site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

सुर्खेत । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँकेन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले) र सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गाउँकेन्द्रित चुनावी अभियानमा जुटेका हुन् ।

वि.सं. २०७४ मा सम्पन्न निर्वाचनमा तीन प्रदेशसभामा एमाले र एक प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेको थियो । प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा विजयी भएको एमालेलाई यसपटक पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ ।

एमालेलाई यो चुनौती प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ । क्षेत्र नम्बर–१ मा पर्ने ६ वटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमाले विजयी भएको छ । अरू दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ । स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब नौ हजार ३९८ मतले पछि देखिन्छ ।

दैलेख–१ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट रवीन्द्रराज शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उमेदवारी छ । पाँच दलका साझा उमेदवार रहेकाले आफूले जित्ने समाजवादीका उमेदवार थापाले जिकिर गर्दै आएका छन् । उसो त एमालेका उम्मेदवार शर्माले एमालेको जनाधार बलियो रहेकाले योपटक पनि आफू निर्वाचित हुने दाबी गरेका छन् ।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उमेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ । स्थानीय तहको मतपरिणामलाई हेर्दा यहाँ एमालेले पाँच हजार ४३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले पाँच हजार ३८२ मत प्राप्त गरेका छन् । नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झन्डै चार हजार मतले अघि छन् ।

नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा तीन हजार २०० मत र कांग्रेसको दुई हजार ५४४ मत रहेको छ भने एमालेको एक हजार ९२० मत रहेको छ । भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत पाँच हजार ७६ देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा एक हजार ९३३ मत प्राप्त गरेको छ ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले चार हजार ५०८ मत पाएका छन् भने एमालेको चार हजार ६८१ मत पाएको छ । डुङ्गेश्वर गाउँपालिकामा एमालेले तीन हजार ४०६ मत पाएको छ भने गठबन्धन दलहरूको तीन हजार ३३६ मत पाएका छन् । ती स्थानीय तह क्षेत्र नम्बर–१ को ‘क’ प्रदेशमा पर्छन् । यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उमेदवारी दिएका छन् । यसमा गठबन्धनका चालिसे बलियो देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले दुई हजार ९७९, एकीकृत समाजवादीले दुई हजार २६८ र एमालेले दुई हजार ५१९ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर–१ को ‘ख’ प्रदेशमा ती स्थानीय तह पर्छन् । यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उमेदवारी दिएका छन् ।

दैलेख क्षेत्र नम्बर–२ मा पाँच स्थानीय तह पर्छन् । चार स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हासिल गरेको छ । वि.सं. २०६४ बाट संघीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्नेे देखिन्छ ।

स्थानीय निर्वाचनमा दलहरूले पाएका मत केदाउँदा एमाले गठबन्धनका दलभन्दा तीन हजार ८०५ मतले पछि देखिन्छ । गठबन्धन दलबाट कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठबन्धनका दलले चार हजार ४०५ मत प्राप्त गरेका छन् भने एमालेले तीन हजार ९९२ मत प्राप्त गरेको छ । दुल्लु नगरपालिकामा गठबन्धनका दलले सात हजार ९०१ मत प्राप्त गरेका छन् एमालेले सात हजार १६० मत पाएको छ ।

भैरवी गाउँपालिकामा गठबन्धनका दलको अलग–अलग मतको नतिजालाई हेर्दा कांग्रेस र माओवादीभन्दा एमाले एक हजार ४१० मतले पछि देखिन्छ । कांग्रेसले स्थानीय तहका निर्वाचनमा तीन हजार ९७६ मत प्राप्त गरेको छ । माओवादीले एक हजार ३९३ मत प्राप्त गरेको छ । एमालेले तीन हजार ९६० मत प्राप्त गरेको देखिन्छ ।

क्षेत्र नम्बर–२ ‘क’ प्रदेशसभाका लागि गठबन्धन दलबाट घनश्याम भण्डारी र एमालेका तिलक रिजालले उमेदवारी दिएका छन् ।

यस्तै, ठाँटिकाध गाउँपालिकामा कांग्रेसका उमेदवारले दुई हजार ५७१, माओवादी केन्द्रले एक हजार ६१७ मत प्राप्त गरेको छ भने एमालेले दुई हजार ६९५ मत प्राप्त गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको छ । क्षेत्र नम्बर–२ को ‘ख’ प्रदेशमा यी स्थानीय तह पर्छन् । यो प्रदेशसभाका लागि एमालेका विनोदकुमार शाह र गठबन्धन दलबाट योगेन्द्र शाहीले उमेदवारी दिएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro