आदरणीय दुर्गा बराल दाइ,
नमस्ते ।
तपाईंलाई नसम्झने छुट मलाई छँदै छैन । मेरो कार्यकक्षमा दुईथरी फ्रेम झुन्डिएका छन् । एउटामा कविवर माधवप्रसाद घिमिरे हाँसेको तस्बिर छ । अर्कोमा तपाईंले बनाएको कार्टुन । यी दुवै फ्रेम मैले फरक–फरक प्रदर्शनीमा तपाईंहरूको सम्मानमा किनेको हुँ । करिब दुई दशकअघि तपाईंको एकल कार्टुन प्रदर्शनीमा मैले एउटा कार्टुन किनेँ । मन त अरू पनि किन्ने थियो । सबै एक से एक उत्कृष्ट कार्टुन प्रायः बिक्री भइसकेका थिए ।
तीन दशकअघिसम्म म टाइम्स अफ इन्डियाका आर के लक्ष्मणका कार्टुनबाट प्रभावित थिएँ । म कान्तिपुरमा कार्टुन बनाउँथेँ । लक्ष्मणका थुप्रै किताब थिए, मसँग । त्यतिखेर मेरा कार्टुनमा लक्ष्मणकै छनक आउँथे । सन् १९९२ को जुलाईमा पहिलोपटक एक साप्ताहिकमा तपाईंको कार्टुन देखेँ । त्यतिखेर नेपालमा थाई एयरवेजको जेट विमान हराएको थियो । खोजीकार्य हौवाको थियो । फेला परेको थिएन । तपाईंको कार्टुनमा खोज्ने टोलीले फर्सी फेला पारेर ल्याएको थियो । कार्टुनका पात्रका हाउभाउदेखि क्याप्सन देखेर म हाँसे, खुब घत लाग्यो ।
कार्टुन यस्तो पो हुनु – मौलिक, समसामयिक र तिखो व्यंग्य अनि सभ्य । अनि, मैले लक्ष्मणका किताब थन्क्याएँ । तपाईंका कार्टुन खोज्न थालेँ । केहीपछि त तपाईं पनि कान्तिपुरमै आउनुभयो । मेरो खुसीको सिमानै रहेन । भित्रभित्र डर र ईष्र्या पनि थियो, उही पत्रिकामा तपाईंका ‘हेभी’ कार्टुनका अगाडि मेरा सिर्जना बिलाउने भए भनेर । म दैनिक बनाउँथेँ । तपाईंले साप्ताहिक रूपमा गर्ने भएपछि अलिक हलुका पनि भयो । तर, खुसी र ईष्र्यामा खुसीले जितेको थियो । अनि, मेरो लक्ष्य नै भयो – तपाईंले भन्दा ‘खतरा’ कार्टुन बनाउने । तपाईंलाई पछ्याउँदा पछ्याउँदै आज तीन दशक बितेछ । अझै पछ्याउँदै छु । भेट्नै नसकिने तपाईंलाई त, भलै आज तपाईंले आठ दशक पार गरे पनि ।
तपाईंका कार्टुन देख्नेबित्तिकै म आफैँ फतफताउन थाल्छु, यो कुरा मेरो दिमागमा किन आएन भनेर । तपाईंमा व्यंग्यात्मक चेत मात्र नभई रङसँग खेल्ने कला देखेर पनि ईष्र्या हुन्छ भन्या ! उतिखेर तपाईंले कार्टुन बनाउँदा म पछाडि उभिएर हेरिरहन्थेँ । पहिले मधुरो पेन्सिलले कोर्नुहुन्थ्यो, त्यसमाथि कालो वाटरप्रुफ मसीमा ब्रस चोप्दै कोर्ने, अनि इरेजरले पेन्सिलको डोब मेट्ने । अनि, एउटा ब्रस समातेर कलर प्यालेटमा रङ घोल्दै कार्टुन तयार पार्नुहुन्थ्यो । छेउमा एउटा ग्लासमा पानी हुन्थ्यो, ब्रस धुने र वाटरकलर घोल्ने । त्यो पानी कालो भइसकेको हुन्थ्यो । तर पनि त्यसैमा ब्रस चोप्दै रंगीन कार्टुन उतार्नुहुन्थ्यो, खै कसरी कसरी । मैले लामै समय यो देख्ने अवसर पाउँदा पनि नक्कल गर्नै सकिनँ । मन त थियो, तर चित्रकलाको स्ट्रोकमा आ–आफ्नै सीप र शैली हुनेरहेछ भन्ने ज्ञानचाहिँ पाएँ ।
अर्को खुसीको विषयचैँ तपाईंको व्यंग्यकारिताको नेतृत्वमा मैले पनि नेपालको परिवर्तनमा केही कोर्ने मौका पाएँ । हाम्रा ती सिर्जनाले इतिहास बोकी रहनेछन् । कसैलाई मन पर्ला, कसैलाई नपर्ला, तर अमर रहनेछन् । तपाईंबाट सिकेको तर उत्तीर्ण सर्टिफिकेट नपाएको विषय प्रशस्त छन् मसँग –
तपाईंका वाटर र आयल पेन्टिङमा गहिरो आयाम भेट्छु म । ती उज्याला हुन्छन् । तिनमा ज्वलन्त पर्स्पेक्टिभ रेसियो पाउँछु म । समयकालका रङ पर्फेक्ट हुन्छन् । तपाईंका हस्तरेखाको म अग्रपंक्तिको प्रशंसक हुँ । कान्तिपुरमा मेरो ‘मेरो नेपाल’ शीर्षकको तस्बिर तथा कोलमका टाइटल तपाईंको हस्तरेखामा छन् ।
कुनै पनि बेला हाँस्ने/हँसाउने मिजासको पोख्त प्रखर चित्रकार तपाईंमा व्यंग्यचेत भरपुर पाउँछु म । तपाईं बाहिर हेर्दा सरल, नपत्याउँदो तर भित्रभित्रै कार्टुनका विषय ज्वालामुखीझैँ विस्फोट भइरहेका हुन्छन्, तपाईंमा । तब न तपाईं नेपालकै उत्कृष्ट कार्नुनिस्ट हुनुहुन्छ ।
तपाईं न अप्ठ्यारोमा आत्तिनुहुन्छ न सफलताले नै मात्तिनुहुन्छ । शान्त स्वभाव तपाईंको कलामा पनि झल्किन्छ । तपाईंका कार्टुनले जोसुकैलाई भित्तामा पुर्याउँछ, तर शालीन पाराले । पपुलारिटीका लागि भीडलाई मन पर्ने रचना हुँदैनन्, तपाईंका । भीड नै स्तब्ध हुने फरक विचार तपाईंका कलाको माध्यमबाट हाम्रा मानसपटलमा उत्रन्छन् । तब न तपाईंका कार्टुनले बहुदलीय संसद्मा समेत बहस निम्त्याउँछ । राजतन्त्रमा गृह प्रशासन पनि चल्मलाउँछ ।
शान्त स्वभावको धनी तपाईंको स्वर कहिल्यै चर्को पाइनँ, मैले । हामी दुवै अलि कम बोल्ने र सुन्ने भएर त नहोला नै । तर, जस्तोसुकै अवस्था या विषय हुन्, तपाईंमा एकनासको नरमपन छ । त्यो तपाईंका कलामा झल्किन्छ र मन्तव्यमा पनि ।
तपाईं आफ्नो कला पेसाप्रति समर्पित हुनुहुन्छ । एकचित्त भई अनेकन् उतारचढावबीच ६–७ दशकसम्म कलाकारितामै बिताउनु मामुली समर्पण होइन । पेसाको प्रारम्भिककालमा बेलाबखत आयआर्जन/तलब सुविधा नपाए पनि कलाकारितालाई छोड्नु भएन तपाईंले । अनि, सम्मान र प्रतिष्ठित पुरस्कारको हकदार तपाईं एक मात्र नभएर उत्ताउले म हुने त !
८० वर्षको उमेरमा पनि तपाईंको कपाल उत्तिकै बाक्लो छ । मेरो त चालिसमै झरेका हुन् । मेरा एक अन्वेषक चिकित्सक मित्र भन्थे, ‘कुण्ठाले पनि कपाल झार्छ ।’ अर्थात्, तपाईं कुण्ठा पालेर बस्नु हुन्न ।
आज पनि तपाईंको सक्रियता देखेर ढुक्क लाग्छ – दिमाग र हात चलुन्जेल कसैको सहाराको आवश्यकता पर्दैन, मलाई पनि । तपाईंलाई पछ्याउन्जेल मेरा कार्टुन पनि चलिरहलान् । कला अमर हुन्छन् । नो रिटायरमेन्ट एट अल ।
अनेकन् विषय छोडेर हामी दुईमा एक समानता छ – आजको आफ्नै सिर्जना भोलि आफ्नै लागि च्यालेन्ज हुन्छ, हामीलाई । र, दैनिकी यसैगरी बित्छ । अहिलेको लाइफस्टाइल, प्रदूषण र खाद्यपदार्थमा मिलावटको जगजगी हेर्दा लाग्छ, म तपाईंजत्तिको ८० वर्षसम्म सक्रिय त हूँला नहूँला पछ्याउनचैँ छोड्दिनँ है दाइ !
दाइ,
आज ८० वर्ष पूरा हुनुभएको उपलक्ष्यमा पोखराले ‘वात्स्यायन’को सम्मानमा रथारोहण गर्दै छ । ‘वात्स्यायन’ सम्मानित हुँदा तपाईं पनि हर्षविभोर हुनुहुन्छ होला । मलाई भने ‘काग’ भई रथको अगाडि बस्ने मन छ । ‘वात्स्यायन’को सम्मान यस विधाका हामी सबैको ‘सम्मानपत्र’ हो । औधी खुसी छु । भेटमा यो खुसी तपाईंसँग साट्छु । पोखरेलीलाई हार्दिक धन्यवाद । र, आठ दशक पार गर्नुभएको उपलक्ष्यमा हार्दिक शुभकामना । ‘ह्याप्पी बर्थडे’ दाइ !
तपाईंको
राजेश के.सी. ‘फलानो’