site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
चुनाव अवधिभर सुर्खेतमा मदिरा बिक्री र सेवन गर्न निषेध 
प्रतीकात्मक तस्बिर।

सुर्खेत । सुर्खेतमा कात्तिक २५ गते राति १२ बजेदेखि मंसिर ४ को मतदान सम्पन्न नहुँदासम्म जिल्लाभर मदिरा बिक्री वितरण र प्रयोग गर्न बन्देज गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मी, उमेदवार, राजनैतिक दलहरुको संयुक्त बैठकले चुनाव अवधिसम्म मदिरा निषेध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जिल्लाका क्रियाशील राजनीतिक दलका प्रमुख, उमेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्न मदिरा पूर्णरुपमा बन्देज गर्ने निर्णय गरेको हो ।
 
बैठकमा निर्वाचन आचारसंहिता, २०७९ को जिल्लामा भएको कार्यान्वयनको अवस्था र पालना गर्नुपर्ने थप विषयमा छलफल गरेको थियो । बैठकले कात्तिक २५ गतेदेखि नै लागु हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्णरुपमा रोक लगाउने पहिलो निर्णय गरेको छ । मदिरा बन्देज निर्णयको कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आमसञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गर्ने उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ । मंसिर ४ गते मतदान कार्य सुरु हुनु २४ घण्टा अगाडिदेखि ग्यास सिलिन्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ । 

मतदान हुने दिन नजिकै आइरहेको हुँदा प्रचारप्रसारलाई मित्रवत् र मर्यादित बनाएर सच्याउनु पर्ने थप विषयहरुमा सबै राजनीतिक दलहरु गम्भीर भएर आचारसंहिताविपरीतका कुनै निर्माण कार्य तथा कार्यक्रम नगर्ने प्रतिबद्धता गरिएको छ । आसन्न निर्वाचनको सन्दर्भमा दल तथा उमेदवारले प्रचारप्रसारको क्रम तीव्र रुपमा अगाडि बढेकोले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि एक्यबद्धता जनाएका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्