यो सरकार चल्दैन, टिक्दैन पनि । भन्दा तीतो टिप्पणी र सरकारप्रति शून्य विश्वासजस्तो सुनिन्छ तर सत्य भने यही हो ।
कि त प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)करण हुनुपर्यो वा राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलीन । तब चल्ला । अहिले त प्रधानमन्त्री भन्नुमात्रै दाहाल आफैँ दलनमा परेका देखिन्छन् ।
‘विलयन र करण’ असम्भव छैन । प्रधानमन्त्री तथा नेकपा (माओवादी)का आजीवन अध्यक्ष दाहालको सत्तालिप्साले उनी कहाँदेखि कहाँसम्म आइपुगे ? यो पुस्ताले साक्षात्कार गरेकै घटना विवरण हो । अर्थात्, प्रधानमन्त्रीमा उनको निरन्तरता प्रत्याभूत हुने हो भने दाहाल जेसुकै पनि हुनसक्छन् । देखियो यस्तै ।
दाहालको अभिष्ट सत्ता, सरकारमात्रै देखियो । यसका अगाडि सिद्धान्त, नैतिकता र मान्यताको कुनै मूल्य छैन । छ त सत्ता आशक्ति । कति कठोर टिप्पणी वा दाहालको मूल्यांकन ? तर, यसभन्दा फरक उनी देखिए त ? वा देखिएका छन् त ? खासगरी कम्युनिस्हरु हुन्छन् नै यस्तै ।
मौका भने प्रधानमन्त्री दाहाललाई छ । अहिलेको ‘फोहरी’ सरकारको नेता हुन उनी जानु हुन्थेन । गइसकेपछि अब टिक्ने र केही गरी देखाउने अन्तिम मौका दाहाललाई छ । यसको लागि उनले केही दृढ निर्णय लिनुपर्छ र एमाले अध्यक्ष खड्गप्रसाद ओलीको चंगुलबाट उनी फुत्कने हिम्मत गर्नुपर्छ । यस्तो अवसर पनि छ । यो अवसर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुराइदिएका छन् ।
‘फोहोरी’ सरकार ? सैद्धान्तिक रुपले फोहरी । प्रधानमन्त्री दाहाल कुनै मन्त्रीले संघीयता र संविधान विरुद्ध बोल्नु स्पष्टीकरणको विषय हुनसक्ने धम्की दिन्छन् । त्यसभन्दा चर्को स्वरमा उनकै मन्त्रिपरिषद्मा सहभागी दलका मान्छे दाहाललाई दुत्कार्छन् र सत्ताबाटै फालिदिने हुँकार फुक्छन् । यो कस्तो नौटंकी ? दाहालकै शब्दमा ‘नौटंकी’ नै हो ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारको संरचना र सैद्धान्तिक धरातलबारे अलिकति सोचेर हेरे भने कस्तो आकृति अनुभूत गर्दा होलान् ? वा गरेका होलान् ? के यस्तै सरकारी बनोटले देश हाँक्न सकिन्छ ? अनि संविधान जोगाउन ? दाहालको सत्तालिप्सामा एमाले सम्प्रभु ओलीले भिडाइदिएको सैद्धान्तिक फोहरी बनोट दाहालको बचेखुचेको राजनीतिक जीवन नै सर्वनाशको कारक हुनसक्छ ।
एमाले अध्यक्ष ओली नेतृत्वको सप्तरंगी गठबन्धन सरकारको राजनीतिक, आर्थिक र सामाजिक ध्येय के हो ? भन्नसक्छ कसैले ? नेपाली राजनीतिमा यति घातक, अप्राकृतिक र बेमेलको सरकार पहिलोपटक बनेको हो । प्रधानमन्त्रीलाई नै सैद्धान्तिक र व्यावहारिक चुनौती दिने मन्त्री, मन्त्रिपरिषद् ? भएन त ‘अनहोनी’ ?
प्रधानमन्त्री दाहाललाई कांग्रेससँग साथै हिँड्दा सहज छ । यतिबेला त्यो सन्देश कांग्रेसले दिएको पनि छ । कांग्रेस सरकारमा जानु, नजानु वा उसले राष्ट्रपति पाउनु, नपाउनुमा यी पंक्तिमा कुनै सरोकार छैन । बरु कांग्रेसले यस्ता कुनै पनि अवसर अहिले नपाए सशक्त प्रतिपक्ष बन्नसक्थ्यो कि भन्ने लाग्छ । यो सरकार नचल्ने त निश्चितै छ । यही अवसर कांग्रेसले प्रतिपक्षमै सुन्दर पार्नसक्छ ।
प्रधानमन्त्री दाहाललाई त्यो सहज अवसर जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सँग मोर्चाबन्दी गरेर सम्भव छ । कांग्रेसले त आफ्नो पहिचान नै विवादास्पद बनाएर दाहाललाई समर्थन दिएकै छ । तब बन्छ चार दलीय संरचना । लोकतान्त्रिक समाजवादी पार्टी पनि सँगै छ ।
यस्तो चारदलीय सरकारी संरचना बनाइएमा अहिलेको भन्दा भिन्न, मूलभूत विषयमा एकता हुनसक्ने देखिन्छ । यिनीहरुको आआफ्ना माग होलान् तर लोकतन्त्र, गणतन्त्र, संघीयता अर्थात् अहिलेको संविधानप्रति यिनीहरुको समवेत समर्थन हुन्छ । प्रधानमन्त्री दाहाललाई स्पष्टीकरण सोध्ने टन्टै सकिन्छ ।
लोसपासहितको उल्लिखित संरचना बनाउने साहस प्रधानमन्त्री दाहालले गर्नसके अहिलेजस्तो सैद्धान्तिक विमतिको दलदलमा उनी भासिनु पर्नेछैन । सिद्धान्त वा मान्यताको निकटताले व्यावहारिक तालमेल पनि हुनसक्छ । तबमात्र बालुवाटार नै निर्णायक बन्नसक्छ । हुटहुटीको केही अंश भने पनि पूरा गर्न सकिएला । कि पुष्पकमल दाहाल ‘नरहे बाँस नबजे बाँसुरीको धुनमा, आफू मरे पछि जे सुकै होस्’ चिन्तनमा छन् ?
ओली सिद्ध्याउन उद्यत छन् । कांग्रेस पुनरुद्धारको लागि ‘रेडी’ छ । यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बुझेको हुनुपर्छ । राष्ट्रपतिको निर्वाचनले यस्तो बाटो तय हुनेछ । एमाले अध्यक्ष ओली त सके आफ्नै अर्को दास वा विद्या भण्डारीकै निरन्तरता चाहन्छन् र चुनाव धकेल्न खोज्दैछन् ।
प्रधानमन्त्री दाहालले कांग्रेससँग हिड्न खोजे भने ओली एमालेसँग मुख्य दुई बाटो हुनेछन् । सरकारी गठबन्धन तोड्ने वा बचाउने । खाइपाइ आएको पद वा गठबन्धन बचाएर कांग्रेसलाई चुपचाप राष्ट्रपति दिने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने । एमालेले लिने बाटो यही हो ।
एमालेले समर्थन फिर्ता लिए प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ला । त्यतिबेला हिजै मत दिएको कांग्रेसले पुनः समर्थन दिएर दाहालको हुटहुटीमा सहायक हुनसक्छ । यस्तोबेला, यसअघिजस्तै एमाले अध्यक्ष ओलीले कांग्रेससामु अर्को पासा फेक्न सक्छन् । दाहाललाई यो पनि डर छ । आश्वस्त चाहिँ कांग्रेस सभापतिले नै पार्नुपर्छ ।
बुझी सकियो–यस्तो सरकार चल्दैन । टिक्न सक्दैन । अलिकति पनि सुझबुझ छ भने प्रधानमन्त्री दाहालले कांग्रेस, जसपा, एकीकृत समाजवादी र लोसपा आदिलाई साथ लिएर चल्ने हिम्मत गर्नुपर्छ । तब उनको हुटहुटीमा मल्हमपट्टी लाग्न सक्छ । अन्यथा माओवादी केन्द्र र दाहालको ओराला यात्रामा थप पहिरो जाने निश्चित छ ।
दाहाल दलनमुक्त हुने उपाय यही हो । केही समय छ प्रयोगको हिम्मत गर्न सके ।