site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योगी–व्यवसायीको एउटै स्वर : आर्थिक मुद्दा सरकारको प्राथमिकतामा परेन

काठमाडौं । उद्योगी तथा व्यवसायीहरूले आर्थिक मुद्दालाई सरकारले प्राथमिकता नदिएको गुनासो गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवमा सहभागी उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् ।

सरकारले उद्योगी–व्यवसायीलाई नाफा कमाउने मात्र देख्ने गरेकाे तर, अर्थतन्त्रमा निजी क्षेत्रको योगदान नदेखेको व्यवसायीहरूको आरोप छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको भने पनि व्यवहारमा त्यस्तो नरहेको बताए । आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, सरकारले यसतर्फ ध्यान नदिँदा देश विकासको गति सुस्त भएको गोल्छाले बताए । “हामी आर्थिक विकासमा सहकार्य गर्न चाहन्छौँ । तर, सरकारले हामीलाई सहभागी गराएको जस्तो लाग्दैन,” उनले भने, “हामीसँग सरकार किन सहकार्य गर्न चाहँदैन ? यो महत्वपूर्ण प्रश्न हो । आगामी सरकारले निजी क्षेत्रको आवजलाई बन्देज नगरोस् ।”

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्रालयगत समन्वय हुन नसक्दा व्यवसायीले दुःख पाउनुपरेको बताए । अब बन्ने सरकारले यस्ता कुराहरूलाई विशेष रूपमा सम्बोधन गर्नुपर्ने पनि उनले बताए । 

सरकारले आर्थिक मुद्दालाई मुख्य रूपमा नलिँदा देश विकास हुन नसकेको उनको भनाइ छ । “हाम्रो देशमा आर्थिक मुद्दा प्राथमिकतामा भएन,” उनले भने, “अब बन्ने सरकारले आर्थिक मुद्दा बोक्नुपर्छ ।”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दलका एजेन्डा फरक–फरक भएपनि आर्थिक एजेन्डा एकै हुनुपर्ने बताए । 

आत्मनिर्भर अर्थतन्त्रमा अब सबै जुट्नुपर्ने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । “आयात आधारित अर्थतन्त्र छ हाम्रो । यसलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,” उनले भने, “यसतर्फ पनि सरकारले ध्यान दिएको जस्तो लाग्दैन । नयाँ सरकारले उत्पादन वृद्धि गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।”

उनले पश्चिम नेपालमा अध्यधिक गाँजा उत्पादन हुने भएकाले यसबाट हुने फाइदालाई पहिचान गरी अब बन्ने सरकारले सम्बोधन गर्नुपर्ने पनि बताए । 

यसैगरी, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले उत्पादन वृद्धि गर्ने खालका नीति नहुँदा पनि समस्या परेको बताए । कृषिमा लगानी बढाएर उत्पादन वृद्धि गरी निर्यात बढाउन नयाँ सोचको आवश्यकता औँल्याए । 

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अबको एजेन्डा आर्थिक समृद्धिकै भएकाले त्यसतर्फ नयाँ सरकारले ध्यान दिनुपर्ने बताए । 

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर जानुको विकल्प नभएको पनि बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्