
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् ।
सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसद्मा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताए । उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए ।
उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए ।
“सही कुरा रोक्नको लागि चाहिँ संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने, यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन । आउँदैन । आउनु हुँदैन,” उनले भने, “जहाँसम्म गोप्य राख्दा त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दा फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र ? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ, यसलाई कुनै खास समयसम्म भन्ने ठानेँ तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।”

उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिँदै उनले पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने भनाइ राखे । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए ।
सभामुख घिमिरेले सहिद दिवसको अवसरमा सहिदप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरे । उनले सहिदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।