काठमाडौं । पछिल्लो समय लोकगीत–संगीतप्रति आकर्षण घटेको छ । यसलाई अहिलेका डिजिटल प्लेटफर्मले पनि पुष्टि गर्छ । केही समययता लोकगीत कम संख्यामा रेकर्ड हुन थालेको छ । सर्जकले आफ्नो रहरले गाउनेबाहेक अहिले ठूलो संख्यामा लोकगीत रेकर्ड भएको छैन । युट्युबमा हेरे पनि यो कुराको पुष्टि हुन्छ ।
“पछिल्लो समय लोकगीतको संख्या घटको छ । आफ्नै रहरले लोकगीत गाउनेबाहेक लोकगीत रेकर्ड हुन छोडेका छन्,” लोकगायक तथा संकलक नारायण रायमाझी भन्छन्, “लगानी बढ्दै जानु तर व्यावसायिक कम हुँदै जानुले लोकगीतको संख्या कम भएको हो ।”
पछिल्लो समय गीत–संगीत व्यावसायिक भएको तर लगानीअनुसारको प्रतिफल नहुनुले लोकगीतप्रति आकर्षण कम हुँदै गएको रायमाझी बताउँछन् । लोकगीत–संगीत कम हुँदै जानु सकारात्मक संकेत नभएको उनको भनाइ छ ।
यद्यपि, लोकगीत–संगीत व्यावसायिक भइसकेका कारण ठूलो संख्यामा रेकर्ड हुँदैमा र बजारमा आउँदैमा त्यसैलाई सफलता भने मान्न नसकिने उनी स्पष्ट पार्छन् ।
प्रविधिको विकास, विस्तार र प्रयोग बढ्दै जाँदा लोकगीतमा पनि व्यावसायिकता भित्रिएको र त्यसको असर अहिले देखिएको रायमाझीको ठहर छ । “लोकगीतमा मौलिकताको संकट देखिएको त धेरै भइसक्यो । मौलिक संस्कृति संरक्षणमा लोकगीत–संगीत चुकेको त वर्षौँ भइसक्यो,” रायमाझी अगाडि थप्छन्, “अहिले लगानी नै नउठ्ने भएपछि व्यावसायिक लोकगीतको संख्या पनि घट्दै गएको छ ।”
धेरै गीत–संगीत आउँदा त्यसमध्ये केही राम्रा पनि हुन सक्ने सम्भावना हुन्छ । तर, व्यावसायिक गीतको ट्रेन्ड हेर्दा त्यस्तो अपेक्षा धेरै गर्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।
स्टुडियोमा अहिले लोक तथा लोकदोहोरी गीतको संख्या पहिलाको तुलनामा निकै कम रेकर्ड हुन थालेको रायमाझीको अनुभव छ । कसैसँग आधिकारिक तथ्यांक नभए पनि अहिले रेकर्डिङ हुने लोकगीतको संख्या तुलनात्मक रूपमा कम भएको उनी बताउँछन् । व्यावसायिक गीतले बजारलाई चलायमान बनाउनेबाहेक खासै योगदान नदिने उनको टिप्पणी छ ।
लोकगायक कुलेन्द्र विश्वकर्मा पछिल्लो एक–डेढ महिनायता लोक तथा दोहोरीगीत रेकर्डिङको संख्यामा कमी आएको बताउँछन् । तर, केही समयमै पुनः संख्या बढ्नेमा उनी ढुक्क छन् ।
बजारलाई जानकारी हुने गरी सुपरहिट लोक तथा लोकदोहोरी गीत भने केही वर्षयता नआएको कुलेन्द्र सुनाउँछन् । “बजारमा जनजनको जिब्रोमा झुन्डिने गरी ब्लकबस्टर गीत आएको छ, जसरी वारि जमुना पारि जमुना, सिमसिमे पानीमा जस्ता हिट गीत केही वर्षयता कम आएका छन् । त्यसैले पनि गीतको संख्यामै कमी आएको जस्तो धेरैलाई लागेको हो,” कुलेन्द्र भन्छन्, “औसत गीत मात्रै आउँदा धेरैलाई गीतको संख्यामै कमी आयो भन्ने लागेको हो । केही वर्षयता एभरेज गीत मात्रै आएका छन् ।”
सर्जकहरूले मिहिनेत गरिरहेको तर अपेक्षित सफलता हासिल नभएको भनाइ छ । “सायद कहिले समयले पनि साथ दिँदैन होला । कुनै समय त्यत्तिकै राम्रो गीत हिट भइरहेको हुन्छ । कुनै समय त्यति नै मिहिनेत गरेको गीत नोटिस पनि हुन गाह्रो हुन्छ,” उनी अगाडि थप्छन् ।
लगानी बढ्दै जाने तर प्रतिफल खुम्चँदै जानुले पनि संख्या कम भएको हुन सक्ने उनको धारणा छ । युट्युबबाहेक आम्दानीको विकल्प स्टेज कार्यक्रम मात्र भएको उनी बताउँछन् । स्टेज नपाउनेका लागि लगानी फिर्ता हुने सम्भावना कम हुन्छ । युट्युबबाट गीतको लगानी उठाउन गाह्रो हुने उनी स्पष्ट पार्छन् ।
गीतकार एकनारायण भण्डारी माहोल फर्काउने लोकगीत धेरै समयदेखि नआएको कुलेन्द्रको भनाइमा सहमत छ । कुनै गीतले माहोल फर्काएपछि पुनः लोक तथा दोहोरीमा चहलपहल बढ्नेमा उनी आशावादी छन् । “पछिल्लो समय लोक तथा दोहोरीमा खासै चहपहल छैन । स्टुडियोमा पहिलाको जस्तो भीडभाड पनि छैन,” एकनारायण भन्छन्, “मसँग गीत माग्न आउनेको संख्या नै अहिले निकै घटेको छ । सीमित व्यक्ति मात्रै गीत–संगीतका लागि आउने गरेका छन् ।”
लोकगीतमा लगानी गर्ने उल्लेख्य रूपमा घट्दा त्यसको प्रत्यक्ष असर गीत–संगीतको संख्यामा परिरहेको उनको भनाइ छ । “लकडाउनपछि लगानीकर्ताको संख्यामा उल्लेख्य कमी आएको छ । रियल स्टेटको व्यापार राम्रो हुँदा कलाकारले त्यताबाट पनि लगानी ल्याउँथे । उद्योगी तथा व्यापारीले पनि लगानी गरिरहेका हुन्थे,” एकनारायण भन्छन्, “जब कोभिडका कारण आर्थिक मन्दी भयो, त्यसको प्रत्यक्ष असर गीत–संगीतको लगानीमा पनि देखियो । लगानी गर्ने लगानीकर्ताको अभावमा लोक तथा लोकदोहोरीको क्षेत्रमा तुलनात्मक रूपमा चहलपहल घट्याे ।”
बजारमा सामान्य चलेका गीतले युट्युबबाट मात्र लगानी नउठाउने उनी बताउँछन् । करोडमाथि भ्युज नगएसम्म युट्युबबाट लगानी नउठ्ने उनले जानकारी दिए । ३०/४६ लाख भ्युज गएका गीतले लगानी नउठाउने भएकाले गायक÷गायिकाले लगानी गर्न आँट नगरेको उनको बुझाइ छ ।
“प्रविधि महँगो हुँदै गयो । प्लेटफर्महरू परिवर्तन हुँदै गए । भिडियोबिना गीत नसुनिने भयो । भिडियोका लागि महँगोमा कलाकार खेलाउनुपर्ने भएकाले गीत–संगीत महँगो भयो,” उनी अगाडि थप्छन्, “लगानी गरेर रिस्क लिनुभन्दा टिकटकमा रमाएर चित्त बुझाउनेको संख्या धेरै देखेको छु ।”
गीत रेकर्ड गराइरहने कलाकारहरू लगानीमा रिस्क नलिने भन्दै बसेको र नयाँहरू लाइभ दोहोरीमा रमाइरहेको उनी बताउँछन् । लाइभ दोहोरीमा भ्युज बाँडिदा रेकर्डेड गीतको भिडियोमा भ्युज कम हुँदै गएको एकनारायणको जिकिर छ । लाइभ दोहोरीले रेकर्डेड गीतमा रिस्क बढाएको उनी सुनाउँछन् ।
लाइभ दोहोरी ‘छाडा’ हुँदै गएको टिप्पणी हुने गरेको छ । स्रोता तथा दर्शकबाटै यो गुनासो आएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले लाइभ दोहोरीका केही कलाकारलाई बोलाएर नै सचेत गराइसकेको छ ।
लोक तथा दोहोरीमा लगानी कम हुँदै जानु, लगानी उठ्ने प्लेटफर्म युट्युबमा भ्युज कम हुनु, लोकका नाममा ‘छ्यासमिस’ गीत आउनुले नै स्रोता–दर्शकको ध्यान कम खिचिएको एकनारायणको धारणा छ । यद्यपि, यो अवस्थामा सकारात्मक परिवर्तन आउनेमा उनी ढुक्क छन् ।
“लोकगीतका नाममा कस्तो गीत चल्छ भनेर छ्यासमिस गीत धेरै आए । समयले यसलाई थिग्राउँदै लैजान्छ,” उनी भन्छन्, “अब पियोर लोकगीत आउनुपर्छ भन्ने लाग्छ । देशको कला, संस्कृति र मौलिकता बोक्ने ठेट लोकगीत आउँछन् भन्ने लाग्छ ।”
केही दशकयता नेपाली सांगीतिक क्षेत्रलाई लोकदोहोरीले चलायमान गराएको र त्यसमा सुस्तता आउँदा समग्र सांगीतिक क्षेत्र नै सुनसान हुने अवस्था आउने उनको भनाइ छ । “नारायणगोपालको पालामा आधुनिक गीतको जुन चार्म थियो, त्यो अहिले छैन । रामकृष्ण ढकालसम्मले बचाए पनि त्यसयता लोकदोहोरीले नेपाली सांगीतिक क्षेत्र धानेको हो,” उनी भन्छन्, “तर, अहिले लोक तथा दोहोरी केही समय सुस्ताउँदा समग्र सांगीतिक क्षेत्रमै प्रभाव परेजस्तो देखिन्छ ।”
जनभावनालाई समेट्ने गीत नआउँदा दर्शकको ध्यान लोक तथा दोहोरीले खिच्न नसकेको स्वीकार गर्छन्, लोक तथा दोहोरीगायक शिव हमाल । जबसम्म आमदर्शक तथा स्रोताले मन पराउने गीत आउँदैन, तबसम्म लोकगीतको बजारले पुरानै लय नसमाउने उनको धारणा छ ।
“लामो समयदेखि गीत नचल्दा त्यसले हामी सर्जक तथा स्रष्टालाई पनि निराश बनाइरहेको छ । तर, जब कुनै गीत चल्छ, फेरि लोक तथा दोहोरीको बजार चलायमान हुन्छ,” हमाल भन्छन्, “अहिले त धेरै संगीतकर्मी फुर्सदिला छन् । स्टुडियोमा पनि पहिलाको जस्तो चहलपहल छैन । एरेन्जर साथीहरू पनि व्यस्त भएको देखिँदैन ।”
कतिपय सर्जक तथा स्रष्टाले लोक तथा दोहोरीको माहोल तयार भएपछि सार्वजनिक गर्ने भनेर गीत तयार गरेर राखेको उनी बताउँछन् ।
लोक तथा दोहोरीको क्षेत्रमा देखिएको न्यून चहलपहलको मुख्य कारण आर्थिक मन्दी भएको उनको जिकिर छ । कम्तीमा पाँच लाख रुपैयाँ एउटा गीत निर्माणमा लाग्ने तर त्यसको रिटन्र्स आउने सम्भावना निकै कम हुनु पनि लोक तथा दोहोरीगीतको संख्या कम हुनुको अर्को कारण भएको उनको तर्क छ । जनवरी र फेब्रुअरी युट्युब विज्ञापनका हिसाबले पनि कमजोर महिना हुनु पनि अर्को कारण भएको उनको बुझाइ छ ।
देशको अर्थतन्त्र मजबुत हुँदै जाँदा कलाकारहरू पुनः रेकर्डिङमा फर्कने उनको विश्वास छ । अहिले अधिकांश कलाकार मेला–महोत्सवमा व्यस्त छन् ।