site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सँगसँगै प्रश्नैप्रश्न, बेनामे जर्नेल र भैरव कवितावली

सँगसँगै प्रश्नैप्रश्न
(कवितासंग्रह : वियोगी बुढाथोकी)
साहित्यकार वियोगी बुढाथोकीको कविता ‘म, गोपाल अर्थात् गोपालहरू’ले एकताका काव्यिकवृत्तमा तरंग ल्यायो । उनको कवितासंग्रह ‘सँगसँगै प्रश्नैप्रश्न’भित्र छन्, गोपालहरू । जसको एउटा अंशले भन्छ–
विषयान्तरका माहिर खेलाडीमाथि
आरोपपत्रको खात लाग्नु हुन्न्थ्यो, लाग्यो
आरोपपत्रले
पुस महिनाको ठिहीमा न्यानो दिन नसक्नुका कारण
कथनी र करणीमा भेद किन कमरेड ? 
म, गोपाल अर्थात् गोपालहरूसँग सोधिरहेछु ।
(पृष्ठ—४७)

केही समयअघि प्रकाशित यस कृतिमा बुढाथोकी आफ्ना कुरा यसरी लेख्छन्, “जिन्दगीको लामो यात्रा सँगसँगै यात्रारत रहेका साहित्यिक विधाका विविध पाटामध्येका मेरा साहित्यिक सहयात्री हुन् कविता, गजल, मुक्तक र नियात्रा । २०३२ सालबाट नापिएको साहित्यिक यात्राका उपलब्धि हुन् यी ।”

कृतिभित्रको एउटा अंशमा आख्यानकार कृष्ण धरावासी भन्छन्, “३० को दशकका कवि जमातहरूभित्र स्पष्ट पहिचान बोकेको कविका रूपमा वियोगी बुढाथोकीलाई लिनुपर्छ । सचेत र परिवर्तनकामी सोचले भरिएका कवि वियोगीका कविताले नयाँ युगको आह्वान गर्छन् ।”

कवि बुढाथोकी ‘अतिथि’ कवितामा लेख्छन्–
सकेसम्मको इज्जत र प्रतिष्ठाका साथ
देवतातुल्य पाहुनालाई
लोकतान्त्रिक घरमा स्वागत गरिएथ्यो
समयको प्रस्थानसँगै दिनप्रतिदिन खाइमात लागेर
अलोकतान्त्रिक निर्लज्ज व्यवहारमा डुब्दै
घरको नीति, नियम र अनुशासन भत्काउन
पाहुनाले गति छाडेर लागेका कारण 
डर लाग्छ
जतिदिन अरू बस्छ उति नै विषालु सर्पले झैँ डस्छ
(पृष्ठ—१८)

कृतिभित्र २४ थान कवितासँगै ३८ गजल, दुई गीत र ८७ चतुष्पदीय मुक्तकहरू समावेश छन् ।

शब्दार्थ प्रकाशनद्वारा प्रकाशित ९२+४ पृष्ठको कविताकृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।

०००

बेनामे जर्नेल
(कथासंग्रह : डा. राजुबाबु श्रेष्ठ)
डा. राजुबाबु श्रेष्ठ नेपाली कथा आख्यान क्षेत्रमा चर्चित छन् । समर्पित स्रष्टा हुन् । उनका कथा पाठकको रुचिमा पर्दै आएका छन् ।

केही समयअघि प्रकाशित उनको अर्को कथाकृति हो, ‘बेनामे जर्नेल’ । जसमा उनले अनेक किसिमका युद्धहरूले समाजमा बनाएको खाडललाई सरल शैलीमा केलाउने काम गरेका छन् ।

प्रकाशन संस्था अन्तिम पृष्ठमा लेख्छ, “यथार्थको धरातलमा खरो रूपमा उभिएका उनका कथाहरूले कतै भ्रष्ट राजनीतिको विरुद्धमा विद्रोहको बिगुल फुकेका छन् त कतै सामाजिक विकृतिको भण्डाफोर गरेका छन् । शालीन शैलीमा गम्भीर विषयको उठान गरेर वर्तमान बोल्नु नै उनका कथाहरूको मुख्य प्रवृत्ति रहेको देखिन्छ ।”

कृतिका बारेमा कथाकार डा. श्रेष्ठ लेख्छन्, “यसको जन्म कुनै योजनाले भएको होइन । यो तिनै पात्रहरूको पीडाको बकपत्र हो, जो मेरो सामुन्नेमा गरिएको थियो । म कलम दौडाइदिने अभियन्ता मात्र हुँ । तसर्थ, पहिलो धन्यवाद तिनै पात्रहरूलाई जसले मलाई यी कथाहरू लेख्न उक्सायो । कथा त लेखियो, तर कथामा पात्रहरूको पीडाले पाठकलाई छुन्छ कि छुँदैन त्योचाहिँ हेर्न बाँकी छ ।...।” (पृृष्ठ—१७१)

कृतिभित्रको कथा ‘गुमनाम कमरेड’को एउटा अंशले भन्छ, “३—४ जना कमान्डरहरू माइलीको घरको पिँडीमा बसेर दियालोको उज्यालोमा कागजको नक्सा हेर्दै आक्रमणको योजना बुन्छन् । माइलीलाई भने यिनीहरू कहाँ जाने लागेका हुन्, के गर्न लागेका हुन्, अत्तोपत्तो केही छैन । उनीहरूले कुराकानीका क्रममा पटकपटक डोल्पा, डोल्पा भनी नाम लिएकाले डोल्पातिर जान लागेका रहेछन् भन्नेसम्म लख काट्छिन् ।...।” (पृष्ठ—६४)

इन्डिगो इन्क प्रालि द्वारा प्रकाशित १७२+४ पृष्ठको यस कथाकृतिको मूल्य ३९९– रुपैयाँ राखिएको छ ।

०००

भैरव कवितावली
(कवितासंग्रह : भैरव अर्याल)
हास्यव्यंग्य निबन्धका प्रख्यात शिल्पी भैरव अर्यालका रचनाबारे थाहा नहुने कमै छन् । उनको जय भुँडी, काउकुती, गलबन्दीलगायत व्यंग्यकृतिहरूबाट हास्यव्यंग्यमा रुचि राख्नेहरू परिचित छन् ।

उनै हास्यव्यंग्यकार अर्यालको कविताहरूको कृति हो, ‘भैरव कवितावली’ । जसमा अर्यालका ‘उपवन’, ‘राष्ट्रिय आह्वान’ र ‘बिरही राम’ तीन कविताकृतिमा समेटिएका कविताहरू संगृहीत छन् । ‘उपवन’को यो दोस्रो संस्करण ६० वर्षपछि प्रकाशनमा आएको हो । यस कृतिभित्रका सबै कविताहरू सम्पादन गरेका छन्, साहित्यकार विष्णु प्रभातले ।

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यिक पत्रकार रोचक घिमिरे प्रकाशकीयमा लेख्छन्, “बढी प्रसिद्धि हास्यव्यंग्यमा भए पनि भैरव अर्यालले साहित्यका विविध क्षेत्रमा कलम चलाएका छन् । कविताबाट नै उनको लेखन यात्रा सुरु भएको हो । २००९ सालमा प्रतिभा पत्रिकाबाट नयाँ जीवन शीर्षक कविता प्रकाशित भएपछि पत्रपत्रिकामा उनका विविध कविता प्रकाशित हुनथालेका थिए । भैरवका पुस्तकाकारमा प्रकाशित कृति पनि पहिले कविताकै भए ।...।”

‘उपवन’को पहिलो संस्करणमा साहित्यकार बालकृष्ण समले लेखेका छन्, “उपवन राम्रो छ । जुनसुकै बगैँचामा पनि सबै फूल उस्तै उत्तिकै सुन्दर हुँदैनन् । शेक्सपियरबाट पनि उत्तमोत्तम उक्ति उद्धरण गरिन्छन् । परन्तु यो परिचय पुस्तकैको द्वारमा रहनजाने हुँदा म बगैँचाका राम्रा राम्रा पुष्पका चित्र ढोकामा राखेर पाठकलाई अल्मल्याउन चाहन्न— उपवन खुला छ, त्यहाँ यस्ता उत्तम कविताहरू छन्–
अनि मैले जवाफ बुझेँ–
सबै जवाफनै पर्खिरहेछन्,
सवालै सवालको यो संसार हो
सबका सवाल असरल्लै छन्”

भैरव अर्यालले २०१८ मै ‘उपवन’मा ‘ढोकामा उभिएर’ शीर्षकको आफ्नो भनाइमा लेखेका छन्, “यति कविता देखाएर मैले मातृभाषालाई के दिएँ भन्नु ? यो त खालि रंगी विरंगी चुराका टुक्रा बटुलेर मैले के के न कमाएँ भनी बालकले आफ्नी आमालाई राख्न दिए जस्तै प्रयास होला ।”

शर्त शीर्षकको कवितामा कवि अर्याल लेख्छन्–
तिमी किरण भै प्रकाश देऊ
प्रभात बनी म झुल्कन्छु,
तिमी पराग भै सुवास भर
म गुलाब बनेर फक्रन्छु ।
(पृष्ठ—४८)

भैरव पुरस्कार गुठीद्वारा प्रकाशित १०८+४ पृष्ठको यस कविताकृतिको मूल्य ३००– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro