वाभाविक होइन । त्यसमाथि नेपाल प्रहरीका जवानहरू आकस्मिक अवस्थामा बढी आत्तिने गर्छन् र अनावश्यक बल प्रयोग गर्छन् । 

हडबडीमा नारा लगाउनेको मुख थुनेको हो भने पनि गल्ती त सुरक्षाकर्मीको पो भयो । यद्यपि, यस्तो घटना सुरक्षा जोखिम भन्न पनि मिल्दैन । लोकतन्त्त्रमा कसैका विरूद्ध पनि नारावाजी सामान्य हो ।

यति नै बेला सरकारले नागरिकको व्यक्तिगत कुराकानी विनाअनुमति सुन्न र अभिलेखन गर्न सक्ने कानुन बनाउने तयारी गरेको छ । नागरिकको गोपनीयता र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार असहिष्णु एवं आक्रामक भएको हो ? 

नेपालको संविधान, २०७२ ले नागरिकको मौलिक अधिकार हनन नगरिने सुनिश्चित गरेको छ । यसैले नारा लगाउनेको मुख थुन्ने वा नागरिकको गोपनीयताको हकमा अतिक्रमण गर्ने असंवैधानिक हर्कत स्वीकार्य हुँदैन । 

सरकारको नीति नै विरोधको दमन गर्न मुखै थुन्ने होइन भने नारावाजी गर्ने युवकहरूविरूद्ध मुद्दा चलाएर असहिष्णु चरित्र प्रदर्शन गर्नु हुँदैन । झन्, प्रधानमन्त्रीसँगै सम्बद्ध घटनामा त थप उदार र सहिष्णु हुनुपर्छ । 

अपराध अनुसन्धानका नाममा नागरिकको फोन रेकर्ड गर्न अनुमति नचाहिने बनाइयो भने त्यसको दुरुपयोग हुने जोखिम बढी हुन्छ । कानुन बनाउँदा नागरिकको गोपनीयताको हक हनन हुनसक्ने कुनै छिद्र बाँकी राखिनु हुँदैन । 

नारावाजी गर्नेहरूमाथि मुद्दा चलाउनु विवेकपूर्ण पनि हुँदैन । अभिव्यक्ति कुण्ठित गरेर विरोध साम्य पार्न सकिँदैन । यसैले प्रधानमन्त्री दाहाल स्वयंले चासो लिएर नारावाजी गर्नेहरूलाई थप दुःख दिनबाट रोक्नु न्यायोचित हुनेछ ।

गोपनीयताको हक हननसम्बन्धी प्रावधानको त सत्ता साझेदार दलका नेताहरूले पनि विरोध गरेका छन् । नागरिक स्वतन्त्रतामा अतिक्रमण गरेको कलङ्क बेहोर्न त कसैलाई पनि मन छैन होला नि ?

स्मरणीय के छ भने यही विधेयक सरकार र सत्ता गठबन्धनको लोकतान्त्रिक प्रतिबद्धताको कसी हुन पुगेको छ । व्यवहारमा चुक्यो भने सरकारको मनसुवा र नियतमा सन्देह सुरु हुनेछ । त्यसपछि सरकारले शङ्काको सुविधा पाउनेछैन ।


 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्