
काठमाडौं क्षेत्र नम्बर ५ मा गठबन्धनबाट साझा उमेदवारको रुपमा प्रदीप पौडेल चुनावी मैदानमा छन् ।
विद्यार्थी राजनीति अर्थात् नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै राजनीतिमा उदाएका उनी पहिलो पटक संसद् छिर्ने दाउमा छन् ।
प्रदीप ०७४ को निर्वाचन तनहुँ क्षेत्र नम्बर २ बाट प्रदेशतर्फ लडेका थिए । त्यसकारण उनको लागि काठमाडौंको मतदाता नयाँ हुन् ।
नेता पौडेल बाह्रखरीले अनुमोदन गरेका २५ उमेदवारको सूचीमा परेका छन् ।
उनी मतदाता रिझाउन र निर्वाचन जित्नका लागि प्रचार प्रसार र घरदैलोमा व्यस्त छन् । प्रस्तुत छ पौडेलसँग बाह्रखरीका रोमन आचार्य र कुञ्जमरणी भट्टराईले घरदैलोमै गएर गरेको कुराकानीको सम्पादित अंश :–
घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
आम नागरिकको यस्ता चुनावप्रति विश्वास नभएको पनि देखियो । निर्वाचनमा विभिन्न उमेदवार आउँछन्, आश्वासन दिन्छन्, त्यो भोटका लागिमात्रै हो ।
भोट लिइसकेपछि उनीहरु फर्किएर आउँदैनन् । अथवा राजनीतिले डेलिभरी गर्न नसकेको महशुस आम जनताले गरिरहेको पाएँ ।
त्यसले राजनीति र नेतृत्वप्रति अविश्वास बढेको छ ।
घोषणापत्र थुप्रै बनाइए । घोषणापत्र अनुसार काम भएन भन्ने पनि आम मतदाताको गुनासो भेटिन्छ, त्यस्तो पाउनुभयो ?
त्यस कारणले अविश्वास अन्त्य गर्नका लागि हामीले जनताका खास समस्या सम्बोधन गर्ने, राजनीतिबाट डेलिभर हुने स्थिति निर्माण गर्ने हो ।
मुख्य कुरा आम नागरिकले खोजेको विषय सुशासन हो । भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्ने अवस्था निर्माण नगरेसम्म राजनीतिप्रतिको अविश्वास अन्त्य हुँदैन ।
हामीले त्यो कुराको अन्त्य गरेको कारणले केही हदसम्म हाम्रा मतदाताले हाम्रा कुरा सुनिरहेको महसुस गरिरहेको छु ।
हामी घरघरै जाने कोसिस गरिरहेका छौं । आम मतदातासम्म जाने कोशिस गरिरहेका छौं ।
परिवेश नौलो छ । मतदाता फरक छन्, यसले चुनावमा असर वा प्रभाव पार्ला नि ?
कसरी नौलो हुन्छ ? नौलो हुने प्रश्न नै छैन नि । म यहाँ करिब ३०–३२ वर्षदेखि बसिरहेको छु । निरन्तर पार्टीका कामहरुमा सक्रिय छु ।
०४६–०४७ सालमा नै जिल्ला कमिटीको सदस्य थिएँ । ०५१, ०५६, ०६४ सबै निर्वाचनमा म सक्रियतापूर्वक लागिरहेको मान्छे हुँ ।
त्यसैले नौलो अनुभूति गर्नुपर्ने केही कारण छैन । हामीले अन्तरक्रियात्मक कार्यक्रमहरुलाई अघि बढाएका छौैं ।
यहाँको समस्या के हो बुझ्ने कोसिस गरिरहेका छौं । यहाँको सम्पूर्ण समस्याको फेहरिस्त सायद कसैले प्रस्तुत गरेको छैन होला ।
७ किलोमिटर बाटो पिच गर्ने विषय महानगरको चुनावी मुद्दा बनिरहेको छ । नाङ्गो तार फेरेर कालो तार हाल्ने विषय महानगरको चुनावी मुद्दा बनिरहेको छ ।
ढल व्यवस्थापन, खानेपानी महानगरको चुनावी मुद्दा बनेको छ ।
जनताको सरोकारको विषयलाई कसरी व्यवस्ता गरेको भन्ने पुष्टि हुन्छ । अगाडि जित्नेहरुले जनताको विश्वास गुमाउनुभएको देखिन्छ ।
त्यसको असर अरुलाई पनि परिरहेको छ ।
समग्र राजनीतिलाई परेको छ । आम नागरिकका कुराहरुलाई उठाउन नसकेको र सत्ता लिप्साका कारण त्यस्तो भएको हुनसक्छ ।
राजनीतिप्रति नै जनताको अविश्वास रहेको पाएँ भन्नुभयो । त्यसलाई चिर्न सक्नुहुन्छ ?
चिर्ने त व्यवहारले हो । मुद्दाले हो । चुनाव जितेर मालिक भएर हो । व्यवहार परिवर्तन गर्न सक्नुपर्यो ।
व्यवस्था फेरियो अवस्था फेरिएन । अवस्था फेर्ने भनेको व्यवहारले हो । गणतन्त्रमा धेरै राजा हुन खोजेर नै बिग्रिएको हो ।
यो व्यवहारिक कुरा हो । व्यवहार बदल्न आवश्यक छ ।
स्वतन्त्र उमेदवारहरुको चर्चा पनि सुनिन्छ । अरु पार्टीका प्रतिष्पर्धी पनि छन् । त्यसलाई कसरी लिनुभएको छ ?
निर्वाचनमा चुनाव लड्ने, प्रतिष्पर्धा गर्ने कुरा स्वाभाविक हो । प्रतिष्पर्धीहरुमध्ये कसलाई विश्वास गर्ने भन्ने कुरा चाहिँ अहिलेको परिस्थितिसँग निर्भर गर्छ,मुद्दाहरुसँग निर्भर गर्छ ।
भोलि जनताका पक्षमा कसले काम गर्छ भन्ने विषयसँग पनि निर्भर गर्छ । वैकल्पिक राजनीतिको वकालत हामीले पनि गरिरहेका छौं ।
पार्टी पनि सुधार्ने, देश पनि सुधार्ने । समग्र राजनीति र राजधानीलाई सफा गर्ने मुद्दाका साथ अघि बढेका छौ । हामी प्रष्ट ढंगबाट आएका छौं । मुद्धागत आधारमा प्रतिष्पर्धा गर्ने चुनौती खासै चुनौती देखेको छैन ।