site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति निर्वाचन : सातै प्रदेशमा मतदान गर्न कानुन बाधक, यस्तो छ मतभार

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थितिमा संघीय संसद् भवन परिसरमा कार्यालयको स्थापना गरिएको हो ।

निर्वाचन आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनका लागि आगामी बुधबार (फागुन १० गते) मतदाता नामावली प्रकाशन हुने कार्यतालिका छ । त्यस्तै, फागुन ११ गतेसम्म नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिनेछ । 

फागुन १२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । फागुन १३ गते उमेदवारको मनोनयन हुनेछ । फागुन १६ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । 

राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । 

८८४ मतदाता, ८८२ ले मतदान गर्न पाउने 
राष्ट्रपति तथा उपराष्टपति निर्वाचनका मतदाता प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद हुन् । जसअनुसार निर्वाचनमा संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ जना मतदाता हुन् ।

तर, प्रतिनिधि सभामा मनाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पद खारेज भएपछि उक्त स्थान रिक्त छ ।

त्यस्तै, कैलाली–२ बाट निर्वाचित अरूण कुमार चौधरी राष्ट्रपतिबाट आम माफी पाएर कैदमुक्त भइसकेका छन् । उनी कैदमुक्त भए पनि संसद् सचिवालयले उनको निलम्बन फुकुवा भएको जानकारी आयोगमा गराएको छैन । सचिवालयले जानकारी गराएपछि वा उनले मतदाता नामवालीमा समावेश गराउन फागुन १० गते दाबी गरे उनले मतदान गर्न पाउनेछन् । 

“अहिलेसम्म उहाँको निलम्बन फुकुवा भएको जानकारी आयोगमा आएको छैन । संसद् सचिवालयले हामीले पहिले पठाएको पत्रमा उहाँ निलम्बनमा भएको उल्लेख छ । निलम्बन फुकुवा भएको जानकारी गराएपनि मतदाता नामावलीमा नाम समावेश गर्छौं,” प्रमुख आयुक्त थपलियाले बाह्रखरीसँग भने, “नभए १० गते मतदाता नामावलीमा नाम समावेश गरी पाउँ भनेर दाबी विरोध जनाए नाम समावेश हुन्छ ।” 

यसरी हेर्दा आयोगको सूचीमा ८८१ जनाको नाम रहेपनि चौधरीको नाम समावेश भएमा ८८२ जनाले मतदान गर्न पाउनेछन् ।

पुरानै मतभार कायम, यस्तो छ मतभार 
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा कुल जनसंख्यालाई आधार मानेर मतभार विभाजन गरिन्छ । यसपटकको निर्वाचनमा पनि पुरानै मतभार कायम रहनेछ । ०७८ मा नेपालको जनसंख्या गणना भइसकेपनि त्यसको प्रारम्भिक विवरण मात्रै सार्वजनिक भएको छ । नयाँ गणनाको अन्तिम विवरण र त्यसको प्रतिवेदन प्राप्त नभएकाले २०६८ सालकै जनसंख्याको मतभार कायम रहने प्रमुख आयुक्त थपलियाले जानकारी दिए । 

“निर्वाचनसम्बन्धी कानुनमा लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको छ,” थपलियाले भने, “निर्वाचन आयोगलाई आधिकारिक रूपमा जनगणनाको नतिजा प्राप्त भइनसकेकाले ०६८ सालको मतगणनाको आधारमा रहेको मतभार नै कायम हुनेछ ।”

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सांसदको मतभार ४८ रहेको छ । यसरी हेर्दा संघीय संसद्को सांसद संख्या ३३४ लाई ७९ ले हिसाब गर्दा २,६८६ मतभार हुन आउँछ । त्यस्तै, प्रदेश सभाका ५५० सदस्यलाई ४८ ले गुणान गर्दा २६ हजार ४०० हुन आउँछ । यसरी हेर्दा राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ७८६ हुन्छ । 

तर, संघीय संसद्का दुईजनाले मतदान गर्न नपाउँदा ५२ हजार ६२८ मतभार हुने देखिन्छ । 

एकै चरणमा राष्ट्रपति छानिने विश्वास, नभए २६ गते पुन: मतदान 
निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले एकै चरणमा राष्ट्रपति चुनिने विश्वास व्यक्त गरे । मतगणना सकिएलगत्तै अपराह्न ४ बजेदेखि मत गणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थपलियाले बताए । 

तर, कुनै पनि उमेदवारले मतदाताको संख्याको बहुमत ल्याउन नसकेमा फेरि मतदान २६ गते गरिनेछ । 

“हामीलाई विश्वास छ, एउटै मतदान कार्यले यो सम्पन्न हुनेछ । यद्यपि, मतदाताको बहुमत संख्यामा कुनै उमेदवारले मत प्राप्त गर्न सक्नुभएन भने २७ गतेदेखि उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रारम्भ गर्नुपर्ने भएकाले २६ नै गते सम्पन्न गर्नुपर्ने प्राविधिक र व्यवहारिक स्थिति छ,” उनले भने । 

कानुनले छेक्दा केन्द्रमै मतदान 
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि सातै प्रदेशबाट मतदान गर्ने गरी तयारी अघि बढाएको थियो । तर, मतगणनाका लागि केन्द्रमा नै मतपेटिका ल्याउनुपर्ने कानुनी बाध्यताका कारण केन्द्रमै मतदान गरिने उनको भनाइ छ । नयाँ कानुन बन्दा त्यसलाई परिमार्जन गरिने विश्वास उनको छ ।

“प्रदेशमा मतदान चाहिँ गर्न सकिन्छ । तर, सबै मतपेटिका बोकेर केन्द्रमा नै ल्याउनुपर्ने जटिलता कानुनले सिर्जना गरेकाले हामीले सातै प्रदेशमा मतदान गरौँ भन्ने आयोगको लक्ष्य पूरा हुन सकेन,” उनले भने, “कानुनमा संशोधन गर्नुपर्ने देखिएको छ । हामी नयाँ निर्वाचन कानुनको तयारीमा छौँ । सम्भवतः अर्को निर्वाचन प्रदेशमै मतदान र मतगणना एकीकृत गरेर निर्वाचन अधिकृतको कार्यलयबाट घोषणा हुनेगरी यसको व्यवस्था गर्नुपर्छ ।”

ऐनमा राष्ट्रपति निर्वाचनका लागि एकजना अधिकृत हुने र अधिकृतको प्रत्यक्ष निगरानीमा मतगणना कार्य सम्भव नभएकाले प्रदेशबाट मतदान गर्न सकिने व्यवस्था गर्न नसकिएको थपलियाले बताए । 

राष्ट्रपतिको उमेदवार हुन आवश्यक योग्यता
संविधानको धारा ६४ अनुसार संघीय संसद्को सदस्य हुन योग्यता भएको हुनुपर्नेछ । कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उमेदवार हुन सक्नेछन् । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ११ बमोजिम वंशजका आधारमा नेपाली नागरिक हुनुपर्नेछ ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने व्यवस्था गरिएको छ ।कुनै लाभको पदमा बहाल रहेको व्यक्ति उमेदवार बन्न अयोग्य हुने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसैले राष्ट्रपति चुनिएपछि उपराष्ट्रपतिको चुनाव गरिँदै आएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro