
काठमाडौं । छैटौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैतको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।
महोत्सवमा ५५ देशका ५ सयभन्दा बढी फिल्मबाट छनोट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिस्पर्धा हुनेछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले विगतमा झैं महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मको ७ विधामा १४ पुरस्कार प्रदान गरिने जानकारी दिए । यस पटकबाट निफका प्रतिस्पर्धी फिल्मलाई विभिन्न सिनेमा घरहरूमा प्रदर्शन गरिने पनि पाठकले बताए ।
पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैंमा ठूलो उपलब्धी भएको बताए । यसले नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउने उनको विश्वास छ ।
महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । महोत्सव अवधिमा अनुभवी र लोकप्रिय फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।