
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
नेकपा (एमाले)का नेता भीम रावलले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सम्पूर्ण नेपालीमा सुदृढ राष्ट्रियताको लागि शुभकामना दिएका छन् ।
नेता रावलले पृथ्वीनारायण शाहको सम्मानमा उनीप्रति समर्पित कविता समेत बुधबार सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ‘धरातल दियौ’ शीर्षकको कविता पोस्ट गरेका हुन् ।
रावलको कविता यस्तो छ–
धरातल दियौ
– भीम रावल
धरातल दियौ पृथ्वी तिमीले नेपाली बन्नलाई
शीर उठाइदियौ सन्तति सबको स्वाधीन भन्नलाई
विभाजित मन जोडेर एक ठाउँ मालाझैँ बनायौ
इतिहास रची राष्ट्र नै जोड्ने निर्माता भनायौ ।
महानता तिम्रो अमर रहन्छ हिमालझैँ ओजस्वी
सन्तति भावी भन्ने छन् सदा देशभक्त तपस्वी
श्रमले तिम्रो सिञ्चित भयो राष्ट्रिय स्वाभिमान
अखण्ड नेपाल मातृभूमिको गौरव झन् महान् ।
एकता दिवस, जयन्ती तिम्रो राष्ट्रले मनाउने
भावधारा एउटै उद्देश्य एउटै नेपाल जनाउने
भूमिका तिम्रो युगीन कस्तो चेतना फिँजाउन
श्रद्धासुमन अर्पण तिमीलाई योगदान सम्झाउन !
पुष २७, २०७९, काठमाडौं ।
राष्ट्र निर्माता बडामहाराज पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली एवं सम्पूर्ण नेपालीहरुमा सुदृढ राष्ट्रियताको लागि शुभकामना ! उहाँको सम्मानमा समर्पित कविता ः pic.twitter.com/rqyrLCnhij
— Bhim Rawal, PhD (@BhimRawal179) January 11, 2023