
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा उद्योगी व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ । आज विहान ७ बजेदेखि सुरु भएको मतदानमा उद्योगी तथा व्यवसायीहरूका अधिकांश नेताहरूले मतदान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ स्थित सीतापाइला मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंको रविभवनस्थित नेपाल पर्यटन तथा होटेल व्यवस्थापन कार्यालय मतदान केन्द्रबाट मतदान दिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए । श्री माध्यामिक महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौंको थापाथलीस्थित गुहेश्वरी विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यी व्यवसायीहरूले आर्थिक विकास र देशको समृद्धि चाहनेलाई आफूहरूले भोट दिएको बताएका छन् । अबको एजेन्डा आर्थिक समृद्धिको भएकाले आफूहरूले बुझेर नै मतदान गरेको महासंघका अध्यक्ष गोल्छाले बताए । देशलाई अघि बढाउन सक्ने र समृद्धि ल्याउन सक्नेलाई रोज्नु पर्ने गोल्छाको भनाइ छ । “जसले देशमा समृद्धि ल्याउन सक्छ र जोसँग विश्वास छ । र, जसले यो देशलाई राम्रो दिशा दिन सक्छ त्यसैलाई हामीले भोट दिएका छौँ,” उनले भने ।
अध्यक्ष अग्रवालले यो निर्वाचनका कारण देशले नयाँ गति लिने विश्वास व्यक्त गरे । नयाँ बन्ने सरकारले दोहोरो आर्थिक वृद्धि गर्ने गरी काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।
महासंघका पूर्वअध्यक्ष मुरारकाले यो पालिको भाटले देशमा आर्थिक क्रान्ति ल्याउने आशा व्यक्त गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको आर्थिक विकासको एजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्न आफ्नो भोट गएको बताए ।
अब बन्ने नयाँ सरकार देशको आर्थिक समृद्धिमा लाग्ने अधिकांश उद्योगी व्यवसायीको विश्वास छ ।