
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैं राख्न चाहेको खुलाएका छन् ।
आइतबार बेलुका निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग पनि कुराकानी गरेका दाहालले आफू निकटका नेताहरुसँग अहिले गृह मन्त्रालय आफैंसँग राख्ने बताएका थिए ।
“प्रधानमन्त्रीज्यूले गृह मन्त्रालय आफैं राख्ने कुरा गर्नुभएको छ, सत्तारुढ दलका अरु नेताहरुसँग पनि कुराकानी होला,” उनी निकट एक नेताले भने ।
अमेरिकी नागरिकता लिँदा नेपालको नागरिकता नत्यागेको र पछि सोही नागरिकता प्रयोग गरेर सांसद बनेपछि लामिछानेलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेको थियो ।
त्यसलगत्तै प्रधानमन्त्रीकहाँ पुगेर लामिछानेले राजीनामा दिएका थिए ।
लामिछानेले राजीनामा दिएपछि गृह मन्त्रालय खाली रहेको छ । यसअघि सत्ता गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई नै गृह मन्त्रालय दिन प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतले जानकारी दिएको छ ।
तर प्रधानमन्त्री दाहालले अहिले गृह मन्त्रालय आफैँसँग राख्ने बताएका थिए ।