काठमाडौं । नेपाल पत्रकार महासंघले केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषयवस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै महासंघले त्यस्तो कार्य साइबर अपराध र सञ्चारमाध्यमको लोगो तथा नाम जोडेर भ्रमित गर्नु निन्दनीय कार्य भएको उल्लेख गरेको छ ।
“...स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरी झुटो समाचार बनाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र सामाजिक सञ्जालमा पोस्ट गर्नु साइबर अपराध हो,” विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर भ्रमित गर्नु निन्दनीय कार्य हो । यस्ता कार्य पत्रकारिताको मूल्य–मान्यता र आचारसंहिताको गम्भीर उल्लंघन हो ।”
महासंघको आचारसंहिता अनुगमन विभागका प्रमुख पवन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनालाई महासंघले नजिकबाट अध्ययन गरिरहेको जनाइएको छ ।
सो कार्यमा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्न निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहबरीको साइबर ब्युरोको ध्यानाकर्षण गराइएको छ । महासंघले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।