-विष्णु भुसाल
नेपाल परिवर्तनको पर्खाइमा छ । हिमाल, पहाड र तराई मिलेर बनेको देश नेपाल सुन्दर छ । विभिन्न सम्भावन सम्भावना भएको नेपाल उत्कृष्ट राजनीतिक नेतृत्वको प्रतीक्षामा छ ।
हामी निर्वाचनको मुखमा छौँ । विभिन्न राजनीतिक दलले परिवर्तनका सुन्दर योजना प्रस्तुत गरेका छन् । सबैको आशय देशको तीव्र गतिमा विकास गर्ने, जनताको आर्थिक परिवर्तन ल्याउने, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरको खोजी गर्ने तथा समुन्नत समाज निर्माण गर्ने आदि आदि छन् । धनी र गरीबबीचको खाडल पुर्ने, गरिबी निवारणको प्रयत्न गर्ने र समुन्नत समाज निर्माण गर्ने आश्वासन सबै दल र तिनका उम्मेदवारले आफ्ना राजनीतिक नारामा बुलन्द गरिरहेका छन् ।
नेपालका हिमाल तथा पहाडका मानिसहरू दिनहुँ तराई तथा सहरतर्फ बसाइँ सरिरहेकाले गाउँहरू रित्तिएका छन् ।
शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा युवा जनशक्तिको विदेश जाने क्रम बढ्दो छ । एसायाली मुलुकबाहेक पश्चिमा मुलुकमा समेत पुगेको हाम्रो जनशक्ति अपवादबाहेक फर्किँदैन । उनीहरु त्यहाँको भौतिक विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर तथा राज्यले प्रवाह गर्ने सामाजिक सुरक्षाबाट आकर्षित भएको देखिन्छ ।
एसियाली मुलुकमा पुगेर आय आर्जन गरेका अधिकांश कामदारले भित्र्याएको रकमसमेत परिवार पालन पोषण, शिक्षा, स्वास्थ्य आदिमा सकिएको देखिन्छ । केही रकम बचेमा त्यो अनुत्पादक क्षेत्रमा विशेषगरी घर, जग्गा आदिमा खर्च हुन्छ । तिनलाई राज्यले यहाँ भएका विभिन्न सम्भावित क्षेत्र पहिचान गरी लगानीको वातावरण बनाइदिनुपर्ने भए पनि हाम्रो राजनीतिक नेतृत्वले त्यो खुबी देखाउन सकेन । फलस्वरूप अधिकांशको आर्जन व्यर्थमा सकिएको छ ।
पश्चिमा मुलुक पुगेकाहरू त यहाँको राजनीतिक, सामाजिक तथा आर्थिक विसङ्गतिले सुरक्षित स्थानमै बस्न चाहन्छन् । सन्तानलाई समेत त्यहीँको वातावरणमा घुलमिल गराउन चाहन्छन् ।
पाका राजनीतिक नेताहरू सकेसम्म तल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । राजनीतिक दलका युवा पुस्तासमेत तिनै पुराना नेताको पिछलग्गु भइरहेका छन् । यसैले सर्वप्रथम अब आउने नेतृत्वले यसलाई आत्मसात गरी देशको हितमा काम गर्ने र सबैले विश्वास गर्न लायक हुनुपर्छ । मुखमा राम राम तर बगलीमा छुरा लिएर हिँड्ने मानिस कदापी अबको नेता हुनु हुँदैन ।
आउँदै गरेको निर्वाचनले कुशल, निस्वार्थी तथा सबैलाई समेट्न सक्ने व्यक्ति खोजेर निर्वाचित गर्नुपर्छ । कमसल व्यक्तिले विजय प्राप्त गरेमा हामी थप ५ वर्ष पछाडि धकेलिने छौँ । दलभन्दा बाहिर निस्केर विभिन्न युवाले देश परिवर्तनका आवाज घन्काएका छन् । विशेषगरी युवामा परिवर्तनको हुटहुटी देखिन्छ । युवा पुस्ता प्रविधिको उच्चतम प्रयोग गरेर देशको तीव्र विकास गर्न चाहन्छ । अब पनि हाम्रो गति उही पुरानै रहेमा देश परिवर्तन हुनेछैन बरु अझ दलदलमा भासिनेछ । अनि अझ धेरै युवामा वितृष्णा जाग्नेछ र त्यसको परिणामस्वरूप अवस्था गम्भीर बन्ने छ ।
नेपालबाट विदेश गएका मानिसले पनि आफ्नो देशप्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने देखिन्छ । राज्यले अर्बौँ खर्च गरेर आर्जन गराएको शिक्षा, स्वास्थ्य तथा सीपको बदलामा हामीले कुनै न कुनै तवरले राज्यलाई सहयोग गर्नुपर्छ । देश बिगार्ने हाम्रो राजनीतिक नेतृत्व नै हो भनी सराप्नुभन्दा पनि विदेशमा सिकेको सीप र क्षमताको प्रयोग गरी देशमा परिवर्तन ल्याउनुपर्छ । 'एक थुकी सुकी, धेरै थुकी नदी' भन्ने भनाइ मनन गरेर समुन्नत समाज निर्माणका निम्ति हामी सबै लाग्नुपर्छ ।
आउँदै गरेको निर्वाचनले कुशल, देखेजानेका, क्षमतावान् तथा प्रगतिकामी नेता निर्वाचित गर्न सके साँच्चिकै परिवर्तनको सुरु हुनेछ ।
तसर्थ, देश परिवर्तनका निम्ति सबै एकजुट होऊँ । विदेशिएकाले पनि आआफ्नो ठाउँबाट असल प्रतिनिधि छान्न सक्दो भूमिका खेलौँ । जलस्रोत, पर्यटन, कृषिको आधुनिकीकरण तथा औद्योगीकरणका माध्यमबाट देशको कायापलट गरौँ । अब निर्वाचित हुने नेतृत्वले सबैलाई समेट्न सकोस् र देशको द्रूततर विकास, आर्थिक समृद्धि, गरिबी निवारण तथा शिक्षा, स्वास्थ्यका साथै अन्य सबै अभाव हटाउन सकोस् । यही महान् अभियानमा हातेमालो गरौँ ।