site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाका तस्बिर झुटो

काठमाडौं । हालै सामाजिक सञ्जालमा केही तस्बिरको निकै चर्चा भयो । काठमाडौंस्थित अमेरिकी राजदूतावासले सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा भन्दै फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेको थियो । ती तस्बिर अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले खिचेको दूतावासले जनाएको थियो । तर, ती तस्बिर झुटो रहेको विवरण सार्वजनिक भएको छ ।

पावोलोब्स्कीले खिचेका तस्विरमाथि अलपाइनम्याग डटकमले विश्लेषण गर्दै ती तस्बिर झुटो भएको जनाएको हो । उक्त म्यागजिनका अनुसार तस्बिरमा रहेको प्रकाशको उपस्थिति अनौठो देखिएकाले फोटोमाथि विश्लेषण गरिएको थियो । सो क्रममा कम्तीमा तीन तस्बिर ‘म्यानिपुलेट’ गरिएको देखिएको जनाइएको छ ।

हिउँ चितुवा रहेको पृष्ठभूमि पछाडिको हिमाल अन्यत्रकै रहेको र त्यहाँ फोटो म्यानिपुलेसन गरी राखिएको म्यागेजिनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिउँ चितुवाविज्ञ भिन्सेन्ट म्युनियरले हिमनदी भएको स्थानमा हिउँ चितुवा नभेटिने बताएका छन् । जबकि, पावोलोब्स्कीले हिमनदीमा उक्त तस्बिर खिचेको दाबी गरेकी थिइन् ।

यस्तै, म्यागेजिनले यस्तो अद्भूत तस्बिर खिच्ने पावोलोब्स्कीको पृष्ठभूमिबारे अनुसन्धान गर्दा उनको नाम कमै सुनिएको, इन्स्टाग्राम अकाउन्टमा ५० हजारभन्दा बढी फलोअर भएको, भर्खरै खिचेका हिउँ चितुवाका तस्बिरबाहेक अरू जंगली जनावरको तस्बिर नभएको जनाएको छ ।

अझ उनको प्रोफाइल जाँच्दा फाइन आर्ट फोटोग्राफीको अवार्ड पाएको र एलियन वर्ल्डको फोटो भेटिन्छ । जसमा महिला पानीमुनि जेलिफिसले घेरिएको र प्रकाशको किरण आएको देखिन्छ । म्यागजिनका अनुसार उक्त तस्बिर डिजिटल ग्राफिक आर्टका लागि रत्न हो ।

उनी फोटोसपका लागि विज्ञ रहेको म्यागजिनको दाबी छ । उनको प्रोफाइल तस्बिरमा बाटेको कपाल दायाँपट्टि झारेको भए पनि अनौठो किसिमले बायाँपट्टि देखिएकाले त्यो फोटोसप नै रहेको जिकिर गरिएको छ ।

यस्तै, हिउँ चितुवाको फोटो खिच्न जाँदा उनले बताएको कथनमा पनि म्यागजिनले विश्वसनीयतामा प्रश्न उठाएको छ । गोरक सेपमा ट्रेकिङ जाँदा मुस्ताङमा हिउँ चितुवाको कहानी सुनेपछि खुम्बु उपत्यका गएको उनको ब्लगमा उल्लेख छ । उक्त ब्लगमा एउटै मात्र लेख छ । ट्रेकिङको केही परम्परागत अफ्ठ्यारापछि उनले ‘क्यामेराको टेलिफोटो लेन्सबाट माउन्ट पुमोरीमा केही छायाजस्तो देखेको, सुरुमा चट्टान सोचेको तर जे खोजेको त्यही भेटेको’ उल्लेख गरेकी छन् ।

म्यागजिनले उक्त कथा फिल्मको कहानीजस्तो सेट लगाएर लोकेसन खिच्न बाँकी रहेको जस्तो भन्दै आलोचना गरेको छ । अधिकांश पर्वतारोही जो पछिल्लो तीन दशक त्यहाँ भ्रमणमा गएका छन्, उनीहरूले हिउँ चितुवाको एक झलक समेत नदेखेको समेत म्यागजिनले जनाएको छ ।

“वाइल्डलाइफ फोटोग्राफरहरू जसका लागि यस्ता तस्बिर अमूल्य हुने गर्छन्, यस्ता फोटो खिच्न कति समय र कडा परिश्रम लाग्ने उनीहरूलाई थाहा छ,” म्यागजिनको भनाइ छ । अलपाइनम्यागबाट ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्