
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग परिसंघले आयोजना गर्न लागेको ‘महिला नेतृत्व शिखर सम्मेलन २०२३’ को तयारी पूरा भएको छ । सोमबार परिसंघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शिखर सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो ।
उक्त सम्मेलन चैत ११ र १२ गते होटल सोल्टीमा हुने बताइएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्यले महिला सम्मेलन आयोजना गर्न लागिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । यो सम्मेलनले महिलाको नेतृत्व क्षमतामा सहयोग पुग्ने पनि उनले बताए ।
सम्मेलनमा नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै नौवटा प्यानलमा डिस्कसन हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् ।
उक्त सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स्, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको बताइएको छ । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुईजना महिलालाई सम्मान गरिने बताइएको छ ।

त्यसैगरी, सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका लागि ३० महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनी पनि गरिने बताइएको छ । दुईदिने महिला नेतृत्व शिखर सम्मेलनमको निष्कर्ष तथा सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने पनि बताइएको छ ।
सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रतिनिधिसभाकी सांसद सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीसहितको सहभागिता रहने बताइएको छ ।