काठमाडौं । ‘नेपाली पात्रो’ र राष्ट्रिय पञ्चाङ्ग बीच सहकार्यका लागि सम्झौता भएको छ ।
तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकाससँगै एण्ड्रोइड तथा आइफोनजस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।
“झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु । पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो । शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ,” नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए ।
तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान-प्रदानको बहाना मिलेको बताए ।
