मुलुकमा बहुदलीय प्रणाली छ । संविधानले यही व्यवस्था प्रत्याभूत गरेको छ । दलीय प्रणालीमा निर्दलीय उम्मेदवार पनि चुनवी मैदानमा छन् । जजसले आफूलाई स्वतन्त्र उम्मेदवार दाबा गरेका छन् ती सबै निर्दलीय प्रत्याशी नै हुन् ।
आफूलाई स्वतन्त्र प्रत्याशी दाबा गर्नेहरूको सैद्धान्तिक प्रतिबद्धता र निष्ठाको ठेगान छैन । दलीय पहिचानहीन उम्मेदवारहरु सिद्धान्तले पनि पहिचान हीन अर्थात् संगठनहीन हुने नै भए । यही कारण यस्ता उम्मेदवार बढी व्यावहारिक र आकर्षक नारा दिइरहेका छन् ।
बहुदलीय लोकतन्त्र हो । यसको मजा नै यही हो । अर्थात्, विपरीत विचार वा सिद्धान्तका विभिन्न दलहरु एकैसाथ चुनावी मैदानमा आआफ्नो संगठित पहिचान लिएर जित्ने स्पर्धामा संलग्न हुन स्वतन्त्र छन् । दलहरुलाई जस्तै ‘स्वतन्त्र’ हौँ भन्नेलाई पनि लोकतन्त्रले मैदान दिएकै छ । सबै समेटिने लोकतन्त्र ।
राष्ट्रिय सुरक्षा र जातीय सद्भाव कायम राख्ने शाश्वत मान्यता अनुसरण गर्नु सबै नेपालीको सधैँको दायित्व हो । यस्तो दायित्व पूरा गर्नु संवैधानिक मर्मको पालना हो र चुनावमा पनि यस्तो मर्मको उल्लंघन क्षम्य मानिदैन । बाँकी स्वतन्त्रता लोकतन्त्रमा सबैका लागि सहज छ । चाहे दलका हुन् वा कथित स्वतन्त्र प्रत्याशीहरु ।
निर्दलीय वा दलहीन वा स्वतन्त्र उम्मेदवारहरुको दाबा र घोषणा आफैँमा छरपस्ट छन् । विकास, समृद्धि र भ्रष्टाचार नियन्त्रणजस्ता लोकप्रिय उद्देश्यलाई नारा बनाउनु चाहिँ उनीहरुको समानता हो । नागरिक सबैको यही अपेक्षालाई स्वतन्त्र उम्मेदवारसमेतले बोल्नु आफ्नो प्रस्तुतिको औचित्य पुष्टि गर्ने ध्येयबाट हो ।
अहिलेसम्म भेटिएका, सुनिएका र पढिएका कतिपय स्वतन्त्र प्रत्याशीहरुको दाबा नेपाली मतदाताको चेतनामा धाबा बोल्ने प्रकारका पनि छन् । तिनीहरुले ठूलठूला पूर्वाधार निर्माणको पनि दाबा गरेका छन् । सीमा सुरक्षा गर्ने वा मिचिएका भूमि फिर्ता लिनेजस्ता पनि । साथै परराष्ट्र नीतिमा समेत दख्खल वा प्रभाव राख्ने पनि उनीहरुले बताएका छन् ।
रोजगारी सिर्जना र व्यवस्था गर्ने । उद्योग, उद्यमशीलता वा कृषि उपज बढाउने र बजार विस्तार गर्ने । सहरी सुविधा र व्यवस्थापन मिलाउनेसमेत स्वतन्त्रकै बलबुताले हुनसक्ने गरी आआफ्नो दाबापत्रमा तिनले बोलेका छन् ।
उठाइएका यस्ता व्यावहारिक विषयमा कुनै विमति नहोला तर के यस्ता गरुंगो काम र दायित्व स्वतन्त्र भन्ने एकल उम्मेदवारले जित्दैमा गर्न सक्छन्, सम्भव छ ? पत्याउने ? यहीँनिर कतिपय स्वतन्त्रले नेपाली चेतनामाथि धाबा बोलेको प्रतित हुन्छ ।
यस्ता ठूल्ठूला योजना, कार्यक्रम र निर्माणका लागि चाहिने स्रोत स्वतन्त्र विजेतासँग हुन्छ के ? वैदेशिक, निजी वा आन्तरिक अर्बौं, खर्बौंको स्रोत, सहयोग जुटाउने सामथ्र्य स्वतन्त्रको काबुभित्र छ वा हुन्छ र ? यस्ता कार्यको लागि बाह्य र आन्तरिक समर्थनको शक्ति पनि चाहिन्छ । हुनै नसक्ने वा गर्नै नसक्ने कामको दाबा क्षणिक र छलकपट भन्ने स्वतः स्पष्ट हुन्छ ।
ठूल्ठूला काम दलहरुले वा तिनले बनाउने सरकारले गर्न सम्भव हुन्छ उनीहरुमा इमान र इच्छाशक्ति भए । दल सम्बद्ध सरकारले क्षमताअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय समर्थन पनि लिनसक्छन् र पाउन पनि सक्छन् । स्वतन्त्र विजेताको लागि यस्तो साथ, समर्थन र सहयोग आकाशको फल समान हो ।
पहिले पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन्थे । आश्चर्य होइन । यसपटक चाहिँ स्वतन्त्र दाबा गर्नेहरु छरपस्ट छन् – जतासुकै, सबै निर्वाचन क्षेत्रमा । स्वतन्त्र वा निर्दलीय उम्मेदवार किन यतिधेरै भए ? बहुदलीय लोकतन्त्रको फराकिलो स्वतन्त्रतामा निर्दलीयले पनि छोप्न खोजेको मौका हो कि ?
कारण, गत स्थानीय निर्वाचनमा केही स्वतन्त्र घोषित उम्मेदवार विजयी भए । यस्ता विजयीहरुको रापताप देखेर हौसिएकाहरु पद, स्रोत, प्रतिष्ठा र प्राप्तिको मोह, लालसाको ज्वालामा स्वतन्त्र नाममा झुम्मिएजस्ता लाग्छन् । अन्य ध्येय वा एक, दुई स्वतन्त्र विजेताले सम्पन्न गर्नसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्येय अरु केही हुनसक्छ र ?
अर्को कारण, दलहरुले बाटो छोडेर उत्पन्न गरेको विकृतिजन्य हौसलाको परिणाम स्वतन्त्र उम्मेदवारीको लहर हो पनि भनिन्छ । संवैधानिक र प्रजातान्त्रिक अधिकार भए पनि तीन सयको हाराहारीमा स्वतन्त्र उम्मेदवारी पर्नु चाहिँ दलीय प्रणालीमा विकृतिकै अर्को नमूना हो । प्रतिनिधि सभाका प्रत्यक्ष १६५ र प्रदेशका कुल ३३० मा (समानुपातिकबाहेक) स्थानमा दस औँलाजति स्वतन्त्र विजेता गन्न पाए गनिमत नै होला ।
दलहरु सुध्रिनुपर्ने अपेक्षाको कारण कतिपय सञ्चार माध्यमले निर्दलीय स्वतन्त्र उम्मेदवारको प्रशस्ति प्रस्तुत गरे पनि धैरै कोणबाट यिनीहरु हाँसोका पात्रसमेत भएको सुनिन्छन् । उदाहरणको लागि बसुन्धराको पसलमा हुने चिया गफको चर्चा गरौँ ।
काठमाडौं निर्वाचन क्षेत्र ५ मा पर्ने बसुन्धराबजार सानोतिनो तर स्थानीय घना व्यापारिक ठाउँ हो । प्रायः सधैं साँझ र हाल सबै बेला चुनावी कुरा वा चियोचर्चो चिया गफमा स्वाभाविक हुन्छ । आउजाउ गर्ने विभिन्न साथी समूह चुनावी गफ गर्छन् । आफ्नो समर्थनको दल, उम्मेदवार र मत दिने रोजाइ आपसमा व्यक्त गर्छन् । प्रत्यक्ष यसलाई र समानुपतिक उसलाई तोकेर मत बाँड्ने पनि सुनिन्छन् ।
यस्तामा कतिपयको बुझाइ ठीक छ । अर्थात्, मतदाता चेतना अनुकूल नै ती बुझिन्छन् । कतिपय चाहिँ अर्ध बुझाइमा गफ गर्छन् । यस्तालाई मतदान प्रक्रियातिर जानकारी दिन खोज्दा कोही बडो गम्भीर हुन्छन् र बुझेर पुनः प्रस्तुत हुन्छन् । केही भने कहाँबाट आयो मभन्दा पनि जान्ने भने झैँ उपेक्षा भावमा आफ्नै एकोहोरो रटान बखानी रहन्छन् । यस्तालाई दोहोर्याएर तथ्य भन्ने आँट कसैमा हुँदो रहेनछ । यस्तो घटना मतदाता शिक्षा नपुगेको थाहा हुनु हो ।
यस्तै प्रसंगमा केही भेटिए – बग्रेल्ती स्वतन्त्र उम्मेदवार उपहासका पात्र हुन् भन्नेहरु । कथित स्वतन्त्रलाई निर्दलीय मान्नेहरु त प्रशस्तै भेटिएका हुन् तर ‘विदूषक’ ठान्ने पनि सुनिन थाले । एक दिन यस्तै चर्चामा दाइ उमेरका एकजना भन्दै थिए – ‘को हो स्वतन्त्र, कसलाई मान्ने स्वतन्त्र उम्मेदवार ? ती निर्दलीय हैसियतकै हुन् । कसले उठायो यति धेरै स्वतन्त्र उम्मेदवार ?’
भने– ‘यही ५ नम्बर क्षेत्रमा १४ जना ‘निर्दलीय’ स्वतन्त्र उम्मेदवार छन् रे । अब भन्नोस् कुन चाहिंलाई स्वतन्त्र मान्ने र भोट दिने ? पहिले त स्वतन्त्रलाई भोट दिन्छु भन्ने लागेको हो तर यस्तो चौध चटारो जस्तो जात्रा देखेपछि पुग्यो । अब कुनै दलकै उम्मेदवारलाई मत दिनुपर्ला ।’ यही हो अहिले देशव्यापी स्वतन्त्रको परिदृश्य र परिहास ।
लोकतन्त्रमा विविध विचार र मान्यता स्वतन्त्र छन्, निर्वाध छन् । शालीन स्वतन्त्रताको प्रयोग स्वीकार्य छ । मतदाताको इच्छा भोट दिऊन् वा नदिऊन् तर स्वतन्त्र उम्मेदवारी हाम्रै व्यवस्थाको अवस्था हो । उन्नत प्रणाली, उदात्त व्यवस्था ।
संविधान प्रतिकूल उद्देश्य घोषित गर्ने छद्मवेशीहरु त चुनावी प्रतिस्पर्धामा छन् भने स्वतन्त्र उम्मेदवारी के अनौठो भयो र ? बहुदलीय प्रणालीअन्तर्गत निर्दलीय उम्मेदवार – अर्थात् भन्ने गरिएको स्वतन्त्र उम्मेदवार ।