काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनावी मैदानमा छन् । उनी २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट सोही क्षेत्रमा नेकपा (एमाले)को तर्फबाट निर्वाचित भएका थिए ।
एमाले विभाजन भएपश्चात् गठित नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका श्रेष्ठ उक्त पार्टीबाट काठमाडौंमा प्रतिनिधिसभातर्फ एकमात्र उमेदवार हुन् । उनले पुनः चुनाव लड्ने मौका पनि पाएका छन् । निर्वाचनका विषयमा केन्द्रित रहेर बाह्रखरीका कुञ्जरमणि भट्टराईले उनीसँग केही जिज्ञासा राखेको छन् । प्रस्तुत छ, श्रेष्ठसँगको कुराकानीको सम्पादित अंश :
घरदैलोमै व्यस्त हुनुहुन्छ । मतदाताका समस्या र अपेक्षा कस्ता पाउनुभयो ?
हामीले घरदैलोमा पुग्दा मतदाताहरूले स्थानीय समस्याहरू नै उठाउनु भएको छ । देश विकास भएन भन्ने कुरा उठाउनु भएको छ । खानेपानीका समस्याहरू देखाउनु भएको छ ।
०७४ सालमा मैले चुनाव जितिसकेपछि स्थानीय समस्याहरू समाधन गर्न पहल गरेँ । कतिपय समास्याहरू समाधान भैसकेका छन् कतिपय हुन बाँकी छन् । त्यसलाई मतदाताहरूले विश्वास गरेको पाएको छु । माया पाएको छु ।
प्रतिनिधिसभामा उमेदवार बन्दा सडक, खानेपानीका समस्या पूरा गर्ने प्रतिबद्धता जनाएकाले हो कि स्थानीय तहले गर्न नसकेर यस्ता गुनासा आएका हुन् ?
न्यूनतम तथा आधारभुत कुराहरू धेरै ठाउँमा पूरा भएको छैन । राजधानीमा नै बसोबास गर्ने जनसमुदायले खानेपानी नआउने, बाटो कालोपत्रे नहुने जस्ता समस्या भोग्नुपरेको छ । त्यसैले यी कुरा उठ्नु स्वभाविक हो । आधारभूत आवश्यकता पूरा गर्ने कुरामा हामी पछि परेका छौँ ।
कुन काम कुन तहले गर्ने भन्ने जनताका तहमा स्पष्ट भइसकेको पनि छैन । स्थानीय तहले व्यवस्थापन गर्ने, सरकारले व्यवस्थापनका लागि खेल्नुपर्ने भूमिकामा पछाडि परेको देखिन्छ ।
दोस्रोपटक यही क्षेत्रमा उठ्दै हुनहुन्छ । आफू अघिल्लोपटक निर्वाचित भएकाे पार्टी (एमाले)का उमेदवार प्रतिस्पर्धी छन् । स्वतन्त्र उमेदवार पनि छन् । प्रतिस्पर्धा कस्तो होला ?
घरदैलो, भेला गर्दै मतदाताहरूसँग भेट्दा मप्रति उहाँहरूको विश्वास र माया पाएको छु । सकारात्मक प्रतिक्रिया पाएको छु ।
एमालेमा भएका सदस्यहरू केपी शर्मा ओलीको प्रवृत्तिबाट असन्तुष्ट हुनुहुन्छ । जसरी हामीले विद्रोह गरेर पार्टीमा छौँ, मैले समर्थन नै पाएको छु । एमालेका साथीहरूले मलाई नै समर्थन गर्नु भएको छ ।
एमालेको उमेदवार को हो ? भनेर मलाई सोध्नुहुन्छ । मैले परिचय दिनुपर्ने अवस्था छ । त्यसैले मेरो प्रतिस्पर्धी छैनन् ।
स्वतन्त्रहरूको लहड स्थानीय तहको निर्वाचनपछि आएको हो । तर, त्यसको प्रतिफल जनताले देखिसकेका छन् । स्वतन्त्र भनिएकाहरू कुनै न कुनै पार्टीमा आबद्ध भइसकेका छन् । पछिल्लोपटक जन्मिएका पार्टीबाट त अपेक्षा के भयो र ?
एमालेबाट विभाजित भएपछि पहिलोपटक संसदीय चुनाव लड्दै हुनुहुन्छ । एकीकृत समाजवादीबाट प्रतिनिधिसभातर्फ उमेदवार बनिरहँदा चुनौती छैनन् ?
अहिले हामी गठबन्धनबाट साझा उमेदवार हौँ । लोकतन्त्र, संविधान रक्षा, सुशासन र समृद्धिका लागि गठबन्धन गरेका हौँ । आज पनि लोकतन्त्रमाथि प्रहार गर्ने शक्तिहरू सलबलाइरहेका छन् । निरंकुश ताशाही सोच राख्ने एमाले जस्तो पार्टी र केपी ओलीले जनतालाई झुक्काएर शासन गर्न सकिन्छ कि भनेर अनेक खालका प्रपञ्च रचिरहेका छन् । यो अवस्थामा हामीले स्थिरता, सुशासनका लागि गठबन्धन गरेका छौँ । गठबन्धनबाटै सरकार बनाउने भएर चुनावमा आएका छौँ । यसमा जनताको रेसपोन्स पनि राम्रो छ ।
लोकतन्त्र विरोधी र लोकतन्त्र पक्षधरहरूको लडाइँ हो । जनताले लोकतन्त्रको पक्षलाई नै साथ दिँदै आएका छन् ।गठबन्धनबाट उमेदवार भएको म यस क्षेत्रमा अत्यधिक मतले जित्छु ।