site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘समुद्री बूढाहरू’लाई फ्याँक्ने मौका 

लोकतन्त्रका लागि नेपालीले करिब एक शताब्दीदेखि गरेकाे सङ्घर्ष र बलिदान अहिलेका नालायक नेताकाे शासन भोग्न होइन ।

हामी नेपालीलाई यिनीहरूभन्दा असल र योग्य नेतृत्व पाउने अधिकार छ । लोकतान्त्रिक सङ्घर्षको लामाे यात्रामा पक्कै पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलका नेताहरूकाे योगदान छ ।

तर, सङ्घर्षमा अहिले पार्टी कब्जा गरेका कथित शीर्ष नेताभन्दा हजारौं अज्ञात योद्धा र राजनीतिक दल विशेषमा संलग्न नभएका जनताकाे योगदान पनि कम छैन ।

त्यागकाे रटान र देशको दोहन  

लोकतान्त्रिक सङ्घर्षमा आफूलाई होम्नेहरूले राज्यबाट त्यसकाे मोल असुल्ने कल्पना पनि गरेका थिएनन् होला । यसैले त्याग तपस्याकाे रटान लगाएर राज्यकाे दोहन गर्नेहरू ती ज्ञातअज्ञात सहिद र योद्धाहरूका अपराधी हुन् ।

नेताहरूकाे टाँटबाठ हेर्नेबित्तिकै यिनीहरूले लोकतान्त्रिक सङ्घर्षमा गरेको योगदानको साउँब्याज सबै असुलिसकेको स्पष्टै देखिन्छ । 

ओली, देउवा, दाहाल वा अरू अहिलेका कुनै नेता नभएकाे भए पनि  नेपाली जनताले लोकतन्त्रको स्थापना त पक्कै गर्ने थिए ।

तर, राजनीतिमा नलागेका भए देउवा, ओली वा दाहाल के हुन्थे होलान् ? तिनकाे जीवन शैली अहिले जति विलासी हुन्थ्यो होला ? अथवा यसरी हेरौँ - यिनले के काम गरेकाे भए अहिलेकाे विलासी जीवन शैली अपनाउन पुग्थ्यो होला ? राजनीतिमा मैले त्याग तपस्या गरेकाे छु भनेर यिनले लगाएकाे फुटानी कति पत्याइरहने ?   

दुष्ट समुद्री बूढाका नयाँ अवतार

यिनीहरू देश र तिनकै दलका लागि पनि ‘दुष्ट समुद्री बूढो’मा परिणत भइसकेका छन् । ग्रिक पूराकथाकाे समुद्री बूढोलाई दया गरेर खोला तारिदिने यात्रीलाई सताउने गर्छ ।

बुइबाट झर्न मान्दैन । यात्रीहरू पाउनुसम्म दुःख पाएर मर्छन् ।

यस्तैमा साहसी यात्री सिनबाद पनि दुष्ट बूढोको फन्दामा पर्छ । बुद्धिमान् सिनबादले बूढोलाई रक्सी खुवाएर लठ्ठ्याउँछ र बुइबाट झारेर मार्छ ।

कांग्रेस र एमालेका कार्यकर्ताले पनि आआफ्ना दलका समुद्री बूढालाई थान्को लगाउने मौका पाएका छन् । देश र पार्टीकाे, सन्तानकाे भविष्यको चिन्ता छ भने सिनबाद बन र समुद्री बूढाहरूलाई मिल्काइदेऊ ! यिनले पनि पार्टीका कार्यकर्ताकाे काँधमा बसेर देश र जनतालाई दिनु सास्ती दिएका छन् त ।

संविधानपछि सातै वर्ष सत्तामा !      

जनताकाे जीवनस्तरमा अपेक्षाकृत सुधार हुन नसक्नुमा अहिलेकाे राजनीतिक नेतृत्व नै दोषी हो । स‌ंविधान बनिसकेपछिका ७ वर्षमा देशमा भ्रष्टाचार र अनाचार बढाउन त्यसपछि सत्तामा रहेकाहरू नै जिम्मेवार छन् ।

यी ७ वर्षमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली २ पटक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २ पटक र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल १ पटक प्रधानमन्त्री भए । माओवादी केन्द्र त झन् एमाले र कांग्रेससँग पालैपालो मिलेर पनि सधैँ सत्तामै रह्यो ।

कांग्रेस र एमालेका ऐजेरुहरू

अहिले कांग्रेस र एमालेबाहेक राष्ट्रव्यापी उपस्थिति र जनाधार भएकाे अर्को दल छैन । यस्तै यी दुवै दल र अरू साना दलमा भरोसा लायक राजनीतिक व्यक्तित्वहरू पनि छन् ।

तिनीहरू मध्ये धेरै यी शीर्ष नेताहरूजस्तै धुर्त र नालायक पनि छैनन् । यसैले अहिले विकल्प यिनीहरूभित्रै खोज्नुबाहेक अरू उपाय छैन ।

इमानदार र योग्य व्यक्तिहरूलाई अगाडि बढून् भन्ने चाहने हो भने पनि पार्टी कब्जा गरेर बसेका ऐजेरुहरूलाई उखेलेर फाल्नुपर्छ । ऐजेरु बेलैमा नफाले रुखै मर्छ । 

राजनीतिक गोडमेलका लागि उत्तम अवसर त आवधिक निर्वाचनै हो । यसैले अहिले दलहरू विशेषगरी कांग्रेस र एमालेका कार्यकर्ता बढी सचेत र देशप्रति इमानदार होऊन् । देशका हितमा आआफ्ना शीर्ष नेतालाई थकाइ मार्न दिऊन् !

यथार्थमा अहिलेका शीर्ष नेताहरूले पहिले आफ्नै पार्टी पनि समाप्त पार्ने लक्षण देखिइसकेकाे छ । ओलीले त एमाले फुटाइसकेकै छन् देउवाले पनि कांग्रेसकाे जनाधार र साख धेरै गिराएका छन् ।

यिनीहरू नेतृत्वमा हुँदासम्म पार्टीमा सुधार र लोकतन्त्रको अभ्यास सम्भव देखिँदैन । यसैले सके त यिनले प्रतिनिधि सभाकै निर्वाचन हार्नुपर्छ ।

प्रतिनिधि सभामा  जिते भने पनि संसदीय दलकाे नेता हुनबाट यिनलाई रोक्नु राष्ट्र र लोकतन्त्र दुवैका हितमा हुनेछ । नबिर्सौँ यिनकाे पञ्जाबाट मुलुकलाई मुक्त गर्ने बेला यही निर्वाचन हो । अहिले यिनको बिखालु दाँत झरेमात्र नेपालकाे राजनीति विषमुक्त बनाउन सकिनेछ ।

पछिल्लो पुस्ताको हस्तक्षेप आवश्यक

अहिले २०४६ सालपछि जन्मेकै पुस्ता निर्णायक भइसक्यो । प्रशासनमा सायद यिनीहरूकै बाहुल्य छ । निजी क्षेत्रमा पनि यही उमेरकाे पुस्ताले जिम्मेवारी लिइसकेकाे छ ।

विदेश गएर कमाउने वा पौरख देखाउने पनि यही पुस्ता हाे । यसैले राजनीतिक नेतृत्वमा पनि यसपछि सक्रिय भएकाहरूले मात्र नेतृत्व गर्न सक्छन् ।

राजनीतिलाई अब नयाँ अर्थ दिनुपर्छ । लोकतन्त्रका सार्वभौम मूल्य मान्यता  समाजमा संस्कारका रूपमा स्थापित गर्न अबकाे राजनीति केन्द्रित हुनसके पुग्छ ।

भौतिक विकास त बाटो नछेके रोकिँदैन तर त्यसमा पनि सामाजिक न्यायले प्राथमिकता पाउनुपर्छ भन्नेमात्र राजनीतिक नेतृत्वले ठानिदिए पुग्छ । 

देउवा वा ओलीले स्वेच्छाले छाड्दैनन् । छाड्न खोजे पनि तिनका आसेपासेले दिँदैनन् । यसैले संसदीय दलकाे नेता हुन नदेऊ । प्रधानमन्त्री हुन त झन् दिनै हुँदैन ।

सत्तामा रहेनन् भने आसेपासे पोस्ने बाध्यताबाट तिनले पनि मुक्ति पाउनेछन् । देशले पनि नयाँ राजनीतिक संस्कार सुरु गर्ने मौका पाउनेछ । 

लोकतान्त्रिक संस्कार अपनाएर त हेर !

कुनै पनि दलले सत्ताकाे लाेभ नगरेर लोकतान्त्रिक संस्कार अपनाउने हो भने नेपालकाे राजनीतिलाई सही बाटामा हिँडाउन खासै मुस्किल छैन ।

सैद्धान्तिक र व्यावहारिक मतभेद धेरै नभएका मूलतः ‘मध्यमार्गी’ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नै मुख्य दलका रूपमा जनस्तरमा पनि स्थापित छन् ।

यी दुई दलमा असल नेतृत्व स्थापित भयो भने लोकतान्त्रिक अभ्यास सहज हुनेछ । ससंसद्मा गठजोड नगरीकन सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा सरकार बनाउने र बहुमत नपुगे पनि चलाउन दिने हो भने धेरै विकृति देखा नै पर्नेछैन । 

ओली र देउवाकाे सत्ता मोहमा दाहाललाई खेल्न नदिएकाे मात्रै भए अहिले नै नेपालकाे राजनीति यति विकृत हुने थिएन । अब पनि उनलाई खेल्न नदेऊ । एकले अर्को पार्टीलाई राजनीतिक सहयोग गर । त्यति गरे ५ वर्षमा धेरै थरी ऐजेरु आफैँ मासिनेछन् । 

नेपाली जनतालाई कुशासनको अभिशापबाट मुक्त गरौँ । हामीलाई सन्तानकाे उज्यालो भविष्यका लागि पनि आज असल र योग्य शासक चाहिन्छ । हामी त्यसका हकदार  हौँ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro