site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपथ्यलाई सुर्खेतमा भब्य स्वागत
Tiktok banner adTiktok banner ad

वीरेन्द्रनगर । तराइका फाँटहरुबाट पुगेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका वासिन्दाले ठूलो उपस्थितीका साथ भब्य स्वागत गरेका छन् । ‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुति थियो ।

बुधबार बेलुकी चार बजेदेखि गेट खुला भएदेखि ६ नबज्दै स्थानीय खुलामञ्चमा दर्शकको उल्लेख्य उपस्थिति जुटिसकेको थियो । घडीको सुइले ठीक ६ बजाउनेबित्तिकै मञ्चमा नेपथ्यका म्यूजिक भिडियो बज्नथालेका थिए । अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकलाई स्वागत गर्यो । यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि दृश्यहरुको संयोजन गरिएको थियो ।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरुगरेको देखिन्थ्यो । ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।

“हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाइ सबैजनालाई स्वागत छ,” अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, “हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है ।”

कर्णाली प्रदेशको राजधानी यो सहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो । यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो । त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो ।

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए । ब्यापक उपस्थितीले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो ।

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले गाए ‘खान्न म त लामपाते सुरती लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए । दर्शकलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’
उनले धौलागिरि भेगको त्यस गीतमा देखिएको लालीगुराँसका दृश्यहरु सुर्खेत माथिको गुराँसे लेकमा पनि देखिने बयान गर्दा स्थानीय दर्शक असाध्यै रमाएका थिए ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

बुधबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro