site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९,राजनीति
एमालेले सच्यायो समानुपातिक सांसदको सूची : सचिवालय बैठकको निर्णय उल्टियो (पत्रसहित)
सचिवालय बैठक । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक सांसदको सूची सच्याएको छ । मंगलबार एमालेले समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएको हो ।

एमालेले सोमबार आयोगलाई पत्र पठाउँदै आफूले गरेको निर्णय कानुनसम्मत रहेको जिकिर गरेको थियो । आज आयोगले फेरि पत्र पठाएर सो निर्णय पुनरवलोकन गर्न भनेको थियो । त्यसपछि सूची सच्याएर आएको आयोगले जनाएको छ ।

आयोगले एमालेले गएको शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा तीन नाम सच्याउन पत्राचार गरेको थियो । एमालेले प्रदेश नम्बर–१ मा आदिवासी जनजातितर्फ यशोदा कायस्थलाई पन्छाएर लहरूमाया जिसीको नाम पठाएको थियो । एमालेले कायस्थ नेवार समुदायको नभई पहाडी समुदायको भएको जिकिर गर्दै जिसीलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो ।

यस्तै, मधेस प्रदेशमा अल्पसंख्यकतर्फ दुईजनाको ठाउँमा विनादेवी शर्माको नाम मात्र पठाएको थियो । राजपतिदेवी जैसवाललाई समेट्नुपर्नेमा फुलोकुमारी देवी अल्संख्यकभित्र पर्ने भन्दै एमालेले नाम सिफारिस गरेको थियो । बन्दसूची बुझाउने बेला उनको नाममा अल्पसंख्यक उल्लेख गर्न छुटेको एमालेको जिकिर थियो ।

एमालेले मधेस प्रदेशमै मुस्लिम क्लस्टरमा पहिलो नम्बरमा रहेकी जैनव खातुनलाई कारबाही गरी दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनको नाम पठाएको थियो । जैनवलाई निर्वाचनमा अनुशासनहीन काम गरेको भन्दै कारबाही गरिएको शनिबार एमालेले जारी गरेको सचिवालयको निर्णयमा उल्लेख छ ।

एमालेले सचिवालय बैठकले कारबाही गरेको निर्णय उल्ट्याउँदै मंगलबार सूची सच्याएको हो । योसँगै यसअघि पार्टी कारबाहीमा परेकी जैनव सांसद बन्ने भएकी छन् ।

अरू दलहरूले यसअघि नै सूची सच्याइसकेका छन् । योसँगै आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले सम्भव भएसम्म आजै समानुपातिक सांसदको सूची सार्वजनिक गरिने बताए ।

एमालेले आयोगमा पठाएको पत्र पढ्नोस्–

akfmdgm1670926537.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १५:५९