
काठमाडौं । अमेरिकी पत्रिका फोर्ब्सले हरेक वर्ष विभिन्न विधाका १०० प्रभुत्वशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्ने गर्छ । सोहीअनुसार अहिले विश्वभरिका १०० शक्तिशाली महिलाको सूची प्रकाशित गरेको छ ।
यो वर्ष फोर्ब्सको शक्तिशाली महिलाको सूचीको पहिलो नम्बरमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनको नाम छ । ६४ वर्षीया लेयनले रुस–युक्रेन युद्ध सुरु भएको एक हप्तापछि नै रुसविरुद्ध तीन ठूला आर्थिक प्रतिबन्ध घोषणा गरेकी थिइन् । उनले युरोपेली आयोगको केन्द्रीय बैंकसँग लेनदेन प्रतिबन्ध, रुसी विमान उडानका लागि हवाई क्षेत्र बन्द र क्रेमलिनको स्वामित्वमा रहेका समाचार एजेन्सीहरूलाई प्रतिबन्ध लगाएकी थिइन् ।
युक्रेन युद्धको समयमा लेयनको नेतृत्व, कोभिड–१९ महामारीको समयमा उनले गरेको व्यवस्थापनले उनलाई विश्वका १०० सबैभन्दा शक्तिशाली महिलाको १९औँ वार्षिक सूचीमा शीर्ष स्थानमा पुर्याएको फोर्ब्सले जनाएको छ ।
इरानमा प्रहरी हिरासतमा ज्यान गुमाएकी महसा अमिनीको नाम यो सूचीको अन्तिममा परेको छ । महसाको मृत्युले इरानमा अभूतपूर्व महिला नेतृत्वको क्रान्तिलाई जगाएको छ । उनको तस्बिर भएको प्लेकार्ड बोकेर इरानका सडकमा अझै विरोध प्रदर्शन जारी छ ।
यसबाहेक फोर्ब्सको यो सूचीमा सधैँझैँ अरू शक्तिशाली व्यक्तिहरू परेका छन् । सूचीमा ३९ सीईओ, १० राष्ट्रप्रमुख र ११ अर्बपति परेका छन् । उनीहरूका कुल सम्पत्ति जोड्दा ११५ बिलियन अमेरिकी डलर हुन आउँछ ।
चार मुख्य विषयलाई आधार मानेर सूची तयार गरिएको फोर्ब्सले जनाएको छ । पैसा, मिडिया, प्रभाव र प्रभावको क्षेत्रलाई आधार मानिएको थियो ।
राजनीतिक नेताहरूका लागि फोर्ब्सले घरेलु उत्पादन र जनसंख्याबाट मूल्यांकन गरेको थियो ।
कर्पोरेट व्यक्तिहरूका लागि राजस्व र कर्मचारीहरूको गणना तथा मिडियामा उल्लेख भएका र पहुँचलाई ध्यान दिइएको थियो । यो नतिजा यथास्थितिसँग लडिरहेका महिलाको संग्रह रहेको फोर्ब्सको भनाइ छ
सूचीको दोस्रो नम्बरमा जर्मनीकी ६६ वर्षीया क्रिस्टियन लागार्डको नाम छ । उनी सन् २०१९ नोभेम्बर १ मा युरोपेली केन्द्रीय बैंकको प्रमुखमा पहिलो महिलाका रूपमा चर्चामा आएकी थिइन् । लागार्डले युरोपेली मौद्रिक नीतिको प्रमुखका रूपमा कोरोनाभाइरस महामारीको समयमा समस्याको सामना गर्नुपरेको थियो ।
२०११ देखि २०१९ को मध्यसम्म लागार्ड अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रबन्ध निर्देशक थिइन् । सो कोषले विश्वव्यापी मौद्रिक प्रणालीको स्थिरता सुनिश्चित गर्ने काम गर्छ । उक्त पदमा बस्ने पनि उनी पहिलो महिला थिइन् ।
तेस्रो नम्बरमा भारतीय आमा र अफ्रिकी पिताबाट जन्मिएकी अमेरिकाको पहिलो अश्वेत वर्णकी र दक्षिण एसियाली अमेरिकीका रूपमा उपराष्ट्रपति कमला ह्यारिस परेकी छन् ।
चौथो नम्बरमा जेनरल मोट्र्सकी सीईओ मेरी बाराको नाम छ । २०१४ देखि यसको सीईओ रहेकी बाराको नेतृत्वमा यो कम्पनीले २०१८ को लैंगिक समानताको रिपोर्टमा अत्यधिक अंक ल्याएको थियो । यो महिला र पुरुषमा समान तलब दिनेमा विश्वव्यापी दुई कम्पनीहरूमध्ये एक रहेको थियो ।
पाँचौँ नम्बरमा फाइडेलिटी इन्भेस्टमेन्टकी सीईओ अबिगेल जोनसन परेकी छन् ।
सूचीमा अमेरिकी गायिकाहरू रिहानाको नाम ७३औँ नम्बरमा, टेलर स्वीफ्ट ७९औँ र बियोन्सेको नाम ८०औँ नम्बरमा समावेश छ ।