site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
नेपालले लिनुपर्ने बाटो 

सन् १७७५ तिर एसियाले कुल विश्वको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको थियो । विश्वको कुल उत्पादनको दुईतिहाइ चीन र भारतमात्रैले गर्थे । त्यसबखत युरोपको अर्थतन्त्र निकै कमजोर थियो र अमेरिकाको अर्थतन्त्र पनि त्यति बलियो थिएन । त्यस समयमा एसिया विश्वको केन्द्रमा थियो । तर, सन् १७५० देखि सन् १८५० को बीचमा युरोपेलीहरूले कति द्रूत गतिमा छलाङ मारे भने त्यसपछि विश्व अर्थतन्त्रको साँचो एसियाबाट युरोपको हातमा पुग्यो र युरोपको राज चल्न थाल्यो । 

सन् १९५० तिर पुग्दा युरोप र अमेरिकाले विश्वको कुल उत्पादनको दुईतिहाइ हिस्सा ओगटेका थिए भने चीनको योगदान जम्मा ५ प्रतिशतमात्र रहन पुग्यो । सन् १७५० तिरको अर्थतन्त्र नियाल्ने हो भने त्यसबखतको नेपाल पनि बलियो नै रहेको देखिन्छ । नेपालको अर्थतन्त्र राणाकालीन समयसम्म पनि बलियो रहेको र राणाकालका शासकहरूले विभिन्न देशहरूलाई आर्थिक, सैनिक तथा खाद्यान्न सहयोग गर्नेगरेको इतिहास छ ।

कसरी ढल्कियो त एसिया केन्द्र भएको अर्थतन्त्र छोटो समयमै युरोपतिर ? वर्तमान अर्थतन्त्रको बलियो स्तम्भको रुपमा अमेरिका स्थापित भइसक्दा युरोपले मारेको फड्को पनि अतुलनीय नै छ । अहिले चीन, भारतलगायत ‘एसियन टाइगर’ भनेर चिनिने सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया र ताइवानजस्ता एसियाली राष्ट्रको तीव्र आर्थिक उन्नतिले फेरि विश्व अर्थतन्त्रको केन्द्र पुनः एसिया हुन सक्ने देखिन्छ ।

एसियाले छलाङ मार्दै गर्दा हात्ती (भारत) र ड्रयागन (चीन) बीचको तरुल (नेपाल) ले भने किन आफ्नो गति लिन सकिरहेको छैन ? अबको नेपालले समृद्धिको छलाङ मार्न के सुरु गर्नु जरुरी छ ? यस्ता प्रश्नहरूको जवाफ खोजेर सोहीअनुरुपको कार्यशैलीसहितको नेतृत्व तथा प्रणाली अपनाएर नेपाल अघि बढ्न आवश्यक हुन्छ ।

अबको बाटो : बलियो अर्थतन्त्र

कुनै पनि देश समृद्ध बन्न पहिला आफू बलियो हुनु आवश्यक हुन्छ । हामी आफ्नो कमजोरीमा नभएर शक्तिमा केन्द्रित भएर शक्तिशाली बन्नुपर्ने देखिन्छ । हाम्रो भूराजनीतिक अवस्था त हामी बदल्न सक्दैनौ तर त्यसको फाइदा भने लिन सक्छौँ । पहिलो, हामीले हाम्रो सबल पक्षको पहिचान गर्नु आवश्यक छ । त्यो जलविद्युत् हुनसक्छ, पर्यटन हुनसक्छ, आधुनिक कृषि प्रणाली हुनसक्छ, औद्योगिक क्रान्ति हुनसक्छ वा अन्य कुनै । यी सबै क्षेत्रमा आवश्यकताअनुसारको रणनीति बनाएर लगानी गर्नुपर्छ । उदाहरणका लागि हाम्रा ६० लाख युवा देशबाहिर छन् । तिनलाई आधुनिक कृषितर्फ आकर्षण गर्न सकिन्छ । त्यसका निमित्त पहिला राज्यले उचित परियोजना तयार गर्न जरूरी छ । 

क्युबाली क्रान्तिमा जब खाद्यसंकट हुन थाल्यो तब त्यहाँको कृषि मन्त्रालयले मन्त्रालय अघिको जग्गामा नै खेती सुरू गरी जहाँ जे सम्भव छ त्यही रोप्न र कुनै पनि जग्गा बाँझो नराख्न आह्वान गरेको थियो । त्यसबाट क्युबाले कृषिक्रान्तिको पाठ सिक्यो । अनि कृषिमार्फत् आर्थिक फड्को पनि मार््यो । त्यस्तै नेपालमा पनि आवश्यक नीति बनाई आधुनिक कृषिलाई देशको मेरुदण्ड बनाउनुपर्ने देखिन्छ । 

हामी प्रविधिमा निकैपछि छौँ । हामीले प्रविधिको भरपूर प्रयोग गर्नु जरुरी छ । नेदरल्यान्डमा १० हजार हेक्टरमा ग्रीनहाउस (ठूलो अपार्टमेन्ट मोडेलको) निर्माण गरी त्यहाँ खेती गरिँदो रहेछ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरी कुन बिरुवालाई कति मात्रामा के के तत्त्व चाहिने हो ? कति प्रकाश र मलजल चाहिने हो ? फल राम्रो÷नराम्रो के कस्तो लाग्यो भनेर निगरानी गरिँदो रहेछ । 

यसरी नेदरल्यान्डले कृत्रिम स्रोतको उपयोग गरेर कृषिजन्य उत्पादन निर्यातमा युरोपको दोस्रो हिस्सा ओगटेको रहेछ । इच्छा शक्ति भएमा र राज्यले सही योजना बनाएमा आधुनिक कृषि प्रणालीलाई आर्थिक शक्तिमा रुपान्तरण गर्न असम्भव छैन भन्ने कुराको उदाहरण नेदरल्यान्डलगायतका देशहरू बनिसकेका छन् ।

अर्काे कुरा नेपाल जलविद्युत्को अधिक सम्भावना बोकेको राष्ट्र हो । जलविद्युत्को विकास तीव्ररुपमा गरी सम्पूर्ण नेपालमा वितरण गर्दै बचेको बिजुली बेच्नसक्नुपर्छ । जलविद्युत्को विकाससँगै प्रविधिको विकास गर्दै, नेपाललाई डिजिटल नेपालमा रूपान्तरण गरेमा कृषि, शिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक क्षेत्रमा पनि आमूल परिवर्तन आउँछ र एक किसिमको विकासको ‘चेन रियाक्सन’ हुन पुग्छ । 

पर्यटनको निम्ति नेपाल एउटा प्रकृतिप्रदत्त स्वर्ग हो । यसलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ । हामीले हिन्दुस्थानदेखि नै करोडौं हिन्दुलाई धार्मिक पर्यटककोरूपमा भित्र्याएर धेरै लाभ लिन सकिन्छ । यस्ता असीमित सम्भावनाको खोजी गरी आर्थिक शक्तिमा बदल्न सके समृद्ध अवस्थामा पुग्न सकिन्छ ।

बलिया संस्था अनि शून्य भ्रष्टाचार

देश समृद्ध बन्न आर्थिकरुपमा बलियो भएरमात्र हुँदैन । त्यससँगै देशका संस्थाहरू पनि बलिया हुनु आवश्यक हुन्छ ।

बलिया संस्थाविना विकसित देशको परिकल्पना सम्भव पनि छैन । संस्थाहरू बलिया बनाउन राज्य संचालनमा रहेको नेतृत्वले राज्यव्यवस्थामा इमानदारी, पारदर्शिता, पद्धति र उत्कृष्टतालाई प्राथमिकता दिँदै भ्र्रष्टाचार न्यूनीकरण गरी जनविश्वास आर्जनुपर्छ । 

राजनीतिक हस्तक्षेप मुक्त अदालत, अख्तियार, संवैधानिक निकाय, विश्वविद्यालय र शैक्षिक क्षेत्र, ठूलाठूला स्वास्थ्य संस्था, प्रहरी प्रशासन, आयोगहरू इत्यादिले मात्र जनताका वास्तविक समस्यालाई सम्बोधन गर्न सक्छन् । तर, राज्यका ३ महत्त्वपूर्ण अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नै हुनेगरेका भ्रष्टाचार, अनियमितता र लापरबाहीले राज्य सञ्चालनको पद्धति नै धराशायी बन्दै छ । 

समृद्ध मुलुकलाई चिनाउने आधार शिक्षा र स्वास्थ्य क्षेत्र हुन् । कुनै पनि देश शिक्षा र स्वास्थ्य क्षेत्र अब्बल नभई विकसित भएको पाइन्न । त्यस्ता विकसित मुलुकमा भ्रष्टाचार निकै न्यून हुन्छ, राज्य सञ्चालकहरूमा इमानदारी र नैतिकता हुन्छ, राज्य सञ्चालन पद्धतिमा आधारित र पारदर्शी हुन्छ । त्यस्ता मुलुकले कामदार निर्यात नभएर विश्वका विभिन्न देशका दक्ष जनशक्ति आयात गर्छन् । 

विश्वमा आफ्नो जनशक्ति विदेश पठाएर देशमा समृद्धि हासिल गर्ने देश बिरलै होलान् । कमजोर र भ्रष्ट निकाय आफैँमा विसङ्गत प्रणाली र कमसल कार्यनीतिका सूचक हुन् । नेपालको व्यवस्था नीतिलाई नियाल्ने हो भने हामी कुन धरातलमा उभिएका छौँ छर्लङ्ग नै हुन्छ । त्यसैले राज्यलाई प्रतिनिधित्व गर्ने संघसंस्थाबाट दलगत राजनीतिक स्वार्थ निर्मूल गरेर पद्धतिको थालनी गरी योग्यता (मेरिटोक्रेसी)लाई प्राथमिकता दिनु अपरिहार्य हुन्छ ।

विश्वलाई कोरोनाले चुनौती दिइरहँदा विकसित देशको कार्यशैली र नेपालजस्ता विकासोन्मुख देशको कार्यशैली निकै फरक थियो । उनीहरू भ्याक्सिन बनाउन अनुसन्धान गर्दै थिए भने हामी पीपीईमा समेत भ्रष्टाचार गर्दै थियौँ । हामीसँग लाचार हुनुबाहेक केही विकल्प थिएन । यस्तो परिस्थितिमा कोरोनासम्बन्धी कुनै पनि स्वास्थ्य संस्थामा अध्ययन, अनुसन्धान भएनन् । सरकारी अस्पतालको दुर्दशालाई निजी स्वास्थ्य क्षेत्रले टुलुटुलु हेरिरहेको अवस्थामा डा. गोबिन्द केसीले पटकपटक राख्नुभएका मागहरूको सार्थकता झनै बढेको छ । 

कोरोना कालले व्यक्तिलाई शारीरिकरुपमा मात्र थिलथिलो पारेन । बरु हामीसँग कतिसम्मको कमजोर स्वास्थ्य संरचना र व्यवस्थापन प्रणाली छ भन्ने र स्वास्थ्य क्षेत्रको संवेदनशीलताको पनि राम्ररी ज्ञात गराएको छ । हाम्रो स्वास्थ्य क्षेत्र बलियो भइदिएको भए डराइ हाल्नुपर्ने अवस्था हुनेथिएन । 

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक केन्द्र बनेको छ । सामान्य परिवारका छोराछोरीले सरकारी स्कुलबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न निकै मुस्किल छ । गरिहाले पनि निजी स्कुलका विद्यार्र्थीसँग प्रस्तिस्पर्धा गर्नसक्ने अवस्था छैन । विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुनमा उच्च शिक्षा सामान्य परिवारको छोराछोरीले पढ्नसक्ने अवस्था छैन । यी विषयहरू न्यून शुल्कमा सरकारी कलेजमा पढाइ नै हुँदैनन् । चाहिने जति सरकारी कलेजको सङ्ख्या नै छैन । 

काठमाडौंमा यी विषय पढाइ हुने निजी कलेज यत्रतत्र छन् जसको शुल्क छोइ नसक्नु छ ।  दुई वर्षमा १२ कक्षा पास गर्न ५÷६ लाख रुपैयाँ खर्च गर्नुपर्छ जुन अधिकांश नेपालीको औकात बाहिरको कुरा हो । अनि कसरी मध्यम अनि न्यूनवर्गीय परिवारका छोराछोरी डाक्टर, इन्जिनियर, कृषि विज्ञ, वकिललगायतका धेरै पेसामा पुग्न सक्छन् ? यसरी बिचौलियाले गरेको व्यापारलाई नियन्त्रण गरी शिक्षा र स्वास्थ्यमा समान अवसर सबैलाई प्रदान गर्नु राज्यको दायित्व हो ।
राज्यले यी कुराको जवाफदेही उपेक्षा गर्न हुँदैन । यस्ता चुनौतीहरू सरकारी शिक्षा र स्वास्थ्य क्षेत्रका संयन्त्रहरू कमजोर हुनाले वा बिचौलियाले बनाइदिनाले नै सिर्जना भएका हुन् । पारदर्शी र सशक्त संस्थाको निर्माण अनि शून्य भ्रष्टाचार कायम गर्न नेपालले नयाँ उपयुक्त मार्ग खोज्नु आजको आवश्यकता हो ।

अन्त्यमा

जसरी ली क्वान युले सिङ्गापुरलाई बनाए नेपालले त्यही दृढताका साथ अगाडि बढ्नुुपर्ने देखिन्छ । ब्रिटिस साम्राज्यबाट मुक्त भएपछि सन् १९६३ मा सिङ्गापुर मलेसियामा गाभियो । सन् १९६५ मा मलेसियाबाट छुट्टिएपछि लीले सिङ्गापुरका जनताको सुन्दर भविष्यको सपना चकनाचुर भएको बताएका थिए । 

त्यतिबेला सिङ्गापुरसँग न आफ्नै सुरक्षा सेना थियो न राम्रो अर्थतन्त्र नै । न त सिङ्गापुर प्राकृतिक स्रोत र साधनले सम्पन्न नै थियो न त्यहाँका ९० प्रतिशत जनतासँग घर नै थियो । तर, पनि लीको नेतृत्वमा सिङ्गापुरले त्यस्तो दयनीय स्थितिबाट कायापलट फेर्दै विश्व अर्थतन्त्रलाई आकर्षण गर्न सक्यो भने विकासका स्रोत र सम्भावना बोकेको नेपालले किन नसक्ने ? 

अहिले सिङ्गापुर विश्वमा सहज र सुरक्षित तरिकाले लगानी गर्न सकिने देश बनेको छ । धेरै बहुराष्ट्रिय कम्पनी त्यहाँ खुलेका छन् । समुन्द्रलाई पुरेर जमिन बढाइएको छ । मुख्य व्यापारिक केन्द्रको रूपमा विश्वमा छाप पारेको छ । सिङ्गापुरले आफ्नो अवस्थितिको भूराजनीतिक फाइदा उठायो र सम्पन्न्नता हासिल गर्यो ।

तसर्थ विश्वको कुल जनसंख्याको लगभग आधा हिस्सा ओगट्ने दुई ठूला राष्ट्रहरूबीच अवस्थित नेपालले पनि भौगोलिक परिवेशअनुसारको रणनीति अवलम्बन गर्नु अत्यावश्यक छ । दक्षिणतिरका नाकामात्र होइन उत्तरतिरका नाका पनि खोलेर सडक तथा रेलमार्गबाट जोड्न सके सम्भावनाका विविध ढोकाहरू खुल्दै जानेमा कुनै आशंका छैन । 

त्यस्तै नेपालमा पनि नीतिगत जटिलता फुकाउँदै सकेसम्म विदेशी लगानी सुरक्षित गर्ने वातावरण निर्माण गरेर बहुराष्ट्रिय कम्पनीलाई लगानी गर्न प्रोत्साहित गर्न सकिएमा उत्पादित वस्तुको निर्यात बढाएर चीन र भारतमात्र होइन विश्व बजारबाट नै ठूलो नाफा कमाउन सकिनेछ । यसबाट नेपाललाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै फाइदा हुनेछ । 

नेपाल प्रचुर स्रोत र सम्भावनाले भरिपूर्ण राष्ट्र हो । यहाँ कुशल नेतृत्व, असल राजनीतिक पद्धति, चेतना, दक्षता र उत्कृष्टताले युक्त नागरिक भएमा समृद्धिका अनेकौं मूल फुटाउन सकिन्छ । आशा गरौँ, सुनौला दिन उदाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro