
सप्तरी । किसानलाई यति बेला खेतमा गहुँको बीउ छर्ने चटारो छ । तर, मलखादको अभाव देखिएको छ ।
सप्तरीमा ८१ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसका लागि चाहिने मलखादको अभावमा किसानले पर्याप्त हिउँदेबाली लगाउन सकेका छैनन् । अहिले यहाँका किसानले प्रतिव्यक्ति दुई/तीन किलोसम्म मात्र मल पाउने गरेका छन् ।
रुपनी गाउँपालिका–४ का ५० वर्षीय किसान रामरतन यादव कृषिप्रधान भनिने देशमा किसानले नै सबैभन्दा बढी दुःख पाउनु विडम्बना भएको बताउँछन् । “सप्तरीमा अधिकांश परिवार खेतीमै निर्भर छन् । अहिले हिउँदेबाली लगाउने बेलामा मलखाद सहज रूपमा पाएको छैन, कसरी खेती गर्नु ?,” उनको प्रश्न छ ।
देशमा तीन तहका सरकार रहे पनि समस्या जस्ताको त्यस्तै रहेको उनी गुनासो गर्छन् । “उहिले पनि यस्तै थियो, अहिले पनि यस्तै छ,” यादव भन्छन्, “धानबाली लगाउने बेलामा पनि मलखाद पाइएन । चाहेजति खेती गर्न पाएको छैन ।”
सप्तरीमा १२ हजार मेट्रिकटन युरिया, १० हजार मेट्रिकटन डीएपी र पाँच हजार मेट्रिकटन पोटासको माग रहेको कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका प्रमुख सोनेलाल मुरमुरले जानकारी दिए ।
यो वर्ष अहिलेसम्म युरिया दुई हजार १५९ मेट्रिकटन, डीएपी एक हजार २१८ मेट्रिकटन र पोटास १२३ मेट्रिकटन आएको उनले बताए । “अब डीएपी र पोटासको आपूर्ति हुँदैन । २९० मेट्रिकटन युरिया मात्र आउन बाँकी छ,” मुरमुरले भने, “यहाँ मागजतिको आपूर्ति छैन । अभाव हुनु स्वाभाविकै हो र यो सप्तरीको मात्र होइन, देशैभरिको समस्या हो ।”
कालोबजारी
सप्तरीमा मलखादको अभाव भएकै बेला कालोबजारी पनि बढेको छ । सप्तरी प्रहरीले यही मंसिर २५ गते युरिया मलको कालोबजारी गरेको आरोपमा राजविराज नगरपालिका–१०, दिघवाका १९ वर्षीय राजकुमार दासलाई नियन्त्रणमा लिएको थियो । दासले सञ्चालन गर्दै आएको किराना पसलमा युरिया मल लुकाइछिपाइ भन्डारण गरी सरकारले निर्धारण गरेको भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि उनी पक्राउ परेका हुन् ।

प्रतिबोरा ५० केजीका दरले ३५ थान बोरा मल भन्डारण गरिराखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाका अरू ठाउँमा पनि कालोबजारी मौलाएको गुनासो हुने गरेको छ । तर, सरकारी निकायबाट अनुगमन भएको देखिँदैन ।
कम्पोस्ट मल प्रयोगविहीन
रासायनिक मलको अभाव भइरहेको बेला सप्तरीमा कम्पोस्ट मल प्रयोगविहीन भएको छ । यहाँका किसानले रासायनिक मल नै रोज्ने गरेपछि कम्पोस्ट मल प्रयोगविहीन हुँदै गएको हो ।
माँ चण्डी कृषि सहकारी लिमिटेडका सञ्चालक विनय देव कम्पोस्ट मलको प्रयोगले बाली ‘ग्रोथ’ विस्तारै हुने भएकाले किसानले प्रयोग गर्न नमानेको बताउँछन् । उनी मलखाद बिक्री गर्ने कृषि सहकारीका डिलर हुन् ।
“पटक–पटक कम्पोस्ट मल ल्याएर बिक्री गर्ने प्रयास गरेको थिएँ । तर, किसानले लिन मानेनन् । उनीहरूको कम्पोस्ट मलमाथि विश्वास नै छैन,” देव भन्छन्, “रासायनिक मलकै भरमा निर्भर भए अब खेतीपाती हुँदैन । कम्पोस्ट मलको प्रयोगलाई प्रोत्साहन गर्दै जानुपर्छ र सरकारले पनि किसानले कम्पोस्ट मलको उपयोग गरेर खेती गर्ने वातावरण बनाइदिनुपर्छ ।”