site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
आदर्श राष्ट्रपतिको खोजी

चुनावपछि मुलुकका प्रमुख कार्यकारीमा नयाँ र भरपर्दो अनुहार देख्न पाइएला भन्ने जनताको आशा सेलाएजस्तो छ ।

यसैले अहिले समाज र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको साटो राष्ट्रपतिको खोजी र चर्चा चुलिएको हुनुपर्छ । प्रधानमन्त्री त तिनै शेरबहादुर देउवा, खड्गप्रसाद ओली वा पुष्पकमल दाहालको घेराबाहिर पुग्ने लक्षणै देखिएन । 

गगन थापाले संसदीय दलको नेतामा देउवालाई चुनौती दिन्छु त भनेका छन् तर अहिलेसम्म शेखर कोइरालाले समेत खुलेर गगनको समर्थन नगरेकाले आशाको धिपधिपे दियो पनि निभ्ने जोखिम बढेको छ ।अरू दलमा त अध्यक्ष नै सर्वोसर्वा छन् । कसैले चुनौती दिने आँटै गर्न सक्तैनन् । खेलै सकियो ।

KFC Island Ad
NIC Asia

प्रथम राष्ट्रपतिका कमजोरी

प्रथम राष्ट्रपति रामवरण यादव कुपात्र थिएनन् । तर, उनका केही कमजोरीका कारण आदर्श राष्ट्रपति भने हुन सकेनन् । रुक्माङ्गत कटुवाल प्रकरणमा उनले लिएको निर्णय विवादमा परे पनि ‘राजनीतिकरूपमा सही’ साबित भयो । आफू विवादको भुमरीमा परेर पनि देशलाई नयाँ द्वन्द्वमा फस्नबाट जोगाएकोमा उनलाई धन्यवाद नै भन्नुपर्छ ।

Royal Enfield Island Ad

डा. यादवका अरू केही निर्णय भने अपेक्षाकृत विवादास्पद थिए । उनले न अडान देखाए न विवेकको प्रयोग नै गरे ।

बहालवाला प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने दलका नेताहरूको निर्णय उनले रोकेनन् । उनीमाथि दबाब चर्कै थियो होला तर अरूको दबाब सामु झुक्ने राष्ट्रपति नेपालीले खोजेका थिएनन् । 

डा. यादवको अर्को महाभुल लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुख आयुक्त नियुक्त गर्नु हो ।

कार्कीको नियुक्तिका लागि मन्त्रिपरिषद्का तत्कालीन अध्यक्षले निकै घुर्क्याएको र अप्रत्यक्ष धम्क्याएको समाचार उतिबेलै आएको थियो । कार्कीको नियुक्तिका विरुद्ध बलियो जनमत थियो । राष्ट्रपतिले मन्त्रिपरिषद्का अध्यक्षको दबाबको साटो आफ्नै विवेकको सम्मान गरेका भए इतिहासमा उनको नाम सुनौलो अक्षरले लेखिने थियो । डा. यादवलाई नै सम्भवतः यस निर्णयका लागि पछुतो लागेको हुनुपर्छ । 

डा. यादवले चाहेका भए सामन्ती राजकीय संस्कार र अभ्यासहरू अन्त्य गर्न सक्थे । तर, उनले त राजाको नक्कल गर्न रुचाए । राजाकै जस्तो तामझाम कायमै रह्यो ।

गणतान्त्रिक संस्कारको जग बस्न सकेन । राष्ट्रपतिले राजकीय परम्परा र अभ्यासमा रहेको सामन्ती संस्कार स्वीकार नगरेका भए अरू तल्ला पदाधिकारीले पनि त्यसैको अनुसरण गर्नुपर्थ्यो । विद्यादेवी भण्डारीले जस्तो विलासको लोभ नदेखाए पनि डा. यादवले नयाँ संस्कार बसाउन खोजेनन् । लोकतन्त्रका सेनानी डा. यादवले त्यसरी आदर्श राष्ट्रपति बन्ने अवसर गुमाए । 

उनले बेलाबेला राज्यको ढुकुटीबाट अनपेक्षित सुविधा मागेको र लिएको विषयमा पनि उनको आलोचना भइरहेको छ । लोभ नगरेकै भए पनि सजिलै गुजारा हुने परिवारका हुन् डा. यादव । उनीमाथि भ्रष्टाचार वा अनियमितताको आरोप त लागेन तर उनले जनसम्मान पनि आर्जन सकेनन् । 

संविधान मिच्न धक नमान्ने विद्यादेवी

महिला भएकाले अपेक्षाकृत स्वच्छ र निष्पक्ष बन्न सक्लिन् वा कम्तीमा डा. यादवले जति गरिमा त पक्कै जोगाउलिन् भन्ने अपेक्षा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिएको थियो ।

तर, उनले त आफूलाई नेकपा (एमाले)कै नेतामा सीमित राखिन् । तत्कालीन प्रधानमन्त्री ओलीका असंवैधानिक अभ्यासमा मतियार बनिन् । संविधानका अक्षर र भावना दुवैको खुला उल्लङ्घन गरिन् । सम्भवतः संसारमा संसदीय प्रणाली भएको कुनै मुलुकमा पनि राष्ट्रपतिले यसरी संविधान मिचेका छैनन् ।

उनको राजनीतिक कदका कारण पनि प्रधानमन्त्री ओलीको छायाबाट मुक्त हुन नसकेकी हुनुपर्छ । ओलीको एउटा शपथ प्रहण समारोहमा सुनिएको ‘त्यो पर्दैन’ र ‘हीँ हीँ’ प्रकरणले सम्भवतः राष्ट्रपति भण्डारीको व्यक्तित्वको सही विम्ब प्रक्षेपण गर्छ ।

गतवर्ष संविधान मिच्न ओलीलाई उनले दिएको साथ र समर्थनकै कडी नागरिकतासम्बन्धी विधेयक प्रमाणित नगर्ने वा अध्यादेश जारी नगर्ने हठसम्म आइपुगेको छ । 

पछुतो गर्न र लाज मान्न नपर्ने होउन् भावी राष्ट्रपति !

यसैले अबको राष्ट्रपति कम्तीमा ‘हत्तेरिका’ भन्नु नपर्ने होउन् भन्ने जनअपेक्षा देखिन्छ । यसका लागि योग्य पात्रको खोजी हुनु अस्वाभाविक हो र ? राज्यका पदहरू सबै राजनीतिक कार्यकर्ता र कर्मचारीका निम्ति आरक्षित हुनैपर्छ भन्ने पनि छैन ।

यसैले अहिलेका राजनीतिक दलमा संलग्न नरहेका र समाजमा विशिष्ठ योगदान गरिसकेका व्यक्तिहरूमध्येबाट राष्ट्रपति किन नबनाउने? यसरी निष्पक्ष व्यक्ति राष्ट्रपति हुँदा कुनै दलका नेताले पनि आफूमाथि राष्ट्रपतिले पूर्वाग्रह राख्ने वा अन्याय गर्ने सन्देह गरिरहन पनि पर्दैन ।  

लठैत ‘राजनीतिक’ विद्वान् ‘गैरराजनीतिक’ 

दल विशेषको कार्यकर्ता नेता भएकै कारण लठैतहरूले पनि आफूलाई ‘राजनीतिज्ञ’ ठान्दारहेछन् । अरूले पनि तिनलाई ‘राजनीतिक’ र कुनै दलमा नलागेको स्वतन्त्र व्यक्तिलाई ‘अराजनीतिक’ भनिदिन्छन् । विचार, व्यवहार र सिद्धान्त केही मेसो नपाउने ‘लठैत’लाई कुनै दलका कार्यकर्ताले नेता माने भन्दैमा वा कुनै ‘बाहुबली’ कुनै पदमा चुनिएकै भरमा समाजले पनि राजनीतिक ठान्ने? 

अर्कातिर, विश्वको राजनीति बुझेको, पढेको, समाजको उत्थानका लागि विभिन्न हैसियतमा योगदान गरेको, लोकतन्त्रप्रति प्रतिबद्ध तथा स्पष्ट विचार भएको सक्रिय व्यक्ति चाहिँ अराजनीतिक वा गैरराजनीतिक हुन्छ? समाजले अभिभावक स्वीकार गरेको व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्दा विदेशी षड्यन्त्र देख्नेहरूको दृष्टि नै दोषी हो । 

राजनीति जोगी हुन गरिएको हुँदैन । नेपालका यस कालखण्डका राजनीतिक दलका नेता त झन् ‘जोगी’ हुनेजस्ता छँदै छैनन् । बैंकमा पैसा थुपारेर रोगलाई पनि राज्यको ढुकुटी दोहन गर्ने मौका बनाउनेहरू ‘जोगी’ हुने त सम्भावनै हुँदैन । तर, राज्य यिनको मात्र त होइन नि । 

अब हुने राष्ट्रपति पदले होइन व्यक्तित्वकै कारण आदरणीय होउन् । राजकीय तामझाममा लठ्ठिने र परम्पराका नाममा सामन्ती जीवनशैली अपनाउन रमाउने वा रुचाउने नहोउन् । सबैभन्दा बढी कसैको ‘कठपुतली’ नहोउन् । कसैले अनुचित प्रभावमा पार्ने आँटै गर्न नसकोस् । ल हेर हाम्रो राष्ट्रपति भनेर गर्व गर्न सकियोस् !

चर्चामा आएका पूर्व प्रधान न्यायाधीश विवादमा परिसके । उनको छविकै कारण पनि आदर्श राष्ट्रपति बन्न नसक्लान् । यसैले पेन्सनवालाहरूलाई अब दुःख दिने काम नगरौँ । देशमा राष्ट्रपति बनाउँदा पदकै इज्जत बढ्ने ‘सुपात्र’हरू खोजिपसे भेटिन्छन् । कुपात्रलाई थपना नगरौँ ।

धत् कस्तो व्यक्ति चुनिएछ भन्न नपरोस् !

यस्ता व्यक्तित्व राष्ट्रपति हुनुपर्छ भन्दा कथित ‘राजनीतिक’ व्यक्ति खोज्नेहरू यथार्थमा गणतन्त्र विरोधी हुन् । तिनले जानी नजानी एकपछि अर्को गलत व्यक्तिलाई राष्ट्रपति बनाएर गणतन्त्रप्रति नै वितृष्णा जगाउने काम गरिरहेका छन् । सके प्रधानमन्त्रीलगायत सबै पदमा जनताले ‘वाह’ भन्नसक्ने व्यक्तिहरू छानिउन् ।

नभए पनि ‘छ्या’ भन्न नपरोस् । राष्ट्रपति त कम्तीमा भागबण्डा नगरी छानौ । त्यसो त सभामुख, उपराष्ट्रपतिजस्ता पदमा पनि कम्तीमा मानवता विरोधी अपराधका अभियुक्तहरू नछानिउन् । 

राजकीय पदहरू कोही कसैलाई अपराधको दण्डबाट जोगाउने कबच नबनोस् !

पूरा नहुने अपेक्षा !

अपेक्षा गर्न त पाइयो तर ठूला दलका नेता र तिनका आसेपासेको अनुहार सम्झदा पूरा हुने आशा भने लाग्दैन । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री पदका लागि जोसँग जे सम्झौता गर्न पनि हिचकिचाउँदैनन् ।

अहिले देउवाको सत्तारोहणमा सबैभन्दा ठूला बाधक उनैका सहयात्री पुष्पकमल दाहाल भएका देखिन्छन् । दाहालको आँखा प्रधानमन्त्रीको कुर्सीमा छ । प्रधानमन्त्री पाए आफैँ हुने नपाए आफ्नो कुनै कठपुतलीलाई राष्ट्रपति बनाउने उनको मनसुवा लुकेको छैन । 

एमालेका अध्यक्ष ओलीले त झन् हाताहाती नपाए किन सम्झौता गर्लान् र ? उनलाई आफ्नो इसारामा चल्ने राष्ट्रपति हुँदाको फाइदाको अनुभव सबैभन्दा धेरै छ । स्वच्छ, तटस्थ व्यक्तिलाई राष्ट्रपति बनाउन ओली पनि तयार हुन गाह्रै छ ।

यद्यपि, अहिले देउवा र दाहाल मिलेर सबै पदमा विशेषगरी राष्ट्रपति र सभामुख बाँडे भने एमाले बढी नै घाटामा हुनसक्छ । प्रधानमन्त्री त गठबन्धन तोडफोड गरे फेर्न कठिन हुँदैन तर राष्ट्रपति र सभामुख फेर्न त दुई तिहाइ बहुमत चाहिन्छ । 

नयाँ राष्ट्रिय दलहरू जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहँदैमा त हुँदैन तर उनीहरू कुनै तटस्थ र स्वच्छ छविको व्यक्तिका पक्षमा उभिए भने ठूला दल कांग्रेस र एमालेमाथि दबाब पर्नेछ । ती दलका अपेक्षाकृत ‘इमानदार’ कार्यकर्ताले मुख खोल्ने आँट गर्नेछन् । नयाँ जसजा, लोसपा, राप्रपा नबन्ने हो भने जनमत र रास्वपाले छनक देखाउन् ।

देश, पार्टी र आफ्नै भविष्यको पनि माया भए कांग्रेस र एमालेका नेताहरूले गम्भीर विमर्श गर्नुपर्छ । यिनै ‘ठालु’ नेताका भरमा परे कांग्रेस र एमाले पनि भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीका अवस्थामा पुग्नेछन् । देशमा ‘अपराधी गिरोह’को राज हुनेछ । 

च्याँखेका हातमा मुलुक नपरोस् !

राष्ट्रपति दुवै दलका लागि मान्य हुने तटस्थ व्यक्तिलाई बनाउने, प्रधानमन्त्री सभामुख एमालेले लिने र प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्ने गरेर पनि त अहिलेको अन्योल टार्न सकिन्छ नि ! पहिलो संविधान सभामा कांग्रेस र एमाले दोस्रो र तेस्रो दल थिए ।

प्रधानमन्त्री नपाए पनि सभामुख र राष्ट्रपति त भाग लगाएकै हो । पात्रको चयनमा पनि पछुतो नै गर्नुपर्ने त भएन नि ।

अहिले समझदारी गर्ने हो भने त सरकारमै कांग्रेससँग आलोपालो गरे पनि हुन्छ । सरकारमा सँगै बसेर प्रधानमन्त्री आलोपालो गर्न पनि मिल्छ । देश ‘च्याँखे’का हातमा पर्न दिए भने सबैभन्दा धेरै पछुतो एमाले र कांग्रेसलाई नै हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro