site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

म्याग्दी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा (माओवादी)का गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभातर्फ विजयी भएको एमाले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।

कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुईपटक पराजित गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा (एमाले)का गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतान्तरले पराजित भएका गर्बुजा २०७४ सालमा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार ३०० मतान्तरले पराजित भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, माओवादी केन्द्रले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उमेदवारले २३ हजार ९०, कांग्रेसका वडाध्यक्षका उमेदवारले १९ हजार ८७० र माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले आठ हजार ५९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेभित्र सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उमेदवार सिफारिस गरिएको थियो । गएको स्थानीय तह चुनावको नतिजा, बलियो संगठन, प्रभावशाली उमेदवारका कारण चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल बताउँछन् । प्रदेशसभाको क्षेत्र ‘क’ बाट कटुवाल उमेदवार छन् ।

जिल्ला सदरमुकाम बेनीबजार अवस्थित तत्कालीन अर्थुंगे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक संघ–संस्थाको पनि नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । २०७२ अघि एक कार्यकाल कांग्रेसको जिल्ला उपसभापति बनेका गर्बुजा २०६४ को चुनावमा कांग्रेसको समानुपातिक उमेदवार थिए । दुईवटा चुनावमा पराजित भए पनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपालि गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।

गर्बुजाले भने, “दुईपटक चुनाव हारे पनि म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपालि म जितका लागि प्रतिस्पर्धामा आएको हो ।”

गर्बुजा बेलायती सेनामा हुँदा बास्केटबल, भलिबल र सुटिङ खेलाडी थिए ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक कांग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी) तिक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँदै गठबन्धनको मतले चुनाव जित्ने दाबी गर्छन् ।

६ स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र ११९ मतदान केन्द्र छन् । उमेदवारहरू ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उमेदवारहरूको प्रतिबद्धता छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्