
काठमाडौं । साहित्यिक पत्रकार संघले चारजना पुस्तक सम्पादक (कपी एडिटर)हरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ । स्वर्ण वार्षिकोत्सवको अवसर पारेर संघले विभिन्न कृतिका सम्पादकहरूलाई पुरस्कृत गरेको हो ।
तीन दर्जनबढी साहित्यिक कृति सम्पादन गरिसकेका सर्जक प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरिएको छ । त्यस्तै, लामो समयदेखि कृति सम्पादनमा सक्रिय रहँदै आएका विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरियो ।
त्यसैगरी दुई दशकदेखि कृति सम्पादन गर्दै आएका पारसप्रकाश नेपाललाई ११ हजार १०० नगद राशिसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको छ भने सम्पादक रोयल आचार्यलाई नगद राशि पाँच हजार ५०० रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन् ।
सम्मानित तथा पुरस्कृत सर्जकहरूलाई नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले पुरस्कार समर्पण गरेका थिए ।